काठमाडौं । चीनले अमेरिकाका तीन जना पत्रकारहरुलाई देश निकाला गरेको छ । न्यूयोर्क टाइम्स, द वाल स्ट्रीट जर्नल र वाशिंगटन पोष्टका पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको हो ।
चिनियाँ विदेश मन्त्रालयले ती पत्रकारहरुलाई १० दिनभित्र चीन छाड्न भनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि पनि चीनले वाल स्ट्रिट जर्नलका पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको थियो ।
अमेरिकासँग सम्बन्ध बिग्रिएका बेला चीनले ती पत्रकारहरुको प्रेस अनुमति रद्द गर्दै देश छाड्न भनेको छ । चीनका अर्धस्वायत्त क्षेत्र हङकङ र मकाउमा समेत ती अमेरिकी पत्रिकाका पत्रकारले काम गर्न नपाउनेगरी मन्त्रालयले प्रतिबन्ध लगाएको छ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनको निर्णयलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै बेइजिङलाई त्यसबारे पुनः विचार गर्न आग्रह गरेका छन् ।
यसै महिनाको आरम्भमा ट्रम्प प्रशासनले अमेरिकामा काम गर्ने चिनियाँ पत्रकारको संख्यामा सीमा तोकिदिएको थियो ।