काठमाडौं । मोरङमा तीन जना ट्रक चालक र सहचालक एक महिलामाथि सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ११ तुल्ही बस्ने वर्ष २० को विनोद चौहान, सोही ठाउँका ४० वर्षीय टेकबहादुर तामाङ र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरुले २५ वर्षीया महिलालाई शनिबार राति मोरङको बरगाछिस्थित चौरमा बलात्कार गरेको आरोप छ ।
उनीहरुविरुद्ध जवरजस्ती करणी अन्तर्गत जिल्ला अदालतबाट म्याद लिई प्रहरीले अनुसन्धान अगाडी बढाएको छ।
शनिबार बेलुका विराटनगर पुगेपछि उनीहरुले चौरमा ट्रक राखेर बाहिर निस्किएका थिए। बाहिरै होटलमा खाना खाएर सिटी सफारिमा फर्किने क्रममा उनीहरुको ती महिलासँग भेट भएको थियो।
सिटी सफारिमै महिलालाई प्रलोभनमा पारेर उनीहरुले ट्रक राखेको चौरमा ती महिलालाई लगेका थिए। चौरमा सामुहिक बलात्कार भएपछि महिलाले चिच्याएकी थिइन्।
उनी चिच्याएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा चारै जना घटनास्थलमै थिए। बलात्कारमा संलग्न तीन जना र ती महिलालाई प्रहरी कार्यालय लगिएको थियो।
ती महिलाले तीन जनाविरुद्ध बलात्कारको आरोपमा किटानी जाहेरी दिएकी छन्।