जेरुसेलम । इजराइली सेनाले शुक्रबार गाजाका २३ लाख जनतामध्ये करिब आधालाई उक्त सहर खाली गर्न आदेश दिएको संयुक्त राष्ट्र सङ्घका एक अधिकारीले बताएका छन् ।
इजराइलमाथि हमासको भयानक आक्रमणपछि हमास लडाकु समूहलाई निमिट्यान्न पार्ने लक्ष्यका साथ जमिन आक्रमण गर्नुअघि सेनाले उक्त आदेश दिएको हो ।
उक्त आदेशले यसअघि देखि नै इजराइली हवाई हमला र नाकाबन्दीको सामना गरिरहेका सर्वसाधारण र सहायताकर्मी आतङ्कित भएका छन् । इजराइली सेनाले गाजा सहरका लाखौँ नागरिकलाई गहिरो दक्षिणी गाजापट्टी (साँघुरो तटीय क्षेत्र) तर्फ भाग्न चेतावनी दिँदै बिहान गाजा सहर खाली गर्ने आदेश दिएको थियो ।
गाजा सिटीका सुरुङमुनि हमास लडाकुहरू लुकेर बसेको इजराइलको आदेशमा आरोप लगाइएको थियो । ‘यो निष्कासन तपाईं आफ्नै सुरक्षाका लागि हो’ गाजा सहरका नागरिकलाई पठाइएको चेतावनीमा इजराइली सेनाले भनेको छ ।
बिहीबार संयुक्त राष्ट्र सङ्घले इजराइली सेनाबाट न्युयोर्कमा उत्तरी गाजाका सबै ११ लाख सर्वसाधारणलाई दक्षिणतिर भाग्न २४ घन्टाको समय दिएको एउटा छुट्टै निर्देशन प्राप्त गरेको बताएको छ ।
सन् २००७ देखि गाजामा शासन गरेको हमासले उक्त आदेशलाई खारेज गरेको छ । उसले प्यालेस्टिनीलाई आफ्नो घरमै रहन र कब्जा गरेर छेडिएको मनोवैज्ञानिक युद्धको सामना गर्न दृढ रहन आह्वान गरेको छ ।
‘यो अराजकता हो, के गर्नुपर्ने, कसैले बुझेको छैन’ गाजा सहरमा संयुक्त राष्ट्र सङ्घ प्यालेस्टिनी शरणार्थी एजेन्सीकी अधिकारी इनास हमदानले भन्नुभयो ।
उहाँले गाजा सिटी र उत्तरी गाजामा रहेका राष्ट्र सङ्घका सबै कर्मचारीलाई दक्षिणी रफाहमा जान भनिएको बताउनुभयो । (रासस/एपी)