काठमाडौँ । नेकपा (मसाल) ले कालापानीको गुन्जी क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको कडा विरोध गरेको छ ।
प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८० असोज २६ गते शुक्रबार जारी प्रेवक्तव्यमार्फत पार्टीले विरोध व्यक्त गरेको हो ।
पार्टीले भारतीय साम्राज्यवादले आफ्नो साम्राज्यवादी नीतिअनुसार नै गुन्जीमा भ्रमण गरेको ठहर गरेको छ ।
भारतीय साम्राज्यवादद्वारा नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामाथि गरिएको हस्तक्षेपप्रति सतर्क रहनुपर्ने आवश्यकता औल्याइएको सो वक्तव्यको पूर्ण पाठ यस्तो छ :
“अन्तर्राष्ट्रिय कूटनीतिक मर्यादा र शिष्टाचारको पालना नगरी नेपालको भूभागमा भारतीय साम्राज्यवादद्वारा गरिएका सम्पूर्ण हस्तक्षेप तथा अतिक्रमणकारी क्रियाकलापको हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ । यस सन्दर्भमा नेपालको कालापानी क्षेत्रको गुन्जी गाउँमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई कुनै जानकारी नगराई गरेको भ्रमणले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा गम्भीर आँच पुर्याएको छ । हाम्रो पार्टीले मोदीको त्यो भ्रमणप्रति कडा विरोध र भत्र्सना गर्दछ ।
भारतले नेपालका विभिन्न स्थानका भूमिमा अतिक्रमण गर्दै आएको छ । कालापानी क्षेत्रमा तैनाथ गरिएका भारतीय सेनालाई नेपालको भूमिबाट हटाउनुपर्ने माग गर्दै नेपालका जनताले वर्षौंदेखि सङ्घर्ष गर्दै आएका छन् तर भारतले नेपालको उक्त भूमिबाट आफ्नो सेना हटाउने कार्य गरेको छैन । भारतले आफ्नो साम्राज्यवादी नीतिअनुसार नै नेपालप्रति हेपाहा र अतिक्रमणकारी व्यवहार गर्दै आएको छ । अहिले नेपालको कालापानी क्षेत्रको गुन्जी क्षेत्रमा भएको मोदीको भ्रमण पनि भारतको त्यही साम्राज्यवादी नीतिअनुसार रहेको कुरा स्पष्ट छ ।
हामीले भारतीय साम्राज्यवादका त्यस प्रकारका सबै क्रियाकलापको विरोध गर्दै देशको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्नको लागि सर्तक रहनुपर्नेमा हामीले सम्पूर्ण नेपाली जनतासित अनुरोध गर्दछौँ ।”