सन्जीवकुमार श्रेष्ठ ##
गाली बेइज्जती भनेको के हो ? के कस्तो काम गर्दा गाली र के गर्दा बेइज्जती हुने हो ? सोबारे सामान्य जनस्तरबाट पनि जानकारी पाउनु हरेक नागरिकको नैसर्गिक अधिकारभित्र पर्छ । कानुनले थाहा थिएन, थाहा पाइनँ भनी कुनै कसुर वा अपराधबाट उमुक्ति दिँदैन ।
जङ्गबहादुर राणाले १६५ वर्षअघि लागु गरेको मुलुकी ऐन–१९१० हुँदै २०२० सालको मुलुकी ऐन विस्थापित गरी हालै मुलुकी देवानी संहिता र कार्यविधि तथा मुलुकी अपराध संहिता, फौजदारी कार्यविधि संहिता र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन–२०७४ गत २०७५ भदौ १ गतेदेखि लागु भएको छ ।
नेपालमा गालीबेइज्जतीसम्बन्धी कानुनी व्यवस्थाको बारेमा खोतलेर हेर्दा गालीबेइज्जती ऐन–२०१६ स्पष्ट रूपमा देखिन्छ । सर्वसाधारणको इज्जत र मानमर्यादा राख्न पाउने अधिकारको रक्षाका लागि गाली र बेइज्जती कसुरको निमित्त सजायको व्यवस्था गर्ने आवश्यक देखिएकाले श्री ५ को महाराजधिराजबाट मन्त्रिमण्डलको सल्लाहअनुसार यो ऐन बनाई जारी गरेको देखिन्छ । उक्त ऐन १ दफा देखि १३ सम्म दफा रहेको र २०३७ सालमा पहिलोपटक संशोधन भएको देखिन्छ । उक्त ऐनमा बेइज्जती गरेमा सजायको मात्र उल्लेख गरेको छ ।
सामान्यतया गालीबेइज्जती दुई तरिकाले भएको देखिन्छ : मौखिक र लिखित रूपमा । कसैले कसैलाई कानुनले बन्देज लगाएका विषयवस्तु, व्यक्तिगत गालीगलौज वा चरित्रहत्या गर्न, शब्दावली बोल्न, प्रयोग गर्न कानुनत: पाइदैन । कसैप्रति रिस र क्रोधले उसकै अगाडि व्यक्त गरिने अपमानजनक बचन वा दुर्वाच्य गाली हो भने त्यस्तै कसैको मानप्रतिष्ठा, चरित्र, इज्जत र हैसियतमा आघात पुर्याउने मनसायले सार्वजनिक रूपमा गरिने अनादर वा अपमान बेइज्जती हो ।
अहिलेको समयमा सामाजिक सञ्जाल, मोबाइल फोन वा अनलाइन सञ्चार पोर्टलमार्फत हुने बेइज्जतीलाई समेत समेट्न खोजेको छ । उक्त कसुरलाई साइबर अपराधको सूचीमा राखी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन–२०६३ को दफा ४७ प्रयोग गरेर मुद्दा चलाउने गरेको देखिन्छ ।
नेपालको संविधान धारा १९ ले प्रेस स्वतन्त्रता हक छ, जसले प्रेस स्वतन्त्रतालाई थप बलियो बनाएको छ । उक्त संविधानको धारा १९ को व्यवस्थाअनुसार कुनै पनि प्रकाशन प्रसारण संस्थालाई समाचार, सम्पादकीय, लेख, रचना छाप्न प्रतिबन्ध लगाउने छैन भनी उल्लेख गरिएको छ भने प्रकाशित समाचार वा श्रव्य दृष्यको विषयलाई लिएर पत्रकारले यस ऐनअन्तर्गत मुद्दा खेप्नुपरेको पनि देखिन्छ । उक्त ऐन र संविधानको धारा एकआपसमा बाझिएको जस्तो, नमिले जस्तो देखिन्छ ।
हाल लागु भएको मुलुकी अपराधसंहिताअन्तर्गतको गालीबेइज्जतीमा गालीबेइज्जतीसम्बन्धी कसुरमा गाली र बेइज्जतीसम्बन्धी छुट्टा छुट्टै उल्लेख गरिएको छ भने पहिलाको गाली र बेइज्जती ऐन–२०१६ मा बेइज्जतीको मात्र उल्लेख भएको देखिन्छ । गालीबेइज्जतीसम्बन्धी कसुरसम्बन्धी कानुनबारेमा सामान्य जानकारीका लागि उक्त कसुरको बारेमा तल उल्लेख गरिएको छ, जुन विषयको जानकारी राख्नु हरेक व्यक्तिको दायित्वभित्र पर्दछ ।
उक्त ऐनको खण्ड १, मुलुकी अपराध संहिता–२०७४ को भाग˗३, गालीबेइज्जतीसम्बन्धी कसुरको परिच्छेद˗२ मा गालीबेइज्जतीसम्बन्धी कसुर दफाबार उल्लेख गरिएको छ । उक्त ऐनको दफा ३०५ देखि दफा ३०८ सम्म दफाबार उल्लेख छ, जसमा गाली गर्न नहुने, बेइज्जती गर्न नहुने, बेइज्जती गरेमा हुने कैदसजाय र जरिवानाहरू, त्यस्तै उजुर गर्ने हदम्याद व्यवस्था गरेको छ, जसमध्ये दफा ३०५ मा गाली गर्न नहुने, यस दफाको उल्लङ्घन भएमा कानुनले हुने कसुर, सजाय, कैद, जरिवाना, त्यस्तै दफा ३०६ मा बेइज्जती गर्न नहुने, बेइज्जती हुने र नहुने कामहरू दफा ३०७ मा, बेइज्जती गरेमा हुने सजाय, त्यस्तै दफा ३०८ मा हदम्यादसम्बन्धी व्यवस्था गरिएको छ ।
दफा ३०५. गाली गर्न नहुने
(१) कसैले कसैलाई गाली गर्न हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिने छ ।
(३) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दस हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुँदैन ।
३०६. बेइज्जती गर्न नहुने
(१) कसैले कसैको बेइज्जती गर्नुहुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहायबमोजिमको काम गरेमा निजले बेइज्जती गरेको मानिने छ :
(क) अरूको इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानी जानी वा विश्वास गर्ने मनासिब कारण भई लेखेर, आचरण वा आकार वा चिह्न वा प्रचार प्रसारद्वारा वा अरू कुनै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपले त्यस्तो व्यक्तिलाई अरूको दृष्टिमा निजको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी चरित्रहत्या गरेमा वा निजको शरीर सामान्यत: घृणित अवस्थामा छ भन्ने अरूलाई विश्वास पर्ने गरी दोष लगाएमा वा त्यस्तो दोष लगाएको कुरा प्रचार, प्रसार वा प्रकाशन गरेमा वा कसैको बेइज्जती हुने साधनको रूपमा प्रयोग गरिएको कुनै चिज जानी जानी विक्री वा वितरण गरेमा,
(ख) मृतकलाई कुनै आक्षेप लगाइएकोमा त्यस्तो आक्षेप लगाउँदाका बखत निज जीवित रहेको भए निजको इज्जतमा धक्का पुग्ने रहेछ भन्ने जानी जानी निजको परिवार वा नजिकको अन्य नातेदारहरूको भावनामा चोट पुर्याउने नियतले कुनै आक्षेप लगाएकोमा,
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कामलाई बेइज्जती मानिने छैन :
(क) सर्वसाधारण हितका लागि प्रमाण र आधारसहित कुनै व्यक्तिसँग सम्बन्धित साँचो कुरा प्रकाशन वा प्रसारण गर्नु,
(ख) कुनै राष्ट्रसेवकले आफ्नो ओहदाको कर्तव्य पालना गर्दा निजको आचरणलाई लिएर वा त्यस्तो आचरणबाट बुझिनेसम्मको मात्र निजको चरित्रलाई लिएर असल नियतले मर्यादित ढङ्गबाट कुनै कुरा प्रकाश गर्नु,
(ग) कुनै व्यक्तिको सार्वजिक पद वा ओहदाको महŒवसँग सम्बन्ध राख्ने आचरण र त्यस्तो आचरणबाट बुझिनेसम्मको निजको चरित्रलाई लिएर असल नियतले कुनै विचार प्रकट गर्नु,
(घ) कुनै कुरा गर्न व्यक्तिले सर्वसाधारणको रायको लागिकै कुरा पेस गरेकोमा त्यस्तो कुराको गुण वा दोषलाई लिएर वा सो हदसम्म मात्र त्यस्तो कुरा गर्ने व्यक्तिको चरित्रलाई लिएर असल नियतले मर्यादित ढङ्गबाट कुनै विचार प्रकट गर्नु,
(ङ) कुनै व्यक्तिको अर्को कुनै व्यक्तिउपर कानुनद्वारा वा निजसँग भएको करारद्वारा कुनै अधिकार भएकोमा निजले सो अधिकारसम्बन्धी कामकुरामा त्यस्तो व्यक्तिको आचरणमा असल नियतले कुनै खोट लगाउनु,
(च) कानुनबमोजिम कुनै कसुरको अनुसन्धान गर्नु वा त्यस्तो आधारमा निजलाई कानुनबमोजिम अभियोग लगाउनु,
(छ) कसैलाई निजको हितको लागि, निजको स्वार्थ भएको व्यक्तिको हितका लागि वा सर्वसाधारणको हितका लागि अरू कुनै व्यक्तिको विरुद्ध सतर्क पार्नु ।
(ज) सार्वजनिक हित सदाचार वा नैतिकताका लागि असल नियतले कसैको कुनै कार्य, चरित्र वा आचरणको सम्बन्धमा व्यङ्ग्य गर्नुका आधार र कारणसहित कुनै टिप्पणी गर्न वा कुनै कुरा प्रकाशन वा प्रसारण गर्न,
३०७. बेइज्जती गरेमा हुने सजाय
(१) कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बिस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ तर विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना हुने छ ।
(२) कसैले कसैलाई बेइज्जती गरे वा गराएको ठहरिएमा बेइज्जती गरिएको व्यक्तिलाई कसुरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरेको भएमा त्यस्तो कुरासमेतलाई विचार गरी कसुरदारबाट मनासिव क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसुरदारबाट मुद्दामा लागेको खर्चसमेत भराउनुपर्ने छ ।
(३) मरिसकेको कुनै व्यक्तिलाई यस परिच्छेदबमोजिम बेइज्जती गरेको ठहरिएमा कसुरदारबाट त्यस्तो बेइज्जतीबाट भावनामा चोट लागेको निजको नजिकको हकवालालाई त्यस्तो क्षतिपूर्ति र मुद्दामा लागेको खर्चको रकम भराइदिनुपर्ने छ ।
३०८. हदम्याद :
यस परिच्छेदअन्तर्गतको कसुर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।
यस ऐन सम्बन्धमा श्री सर्वोच्च अदालतबाट विभिन्न समयमा धेरै नजिर प्रतिपादन भएका छन्, जसमध्ये नेपाल कानुन पत्रिका अङ्क ४ नि.नं. ८३५५ मा गाली बेइज्जतीको लागि गरिएको कुनै कार्य (एक्टस) भन्दा त्यस्ता व्यक्तिको नियत वा मनसाय (इन्टेन्सन) के रहेको छ । त्यसले व्यक्तिको चरित्र के कति ह्रास पुर्याएको छ ? त्यसमा विचार गर्नुपर्छ । कुनै ब्यहोराबाट आक्षेप लगाइन्छ भने लगाइएको आक्षेप सबुत प्रमाणद्वारा पुष्टि गरी प्रमाणित गराउन असमर्थ हुने व्यक्ति दण्डको भागिदार भई दाण्डिक दायित्वबाट उन्मुक्ति पाउन नसक्ने भनी व्याख्या भएको पाइन्छ ।