काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानीको भ्रमण गरेका छन् । भारतबाट अतिक्रमित नेपाली भूमि कालापानीमा भारतीय प्रधानमन्त्रीको भ्रमणलाई लिएर सरकारको चर्को आलोचना भएको छ ।
यो विषयले संसदमा पनि प्रवेश पाएको छ । सांसदहरुले विदेशी प्रधानमन्त्री आफ्नो भूमिमा आउँदा सरकार लाचार बनेको भन्दै कडा आलोचना गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले छिमेकी देशका प्रधानमन्त्री बिना जानकारी नेपाली भूमिमा आउँदा पनि सरकार टुलुटुलु हेरेर बसिरहेको बताएका छन्।
बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सिंहले छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा बिना जानकारी आउँदापनि सरकार टुलुटुलु हेरेर बसिरहेको बताए।उनले यसमा सरकारको नालायकीपन देखिएको बताए। सरकार विदेशी प्रधानमन्त्रीको नेपाल भ्रमण हुँदा समेत लाचार भएको बताए।
उनले भने,‘नेपाल सरकारको नालायकपनको कारणले, ज्यादा भारतमुखि भएको कारणले। त्यो सोधि राख्नुपर्ने जरुरी छैन। तर दुर्भाग्य हामी नेपालीहरुको हो। यसरी छिमेकी राष्ट्रका प्रधानमन्त्री नेपालको भुमिमा जानकारी नै नदिएर आउँदाखेरी पनि सरकार लाचार भइकन सरकार टुलुटुलु हेरिराखेको छ। यो सरकारबाट हामीले के आशा राख्ने ? छिमेकी राष्ट्रको प्रधानमन्त्रीजस्तो मान्छे थाहा नै नपाइकन त्यहाँका नेपाली जनतासँग भेटेर, अंगालो मारेर कुरा गर्नु भनेको त्यही पनि यो सरकारले टुलुटुलु हेर्ने बाहेक आशिर्वादको सरकार।’
नेकपा(एमाले)का सांसद ठाकुर गैरेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मर्यादालाई उल्लंघन गरेर नेपाली भूमि कालापानी क्षेत्रको भ्रमण गरेको बताए।उनले भारतीय प्रधानमन्त्री मोदीले सामान्य शिष्टाचार र कुटनीतिक मर्यादा विपरित कालापानी क्षेत्रको भ्रमण गरेको बताए।उनले मोदीको यसप्रकारको भ्रमणलाई सही भन्न नसकिने बताए।
उनले भारतीय प्रधानमन्त्रीको भ्रमण नेपाल भारत सम्बन्धको विपरित रहेको बताए।उनले कालापानी नेपाली भुमि भएकाले त्यहाँबाट भारतीय सेना फिर्ता हुनुपर्ने बताए।
उनले भने – ‘भारतका प्रधानमन्त्रीले एउटा सामान्य शिष्टाचार, सामान्य कुटनीतिक मर्यादा र एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न भौगोलिक रुपले अखण्ड नेपाल र त्यससँगको भारत र नेपाल बीचको सम्बन्ध र त्यसको सामान्य मर्यादालाई समेत उल्लंघन गरेर उनले आफ्नो भ्रमण गर्नुभएको छ। यो कुनैपनि हिसावले नेपालले यसलाई यसको पक्षमा अथवा यो कुरा सही हो भन्न सक्दैन। यो अत्यन्त गलत काम भएको छ। कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि हो। हामी कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ भनिरहेका छौँ। भारतको प्रधानमन्त्रीले जसरी नेपाली भूमिमा आफ्नो भ्रमण गर्नुभयो, त्यो चाहीँ नेपाल र भारतबिचको सम्बन्धको विपरित छ। सामान्य कुटनीतिक मर्यादाको बिरुद्ध छ।’
नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपालले कुटनीतिक सक्रियता र भूमिकालाई बढाउनु जरुरी रहेको बताए।उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको कालापानी क्षेत्रमा आएको कुरालाई उल्लेख गर्दै यसले छिमेकी देशलाई विश्वासमा लिँदै कुटनीतिक सक्रियता बढाउनु जरुरी देखिएको बताए।
कांग्रेस सांसद रामहरी खतिवडाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महाकाल क्षेत्रको भ्रमण औपचारिक भ्रमण नभएकाले चासो लिनुपर्ने आवश्यकता नभएको बताए।
उनले राजकीय भ्रमणका रुपमा नेपाली भूमिमा आएको भए सम्मान र सत्कार गर्नुपर्ने भन्दै उनले व्यक्तिगत भ्रमणका बारेमा जानकारी गराउनु नगराउनु उनीहरुकै कुरा भएको बताए। उनले नेपाल–भारत बीचमा रहेका समस्याहरुलाई कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने पनि बताए।