काठमाडौँ । नेकपा (मसाल) ले इजरायल घटनाका मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारमा तुरुन्त कदम उठाउन सरकारसित माग गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० असोज २४ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै यस्तो माग गरेको हो ।
वक्तव्यमा पार्टीले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।
प्यालेस्टाइनी जनताको स्वतन्त्रता र मुक्तिलाई आफ्नो पार्टीले समर्थन गरेको बताउँदै वक्तव्यमा साम्राज्यवादको आपसी स्वार्थको त्यहाँ द्वन्द्व र युद्धको अवस्था कायम रहेको विश्लेषण गरिएको छ । त्यस सन्दर्भमा पार्टीले साम्राज्यवादी हस्तक्षेपको विरोध गरेको प्रष्ट पारेको छ ।
देशभित्रै आवश्यक शिक्षा र रोजगारको ग्यारेन्टी गर्न माग गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“इजरायल र प्यालेस्टाइनबिचको द्वन्द्व र युद्धको अवस्था दीर्घकालिक हुनुमा साम्राज्यवादीको आपसी स्वार्थको भूमिका रहेको छ । प्यालेस्टाइन जनताको स्वतन्त्रता र मुक्तिको सङ्घर्षलाई हाम्रो पार्टीले समर्थन गर्दै आएको छ । प्यालेस्टाइन जनताको स्वतन्त्रता र मुक्तिको सङ्घर्षका विरुद्ध भएका सबै साम्राज्यवादी हस्तक्षेपको हामीले विरोध गर्दछौँ ।
इजरायल र प्यालेस्टाइनबिचको युद्धलाई अन्त गरी प्यालेस्टाइनी जनताको स्वतन्त्रता र मुक्तिलाई सम्मान गर्नुका साथै त्यहाँ शान्ति स्थापना हुनुपर्नेमा हामीले जोड दिन्छौँ । हालै इजरायल र प्यालेस्टाइनबिच भएको युद्धको चपेटामा परी इजरायलमा कैयौँ नेपालीले ज्यान गुमाउनुपरेकोमा हामीले गम्भीर दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ† मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ र घाइतेको शीघ्र स्वस्थताको लागि कामना गर्दछौँ । मृतकलाई इजरायलद्वारा क्षतिपूर्ति दिलाउन तथा घाइतेको उपचारको उपयुक्त व्यवस्था मिलाउनका लागि नेपाल सरकारले तुरुन्त कदम उठाउनुपर्नेमा हामीले माग गर्दछौँ ।
विश्वभरि नै नेपाली नागरिक असुरक्षित अवस्थामा रहेका छन् । अहिले इजरायलमा भएको घटनामा नेपाली विद्यार्थीको मृत्युबाट पनि त्यही कुरा पुष्टि हुन्छ । यो अवस्थामा देशभित्र नै आवश्यक शिक्षा र रोजगारको ग्यारेन्टी गर्न हामीले सरकारको ध्यान आकर्षित गर्दछौँ ।”