जेरुसेलम । प्यालेस्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएपछि इजरायलको मन्त्रिपरिषद्ले आइतबार “युद्धको अवस्था” को घोषणा गरेको छ ।
हमासले इजरायल विरुद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ ।
इजरायली भूमिमा हमास लडाकु र इजरायली सैनिकबिच भिडन्त भइरहेका बेला इजरायली सेनाले आइतबार पनि गाजाका विभिन्न स्थानमा हवाई आक्रमण जारी राखेको छ ।
हमासका प्रवक्ता डेनियल हागारीका अनुसार हमासका लडाकुले आइतबार साँझ दक्षिणी इजरायलका विभिन्न समुदायमालाई आफ्नो नियन्त्रणमा लिएको छ भने इजरायली रक्षा बल (आइडिएफ) का सैनिकसँग झड्प भएको छ ।
इजरायली उद्धार सेवा जाकाले एक विज्ञप्ति जारी गर्दै गाजा–इजरायलको बाडनजिकैको ग्रामीण कृषि क्षेत्रमा एक सङ्गीत कार्यक्रम (नोभा फेस्टिभल) मा पार्टी गरिरहेका करिब २६० जना युवती र पुरुषको अवशेष सङ्कलन गरिएको जनाएको छ ।
आइतबार राति पनि महोत्सवमा सहभागी धेरै जना हराइरहेका थिए । हमासले इजरायलमा हजारौँ रकेट प्रहारसहितको विशाल आक्रमणमा उक्त कार्यक्रमसहितका यस क्षेत्रका अन्य स्थानमा आक्रमण गरेपछि सामाजिक सञ्जालमार्फत आफ्ना नातेदार र साथीलाई खोज्ने अभियान चलाएका छन् ।
यसैबिच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इजरायली सेना र हमासका लडाकुको बढ्दो द्वन्द्वबिच पेन्टागनले पूर्वी भूमध्यसागरीय क्षेत्रमा इजरायललाई समर्थन गर्न युद्धपोत र लडाकु विमान पठाउन लागेको बताउनुभएको छ ।
अस्टिनले एक विज्ञप्ति जारी गर्दै “युएसएस जेराल्ड आर फोर्ड क्यारियर स्ट्राइक गु्रप” को पूर्वी भूमध्यसागरीय क्षेत्रमा एक विमानवाहक पोत, एक गाइडेड मिसाइल क्रुजर र चार गाइडेड मिसाइल विध्वंसकको आवागमनलाई निर्देशन दिएको बताएका छन् ।
पेन्टागनले यस क्षेत्रमा अमेरिकी वायु सेनाको एफ–३५, एफ–१५, एफ–१६ र ए–१० लडाकु विमान स्क्वाड्रनको विस्तारका लागि पनि कदम चालेको छ ।
उहाँले अमेरिकी सरकारले इजरायली रक्षा बललाई युद्धसामग्रीलगायत थप उपकरण र स्रोत साधन दू्रत गतिमा उपलब्ध गराउने बताउनुभयो । (रासस/सिन्ह्वा)