काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह सम्मानित हुनुभएको छ । वंशरत्न मेमोरियल ट्रष्टद्वारा शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा सिंहलाई ‘वंश रत्न मानवतावादी सम्मान २०७८’ बाट सम्मानित गरेको हो ।
वरिष्ठ पत्रकार भैरव रिसालले सिंहका तर्फबाट उहाँकी पत्नी एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई सो सम्मान प्रदान गर्नुभयो । पुरस्कारको राशि एक लाख रुपैयाँ र सम्मान पत्र रहेको छ ।

अन्धविश्वास कूरीति एवम् कुसंस्कारका विरुद्ध वैज्ञानिक र मानवतावादी चेतनाका पक्षमा समाजावदी मानवतावादी दार्शनिक सिंहले खेल्नुभएको उल्लेखनीय भूमिकाका लागि सो सम्मान प्रदान गरिएको प्रशंसा पत्रमा उल्लेख छ ।

ट्रष्टले सिंहलाई ‘वंश रत्न मानवतावादी सम्मान २०७८’ बाट सम्मानित गरिएको जनाएको छ ।
सोही कार्यक्रममा ‘वंश रत्न मानवतावादी सम्मान २०७९’ बाट मानवतावादी राजनीतिक विश्लेषक श्याम श्रेष्ठ र ‘वंश रत्न मानवतावादी सम्मान २०८०’ बाट भारतीय विख्यात वैज्ञानिक मानवतावादी अभियन्ता प्राध्यापक डा. नरेन्द्र नायकलाई पनि सम्मान गरियो ।

कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले सम्मानित व्यक्तित्व मोहनविक्रम सिंहको जीवनीबारे संक्षेपमा उल्लेख गर्नुभएको थियो ।
यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समाजमा हुने भेदभाव, अन्धविश्वास र कूरीतिविरुद्ध वैज्ञानिक समाजका लागि आजीवन संघर्ष गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेर ट्रस्टले राम्रो कामको थालनी गरेकोमा धन्यवाद दिनुभयो ।

कार्यक्रममा विभिन्न वक्ताहरुले जातीय भेदभाव, छुवाछुत तथा अन्धविश्वासविरुद्ध संयुक्त कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।





