काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सांसद चित्रबहादुर केसीले देश रित्तिन थालेको विषयमा संसद्मा गम्भीर बहस हुनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
२०८० असोज १८ गते बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले यस्तो आवश्यकतामाथि जोड दिनुभएको हो ।
‘हामी सबैले यही संसद्मा गोहीका आँसु बगाउँछौँ’ उहाँले भन्नुभयो– ‘तर अब त्यसरी गोहीको आँसु बगाएर मात्रै हुँदैन । के कारणले नयाँ पिँढी देश रित्याएरै विदेश गइरहेको छ ? यसबारे गम्भीर छलफल गरेर निकास निकाल्नुपर्दछ ।’
उहाँले नेपालमा उद्योगधन्दा, खानी जस्ता रोजगारीको क्षेत्र नभएकै कारणले युवा पिँढी बिदेसिएको बताउनुभयो ।
‘नेपालमा उद्योगधन्दा, खानी जस्ता रोजगारीका क्षेत्र त छैनन् नि’ अध्यक्ष केसीले व्यङ्ग्य कस्नुभयो– ‘त्यो त हामीले उहिल्यै बेचिसक्यौँ, लिलाम गरिसक्यौँ । त्यस्तो गर्ने हामी यहीँ छौँ ।’
अध्यक्ष केसीले पैसा हुनेले राम्रो शिक्षा लिन विदेश जानु एउटा विषय भए पनि सबैले पढ्नै नपाएर विदेश गएको कुरा सत्य नभएको बताउनुभयो ।
‘पैसा भएकाले राम्रो शिक्षा लिन जानु बेग्लै कुरा भयो’ उहाँले भन्नुभयो– ‘तर यहाँ त मन्त्री, सांसद, साहुमहाजन, धनीमानीका छोरा सबैले नेपालमा केही हुन्न भनेर अमेरिका, युरोप, अस्ट्रेलियातिर गएका छन् । त्यता जान नसक्नेहरू जापानतिर छन् ।’
उहाँले देश रित्याउन सुनियोजित प्रयत्न भइरहेको पनि बताउनुभयो ।
सांसद केसीले भन्नुभयो– ‘सुनियोजित प्रकारले देश रित्याउने काम भइरहेको छ । यही हिसाबले जनता विदेशतिर भाग्ने हो भने दस, बिस वर्षपछि मुलुक रित्तो हुने छ ।’
उहाँले यस विषयलाई गम्भीर प्रकारले लिनुपर्ने बताउनुभयो ।
‘यस विषयलाई समयमै निराकरण गर्नुपर्दछ’ अध्यक्ष केसीले चेतावनी दिनुभयो– ‘यसबारे हामीले समयमै ठोस पहल गरेनौँ भने यता हामीले गोहीको आँसु बगाउँदै रहने, उता मुलुक रित्तो हुँदै जाने होला ।’
यस प्रसङ्गमा केसीले थप्नुभयो– ‘यस्तै भइरह्यो भने जनता विदेश गएर देश रित्तिने अनि अरूले यहाँ राज गर्ने स्थिति नहोस् ।’
बझाङका भूकम्पपीडितको राहत दिइयोस्
विशेष समयमा बोल्ने क्रममा अध्यक्ष केसीले बझाङका भूकम्पपीडितलाई सरकारले राहत दिनुपर्ने विषय पनि उठाउनुभयो ।
‘बझाङ र त्यसवरपरका जनता भूकम्पका कारणले सडकमा छन्’ उहाँले भन्नुभयो– ‘सरकारले उनीहरूलाई सहयोग गर्न उच्च स्तरबाटै पहल गर्नुपर्दछ ।’
अध्यक्ष केसीले यस विषयमा केन्द्र सरकार नै गम्भीर हुनुपर्ने बताउनुभयो ।