दुर्गानाथ खरेल ##
कुनै वस्तुको विकासको मूल कारण त्यसभित्र रहेको अन्तरविरोध हो । अरू वस्तुसँग हुने सम्बन्ध र आपसका प्रभाव त्यसको विकासका सहायक कारण हुन् । सहायक कारण या सहायक कारणबाट वस्तुमा यान्त्रिक गति या नाम र मात्रामा हेरफेर मात्र हुन सक्छ, एउटा वस्तु अर्कोमा फेरिने कारण खुलाउन वा प्रष्ट्याउन सक्दैन ।
समाजभित्रका अन्तरविरोध अथवा उत्पादक शक्ति र उत्पादन सम्बन्धबिच रहेका अन्तरविरोध, वर्गबिच रहेका अन्तरविरोध र नयाँ–पुरानाबिच रहेका अन्तरविरोध नै समाज हेरफेरका मूल कारण हुन् । यी अन्तरविरोधको विकासले समाजलाई अगाडि घचेट्छ । बाहिरी कारणहरू परिवर्तनका शर्त मात्र हुन् भने भित्री कारण परिवर्तनका आधार हुन् । बाहिरी कारणहरू भित्री कारणमार्फत् नै क्रियाशील हुन्छन् ।
क्रान्तिलाई विजयको अवस्थासम्म पुर्याउन राजनीतिक पार्टीहरूको सही सिद्धान्त, राजनीतिक लाइन र आफ्नो सङ्गठनको ठोस अवस्था वा अनुशासित र मिलिट्यान्सीसहितको खदिलो अवस्थामा भर पर्नुपर्दछ । वस्तुहरूको आन्तरिक एकता र अन्तरविरोधको नियमलाई बुझ्नुपर्छ ।
अन्तरविरोधको विशिष्टतामा नै अन्तरविरोधको सार्वभौमिकता रहन्छ । अन्तरविरोधको सार्वभौमिकता वा निरपेक्षताका दुईओटा अर्थ छन् : एउटा– वस्तुहरूको विकासको प्रक्रियामा अन्तरविरोध रहिरहन्छ† अर्को विपरीत तत्त्वको गति सुरुदेखि अन्त्यसम्म रहिरहन्छ । गति आफै एउटा अन्तरविरोध हो । लेनिनले भनेका छन्– ‘प्रकृतिका सबै वस्तु र घटनामा अन्तरविरोधपूर्ण विपरीत प्रकृतिलाई चिन्नु द्वन्द्ववाद हो ।’
भेद स्वयम् नै अन्तरविरोध हो । श्रम र सम्पत्तिको व्यक्तिगत स्वामित्वबिच अन्तरविरोध छ । अन्तरविरोध सर्वव्यापी र निरपेक्ष हुन्छ । सबै वस्तु र घटनाको हुर्काइको प्रकृयामा सामेल हुन्छ । नयाँ प्रकृया उदाउन थाल्दा नयाँ एकता र त्यसका सङ्गठक विपरीत तत्त्वले नयाँ ठाउँ ओगट्छन् । नयाँ प्रकृयामा नयाँ अन्तरविरोध हुन्छ । आफ्नै अन्तरविरोधको विकासको इतिहास सुरु हुन्छ । आफ्नो क्रान्तिको इतिहास र हालको स्थिति ठिक ठिक विश्लेषण गर्न सके मात्र भविष्यको ठिक ठिक निष्कर्ष निकाल्न सकिन्छ ।
विश्वमा गतिमान पदार्थबाहेक अरू केही छैन । पदार्थको गतिको कुनै न कुनै रूपमा हुन्छ । वस्तुहरूको विषयमा हाम्रो ज्ञानको आधार त्यसमा र गतिका अन्य रूपमा साझा रहने गतिको विशिष्टता हो । गतिको एउटा रूप र अरू रूपमाझको गुणात्मक फरकलाई ध्यानमा राखेर वस्तुमा फरक छुट्याउन सक्छौँ ।
गतिको कुनै पनि रूपभित्र आफ्नो विशिष्ट अन्तरविरोध हुन्छ । त्यसले विशेष स्वत्वलाई निश्चित गर्छ । त्यसैबाट अरू सबै वस्तुभन्दा फरक हुन्छ । विशिष्ट स्वत्व आफ्नो विशिष्ट अन्तरविरोधबाट निर्धारित हन्छ । यो समाजमा र विचारधाराको घटनामा पनि लागु हुन्छ । समाजका हरेक रूप र विचारधाराका हरेक प्रणालीको आआफ्नो विशिष्ट अन्तरविरोध र त्यसको आफ्नो विशिष्ट स्वत्व हुन्छ ।
विज्ञानका हरेक हाँगामा एउटा खास अन्तरविरोध रहेको हुन्छ, साथै एउटा खास स्वत्व पनि रहेको हुन्छ । अन्तरविरोधको सार्वभौमिकतालाई नबुझी सार्वभौमिक आधारको पत्तो पाउन सक्दैनाँै तर अन्तरविरोधको विशिष्टताको अध्ययन नगरी स्वत्वको पत्ता पाउन सक्दैनौँ । वस्तुविशेषको ज्ञानबाट सामान्य वस्तुको ज्ञानतर्फ पाइला पाइला गरी विकसित हुन्छ । विशिष्ट स्वत्वलाई बुझेपछि मात्रै मान्छे सामान्यतर्फ झर्न सक्छ ।
सामान्य स्वत्वलाई बुझेपछि त्यो ज्ञानलाई पथप्रदर्शकको रूपमा प्रयोग गर्दै पूरा पूरा अध्ययन नगरिएका ठोस वस्तुहरूको अध्ययन गर्नेतर्फ र विशिष्ट स्वत्वको भेद पाउनेतर्फ अध्ययन अगाडि सर्छ । तब सामान्य स्वत्वबारे आफ्नो ज्ञानलाई हुर्काउन/बढाउन सकिन्छ ।
ज्ञान प्राप्त गर्ने दुई प्रकृयाहरू विशिष्टबाट सामान्यतर्फ अघि बढ्नु र सामान्यबाट विशिष्टतर्फ फर्कनु हुन् । अन्तरविरोधको सार्वभौमिकता र बेग्लाबेग्लै वस्तुको सामान्य स्वत्वलाई बुझ्नुभन्दा अगावै अन्तरविरोधको विशिष्टताको अध्ययन गरेर विशेष सत्वलाई बुझ्नुपर्ने कुराको ख्याल नगर्दा गल्ती हुन जान्छ । अर्कोतिर, सामान्य स्वत्वबारे जानेपछि ठोस वस्तुको अध्ययन गर्न अल्छी गर्दा पनि कमजोरी हुन्छ । गहकिलो अध्ययन गर्नबाट पन्छिएको ठहर्छ । त्यसबाट सत्यमा पुग्ने सामान्य क्रमलाई वास्ता नगर्ने र उल्टो पार्नेसमेत काम हुन्छ । त्यसबाट माक्र्सवादी सिद्धान्त छाडिएको हुन्छ ।
हाम्रो अध्ययनमा पदार्थको गतिका रूपको हरेक बृहत् प्रणालीमा रहेको विशिष्ट अन्तरविरोध, त्यसबाट निर्धारित भएको स्वत्वको अध्ययनका साथै विकासको लामो अवधिमा विशिष्ट अन्तरविरोध र हरेक प्रक्रियाको स्वत्वको अध्ययन पनि समावेश गर्नुपर्छ । त्यसो गर्दा वास्तविक प्रकृया गुणात्मक रूपले फरक हुन्छ । गुणात्मक रूपले फरक रहेका अन्तरविरोधको फस्र्योट गुणात्मक रूपले फरक जुक्तिबाट मात्रै गर्न सकिन्छ । हरेक अन्तरविरोधका दुवै पक्षका आआफ्ना विशिष्टता हुन्छन् ।
कुनै समस्याबारे अध्ययन गर्दा मनोगतवाद, एकलकाँटेपना र टपर्टुइयाँपनाबाट जोगिनुपर्छ । कुनै अन्तरविरोधका दुवै पक्षका विशिष्टतालाई बुझ्नुपर्ने हुन्छ । विशिष्ट सार्वभौमसित एकजुट हुने हुनाले र हरेक वस्तुमा अन्तरविरोधको विशिष्टता सँगसँगै सार्वभौमिकता पनि रहने हुनाले सार्वभौमिकता विशिष्टतामा बास गर्छ । सामान्य स्वरूप र विशिष्ट स्वरूप निरपेक्षता र सापेक्षताबारे रहेको सत्यता नै वस्तुमा पाइने अन्तरविरोध समस्याको भित्री सार हो ।
मुख्य अन्तरविरोध र कुनै खास अन्तरविरोधको पनि मुख्य पक्षको राम्रो अध्ययन गर्नुपर्छ । धेरैमध्ये एउटा मुख्य अन्तरविरोधले अस्तित्व र विकासलाई निर्धारित वा प्रभावित गर्दछ । विकासको प्रक्रियाको हरेक अर्थमा एउटै मात्रै अन्तरविरोध मुख्य अन्तरविरोध हुन्छ । त्यसैले सबैभन्दा प्रमुख काम गरिरहेको हुन्छ । दुई वा त्योभन्दा बढी अन्तरविरोध भए पनि मुख्य अन्तरविरोधमा प्रभुत्व कायम गर्ने मुख्य पक्ष हुन्छ । त्यसैले त्यो वस्तुको स्वरूपलाई निर्धारण गर्छ । यस्तो स्थिति स्थिर नभई अन्तरविरोधका मुख्य पक्ष र सहायक पक्ष एकअर्कामा फोरिएर वस्तुको स्वरूप पनि फेरिन जान्छ । विशेष गरी अन्तरविरोधको मुख्य पक्षबाट नै वस्तुको स्वरूप निर्धारित हुन्छ । त्यसैले आफ्नो हैकम स्थापित गर्छ । मानसिक स्थितिको भौतिक स्थितिमा, सामाजिक चेतनाको सामाजिक अस्तित्वमा र माथिल्लो बनौटको आर्थिक आधारमा पनि प्रतिक्रिया पर्दछ । अन्तरविरोधभित्र रहेका असमानताको विभिन्न अवस्थाको मुख्य अन्तरविरोध र समातहतका अन्तरविरोधको र कुनै अन्तरविरोधको मुख्य पक्ष र मातहतका पक्षको जाँचबुझ गर्न ध्यान दिनुपर्ने वास्तविकता हो ।
अन्तरविरोधको एकरूपता र आपसी तानातानका समस्याको अध्ययन गर्नुपर्छ । कुनै वस्तुको विकासको प्रक्रियामा हरेक अन्तरविरोधका दुवै पक्षमध्ये हरेक पक्षको अस्तित्वका लागि अर्को पक्षको अस्तित्व अनिवार्य हुन्छ । दुवै पक्षको सहअस्तित्व एउटै एकाइमा रहन्छ । विशेष परिस्थितिमा दुवै अन्तरविरोधी पक्षमध्ये प्रत्येक पक्ष एकार्कोको विरोधी पक्षमा फेरिन पुग्छ । यो एकरूपता हो ।
विपरीत तत्वमा एकरूपता हुने, एकरूपतामा आइपुग्ने, एकार्कामा फेरिँदै एकरूप हुने परिस्थिति मानिसले विपरीत तत्वलाई ज्युँदो, परिस्थितिबद्ध र गतिशील वस्तुको रूपमा लिएर एकार्कामा फेरिने कुरासमेत द्वन्द्ववादको शिक्षाअन्तर्गत पर्दछ ।
साधारण प्रक्रियामा पाइने विपरीत तत्व एक जोर मात्रै हुन्छन् तर जटिल प्रक्रियामा भने ती एक जोरभन्दा बढी हुन्छन् । विपरीत तत्वका जोडी अर्को जोडीका विरोधी हुन्छन् । यसरी वस्तुगत संसारको र मानव चिन्तनको सृजना भएर गतिशील भइरहन्छ ।
हरेक विरोधी पक्ष अर्को पक्षको अस्तित्वको निम्ति एउटा नभई नहुने हुन्छ । एकरूपताको पहिलो अर्थ यही हो । विशेष परिस्थितिमा परस्पर विरोधी पक्ष आफ्नो विपरीत पक्षमा फेरिन पुग्छन् । आफ्नो विपरीत पक्षको स्थितिमा पुग्न जान्छन् । एकरूपताको यो अर्को अर्थ हो ।
कम्युनिस्ट पार्टीको नेतृत्वमा एउटा क्रान्तिकारी पल्टन खडा गरेर क्रान्तिकारी युद्ध थाल्नु युद्धलाई नै सधैँका निम्ति निमिट्यान्न पार्ने परिस्थिति तयार गर्ने हो । यी विपरीत तत्वहरू एकसाथै एकार्काका पूरक पनि हुन् । प्रतिक्रियावादी र आध्यात्मवादीका भ्रमात्मक मतलाई उदाङ्गो पारिदिनु, पोल खोलिदिनु, वस्तुमा रहेको द्वन्द्वात्मकताको प्रचार गर्नु, वस्तु रूपान्तरणको गतिलाई बढाउनु र क्रान्तिको उद्देश्य प्राप्त गर्नु कम्युनिस्टको कर्तव्य हो ।
आवश्यक विशेष परिस्थितिमा नै विपरीत तत्वमा एकरूपता रहन्छ । आवश्यक विशेष परिस्थिति कुनै किसिमको पनि एकरूपता हुन सक्दैन । बेला बेलाका ठोस परिस्थिति र आवश्यक परिस्थिति रहेमा मात्र वस्तुविकासको प्रक्रियामा केही अन्तरविरोध जन्मन्छन् । त्यसमा रहेका विपरीत तत्त्वहरू एकार्कोमा भर परेर बस्छन् । एकार्कोमा फेरिन पुग्छन् नत्र त कुनै कुरा पनि सम्भव हुने छैन ।
लेनिनका अनुसार “विपरीत तत्त्वको एकता परिस्थितिबद्ध अस्थायी सङ्क्रमणकालीन र सापेक्ष हुन्छ । विकास र गति निरपेक्ष भए झैँ एकार्काबाट छुट्टै विपरीत तत्त्वको सङ्घर्ष पनि निरपेक्ष हुन्छ ।”
सबै प्रकारका वस्तुको र घटनाको उत्पत्ति र अन्त्य हुन्छ । सबै प्रकृयाहरू आफूभन्दा उच्च प्रकृयामा फेरिँदा देखा पर्ने परिवर्तन निरपेक्ष हुन्छ । विपरीत तत्त्वको एकता परिस्थितिबद्ध, अस्थायी र सापेक्ष हुन्छ तर एकार्काबाट छुट्दा विपरीत तत्त्वको सङ्घर्ष निरपेक्ष हुन्छ । दुई विपरीत वस्तुहरू एउटै एकाइमा सँगसँगै बस्न सक्छन् । एकार्कामा फेरिन पनि सक्छन् । अन्तरविरोधको एकरूपता एउटा विशेष परिस्थितिमा मात्रै हुने हुनाले हामी एकरूपतालाई पनि स्थितिबद्ध र सापेक्ष भन्दछौँ । कुनै प्रकृयाको सुरुदेखि अन्तिमसम्म चलिरहने सङ्घर्ष एउटा प्रकृयालाई अर्कोमा फेर्ने कारण बन्दछ । यो प्रक्रिया हरेक ठाउँमा सामेल हुन्छ । परिस्थितिबाट फुक्का पनि हुन्छ र निरपेक्ष हुन्छ । परिस्थितिबद्ध सापेक्ष एकरूपता र परिस्थितिबाट फुक्का निरपेक्ष सङ्घर्षको मिसावटबाट सबै वस्तुमा पाइने विपरीत तत्त्वको गति बनेको हुन्छ ।
एकरूपतामा सङ्घर्ष नभई कुनै एकरूपता सम्भव हुन्न । एकरूपतामा सङ्घर्ष रहन्छ । विशिष्टतामा सार्वभौमिकता रहन्छ । निजी स्वरूपमा सामान्य स्वरूप रहन्छ । लेनिनले भनेका छन्– “सापेक्षतामा निरपेक्ष बसेको हुन्छ ।” विकासको गति सरलबाट जटिलतातिर बढ्दै जान्छ भन्दा अन्तरविरोधमा पनि त्यो प्रक्रिया लागु हुन्छ ।
प्रतिष्पर्धा गर्दा विरोधी पक्षको गति परस्पर विपरीत दिशातिर गतिशील हुन्छ र एउटाले अर्काभन्दा अघि बढ्ने गरी प्रतिस्पर्धा गरिरहेका हुन्छन् । त्यही सिलसिलामा अर्कालाई कहिल्यै भेट्याउन नसक्ने गरी विजयी बन्ने प्रतिष्पर्धा हो । निरपेक्ष भनेकै सबै अरूसँग तुलना गर्नुनपर्ने तुलनात्मक मूल्याङ्कन गर्नुनपर्ने भन्ने हो । एउटा अर्कोसँग तुलना गरेर मूल्याङ्कन गरिने पक्ष अर्को तुलना गर्नुनपरे, तुलना गर्न नसकिने पक्ष एकसाथ रहन्छन् ।
वस्तुको ठोस विकासअनुसार प्रारम्भमा शत्रुतापूर्ण भएका अन्तरविरोध पछि हुर्किएर शत्रुतापूर्ण नहुने र शत्रुतापूर्ण नभएका अन्तरविरोध हुर्कदै जाँदा शत्रुतापूर्ण हुन सक्छन् । सुरुमा केही विषयमा शत्रुतापूर्ण अन्तरविरोधका रूपमा प्रकट नहुन पनि सक्छन् तर वर्गसङ्घर्षको विकाससितै हुर्केर ती शत्रुतापूर्ण बन्न सक्छन् । एकातर्फ पार्टीले गलत विचारको खिलाफमा गम्भीर सङ्घर्ष थाल्नुपर्छ† अर्कोतिर, गल्ती गर्ने साथीहरूलाई आफ्ना गल्ती बुझ्न आँखा खोली चल्नका लागि प्रशस्त मौका दिनुपर्छ ।
लेनिनले भनेका छन्– “शत्रुता र अन्तरविरोध एउटै कदापि होइनन् । समाजवादमा पहिलो समाप्त हुन्छ दोस्रो भने रहिरहन्छ ।” त्यसको अर्थ शत्रुता विपरीत तत्त्वका माझ हुने सङ्घर्षको फगत एउटा रूप त हो तर त्यसको जम्माजम्मी रूप होइन । शत्रुताको सूत्रलाई हामीले हरेक ठाउँमा जथाभावी लगाउन सक्दैनौँ ।
विपरीत तत्त्वको एकताको नियम प्रकृति र समाजको आधारभूत निमय हो । यो चिन्तनको पनि आधार नियम हो । सबै प्रक्रियामा सुरुदेखि अन्तसम्म व्याप्त रहन्छ । यो अन्तरविरोधको सार्वभौमिकता र निरपेक्षता हो । अन्तरविरोधका आआफ्ना विशिष्टता हुन्छ ।
विशिष्टता र सापेक्षता यही हो । कुनै खास परिस्थितिमा विपरीत तत्त्वमा एकरूपता उब्जन्छ र एउटै एकाइमा सँगसँगै मिलेर बस्न सक्छन् । एकार्कामा फेरिन सक्छन् । यो पनि अन्तरविरोधको सार्वभौमिकता र निरपेक्षता नै हो ।
सापेक्षता र विशिष्टताको जाँचबुझ गर्दा मुख्य अन्तरविरोध र मातहतको अन्तरविरोधको फरक मुख्य पक्ष र मातहतको पक्षको फरकमा ध्यान पुर्याउनपर्छ । अन्तरविरोधको सार्वभौमिकता र विपरीत पक्षको तार्किक अध्ययन गर्दा तानातानका विभिन्न थरी रूपको माझका भिन्नतामा ध्यान दिनुपर्छ । त्यसो नगरे गल्ती हुन जान्छ । अन्तरविरोधको अध्ययनबाट हामी यिनै निष्कर्षमा पुग्छौँ ।