गणेश आचार्य
नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष भएको छ । यो हिसाबले अहिले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हिरक जयन्तीको वर्ष हो । यो बीचमा नेपाल कम्युनिस्ट पार्टीमा धेरै टुट फुट र विभाजनहरू भए । विभिन्न अति र भडकावका शिकार पनि भए । कम्युनिस्ट कै जनमतबाट बहुमत र नेतृत्वमा दुई तिहाइका सरकार पनि बने । तर किन आज पनि जनमुखी शासन व्यवस्था हुन सकेन ? किन आम जनताको जीवनस्तर माथी उठन सकेन ? जातीय, क्षेत्रीय, लैङ्गिक र वर्गीय विभेदको अन्त्य किन हुन सकेन ? ती तमाम सबालहरु अनुत्तरित भैराखेका छ्न् । यसै सबालमा यहाँ थोरै चर्चा गरिने छ ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) र राष्ट्रिय जनमोर्चाले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको हिरक जयन्ती मनाइराखेको छ । गत वैशाखमा उद्घाटन गरेर आगामी वैशाखमा समापन गर्ने गरि वर्षभरिको हिरक जयन्तीको कार्यक्रम गरिरहेको छ । उसले यो कार्यक्रमको मूल नारा ‘कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तण गरौँ’ भन्ने तय गरेको छ । आखिर किन यस्तो नारा तय गर्नु पर्यो ?
कम्युनिस्ट आन्दोलन आफैँमा क्रान्तिकारी आन्दोलन होइन र ? अनि कम्युनिस्ट पार्टीले क्रान्तिकारी रुपान्तरणको कुरा किन ? यो पनि एउटा जायज सबाल नै हो । यो विषयमा पनि चर्चा र व्याख्या हुन जरुरी छ । त्यो विषयमा पनि यहाँ केही चर्चा गरिनेछ ।
सर्वप्रथम पहिलो प्यारामा उल्लेखित सबालहरुको चर्चा गरौँ । सबैभन्दा दुःखको विषय नेपालको कम्युनिस्ट आन्दोलन एकीकृत हुन सकेन । कम्युनिस्ट सिद्धान्त र आदर्शमा रहन सबैलाइ गाह्रो भएका कारण विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा विभाजन भयो । नेपालमा राणा, पन्च र मुख्य जिम्मालहरुको प्रभाव कुनै न कुनै रुपमा कम्युनिस्ट आन्दोलनमा पनि पर्यो । जसका कारण कम्युनिस्ट नेताहरुमा पनि शासक बन्ने भुत सवार भयो ।
त्यसैको कारण पार्टी, आदर्श र नैतिकतालाई तिलान्जली दिएर भएपनि शासक बन्ने क्रम सुरु भयो । त्यसले जुन सुकै नैतिकता बेचेर भएपनि सत्तामा जान पर्छ भन्ने भावना विकसित भयो । त्यसले कम्युनिस्ट आन्दोलनलाई ठूलो स्तरमा स्खलन गरायो र विभाजन पनि भयो । यो सँगै अर्को दुःखको कुरा नेपाली जनताको कम्युनिस्ट विचार र दर्शन प्रतिको आकर्षणका कारण कम्युनिस्ट नाम छोड्न पनि नसक्ने र आफूलाई वास्तविक कम्युनिस्टको रुपमा बचाउन पनि नसक्ने भयो । पटक पटक कम्युनिस्ट नाम राखेका पार्टीहरुको नेतृत्वम सरकार बन्यो तर उसले काङ्ग्रेसले भन्दा फरक केही गर्न सकेन ।
त्यसैका कारण त्यो ‘कम्युनिस्ट सरकार’ ले कम्युनिस्ट कै बदनाम गर्यो । कम्युनिस्ट पनि केही फरक रहेनछन्, यिनिहरुको नारा मात्र राम्रो रहेछ, यिनिहरु पनि भ्रष्ट र नैतिकताहीन हुँदारहेछ्न् भन्ने भावनाको विकास भयो । कम्युनिस्टको लोगोलाई नै उनीहरुले ट्रेडमर्कको रुपमा प्रयोग गरे । भन्दा समाजवाद र समानताको कुरा गर्ने, कम्युनिस्ट आदर्शकै कुरा गर्ने तर व्यवहारमा पुँजीवादी भन्दा पनि पिछडिएको सामन्ती व्यवहार गर्ने भयो । ‘जनयुद्ध’ गरेको पार्टीले कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय चिह्न हँसिया हतौडालाई नै चुनाव चिह्नको रुपमा प्रयोग गरेर रणनीतिक उदेश्य नै यही संसदीय व्यवस्था बनायो । यसरी कम्युनिस्ट आन्दोलनलाई बदनामित गर्ने काम भयो ।
नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो कारणले मात्र हैन, जान अन्जनानमा बाह्य विचार र रणनीतिको शिकार पनि भयो । जातीय अन्तर्घुलन कम्युनिस्टको उदेश्य हो, जातीय विभेद र असमानताको अन्त्य हो । तर कम्युनिस्ट पार्टी भित्रै जातीय पहिचान र अस्तित्वका कुरा जबर्जस्त रुपमा स्थापित गराउने प्रयत्न भयो । सामाजिक रुपमा र सामाज विकासको चेतनास्तर वृद्धि हुँदै जाँदा बिस्तारै कमजोर बन्दै गइरहेको जातीय विभेद र अन्तरको कुरालाई झनै जगाउने काम भयो । यो कम्युनिस्ट विचार विरोधी कुरा थियो। यतिसम्मको सुषुप्त बन्दै गैराखेको जातीय विभेद पनि बढेर गयो ।
कम्युनिस्टहरुको उदेश्य कथित ठूला जातले कथित सानाजातमाथी गरेको विभेदको अन्त्य गर्ने कुरा हो । त्यो क्रमशः विकास हुँदै गइरहेको थियो । तर जातीय राज्य र पहिचानको कुराले कथित माथिल्लो जातमा पनि हाम्रो पहिचान त यही हो भनेर अन्तर कायम गर्न पाउनु पर्छ भन्ने प्रतिगामी भावना पनि विकसित भए । विचारहरु हचुवाका आधारमा बनाउँदा त्यस्ले उल्टै आफैंलाइ क्षति पुराउने काम समेत भयो । त्यसैले कमरेड माओले ‘दश पटक नाप–एक पटक काट’ भन्ने कुरामा जोड दिनु भएको थियो ।
कम्युनिस्ट आन्दोलन भित्रै र कम्युनिस्टको जनमत धेरै भएको बेला साम्प्रदायिक भावना यसरी विकसित भयो कि त्यो कम्युनिस्ट आन्दोलनलाई लज्जित गर्ने स्तरको भयो । पछाडि परेको समुदायको समस्या पहिचान गर्ने, उनीहरूलाई अधिकार सम्पन्न गर्ने र समानता कायम गर्ने भन्दा जाती र लिङ्गका आधारमा त्यो समुदायका केही अगुवाहरुलाइ अवसर दिने भन्दा अरु हुन सकेन ।
कम्युनिस्ट पार्टीले सहभागितामा भन्दा सम्पूर्णको अधिकारमा ध्यान दिनु पर्ने हो । यसको अर्थ सहभागिता हुनु हुँदैन भन्ने हैन । सकेसम्म पछाडि परेको वर्ग समुदायबाट नै सम्पूर्ण सहभागी गराउनु पर्छ । तर मुख्य कुरा एकाध मान्छेको सहभागी होइन, सम्पूर्ण पछाडि परेको वर्ग समुदायको मुक्ति र समानताको कुरा हो । पछाडि परेको वर्ग समुदायको सहभागिता हुने तर त्यही वर्ग हितको योजना कार्यक्रम बनाउन नसक्ने हो भने त सहभागिताको केही अर्थ भएन । हाम्रोमा राजनीतिलाई सेवा होइन व्यापार बनाएका कारण सहभागितामा मात्र जोड भयो ।
कम्युनिस्ट पार्टीको नेतृत्वको सरकार हुँदा समेत सबैभन्दा ज्यादा मान्छेको राजनीतिमा आकर्षण किन भयो ? किनकी त्यसलाई व्यापार बनाइयो । कम्युनिस्ट पार्टी नेतृत्वको सरकार हुँदा धेरै मान्छेको आकर्षण राजनीति होइन उत्पादनमा हुनु पर्ने थियो ।
अहिले हामीले ‘कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौँ’ भनेर अभियान नै सञ्चालन गरेका छौँ । कम्युनिस्ट आन्दोलन आफैँमा क्रान्तिकारी आन्दोलन हो । उसले त समाजलाई क्रान्तिकारी रुपान्तरण गर्ने हो । तर यहाँ समाजमा भन्दा ज्यादा समस्या कम्युनिस्ट आन्दोलन भित्र नै रह्यो । माथी उल्लेखित जति पनि समस्याहरु छ्न् ती सबै कम्युनिस्ट आन्दोलन भित्रकै समस्या हुन् । त्यसैले ‘कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौं’ भन्नु परेको छ ।
कम्युनिस्ट आन्दोलनमा रुपान्तरण गर्ने वा कम्युनिस्ट पार्टीलाई राम्रो बनाउने भनेको भोटर संख्या वृद्धि गर्ने वा पार्टीलाई ठूलो बनाउने कुरा मात्र हैन । आन्दोलनलाई बलशाली बनाउन पार्टीको साइज बढाउने वा क्याडरहरु वृद्धि गर्नु पनि एउटा महत्त्वपूर्ण कुरा त हो । तर मुख्य कुरा कम्युनिस्ट चरित्र निर्माण गर्ने कुरा हो । कम्युनिस्ट चरित्र बेगरको कम्युनिस्ट पार्टी भनेको खहरे खोला जस्तै हो । जसले राम्रो भन्दा ज्यादा खराब काम नै गरेको हुन्छ । नेपालमा कम्युनिस्टको जनमत राम्रो हुँदाहुँदै पनि त्यसलाई कमान्ड गर्नेहरुमा नै पुँजीवादी र नोकरसाही सामन्ती प्रवृत्तिको बाहुल्यता हुँदा कम्युनिस्ट आन्दोलन बदनामित भएको छ ।
अहिले पनि नेपालमा भएको कम्युनिस्ट जनमतका आधारमा कम्युनिस्ट चरित्र निर्माण गर्ने र देश विकासको स्पष्ट खाका हुने हो भने अन्य अहिलेका विकसित देशहरू यो अवस्थामा आउन लागेको समय भन्दा कैयौँ छोटो समयमा हाम्रो देश समृद्ध र विकसित हुनेछ । तर नेताहरूमा त्यो सोच नै छैन । बरु आफू, आफ्नो समूह, आफ्नो पार्टी के गर्दा सत्तामा पुग्छ, कस्को दलाली गर्दा सत्तामा पुछ, कसरी आफूले राज्य श्रोतलाई दोहन गर्न सकिन्छ, त्यो कुरामा मुख्य ध्यान छ ।
नेपालमा अहिले कम्युनिस्टको सरकार हो कि काङ्ग्रेसको भनेर छुट्याउने कुनै आधारहरू नै छैन । संविधानमा समाजवादको परिकल्पना छ तर व्यवहार पञ्चायत र पञ्चेहरुको भन्दा माथी छैन । कम्युनिस्ट नामका सत्ताको लागि मरिहत्ते गर्ने दलहरु कुनै पनि सत्ताको लागि साम्राज्यवाद, सामन्तवाद, पुँजीवादसित दलाली गर्न र घाँटी जोड्न पछाडि पर्दैनन् ।
यो अवस्थाबाट देश र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन हरेक कम्युनिस्ट पार्टी भित्रको क्रान्तिकारी तप्का, नयाँ पुस्ता र निष्ठा बचाइराखेका कम्युनिस्ट घटकहरुले गम्भीर रुपमा सोच्नै पर्छ । हैन भने कम्युनिस्टको नाममा केही मान्छेको जीवनलाई निष्ठा र आदर्शको मन्त्रभित्र रोमलेर जीवन कष्टकर बनाउने, रोगी बनाउने र देश छोड्न बाध्य पार्ने भन्दा अरु केही हुने छैन । अहिले पनि नेपाली कम्युनिस्ट आन्दोलनमा उज्ज्वल ताराहरु छ्न् ती ताराहरुलाई निभाउने हैन अझै चम्किलो बनाउँदै अगाडि बढ्ने हो ।

