काठमाडौं । अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणि पौडेलले शिक्षकहरुका माग पूरा नभएसम्म घर नफर्कने बताउनुभएको छ ।
सरकारले संसदमा प्रस्तुत गरेको शिक्षा विधेयकविरुद्ध राजधानी केन्द्रित आन्दोलनका लागि काठमाडौं आउनुभएका महासचिव पौडेलले विधेयक फिर्ता गरी शिक्षकका माग पूरा भएपछि मात्रै आन्दोलन रोकिने बताउनुभयो ।
युगदर्शनलाई संक्षिप्त प्रतिक्रिया दिँदै महासचिव पौडेलले विगतका शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकहरुसँग गरेको ५१ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै अहिले माग पूरा हुने सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।
‘यो शिक्षा विधेयकले सार्वजनिक शिक्षा ध्वस्त पार्छ । त्यसकारण विधेयक सच्याउनुको विकल्प छैन’ पौडेलले भन्नुभयो, ‘देशभरका हजारौँ शिक्षक अहिले राजधानी केन्द्रित आन्दोलनमा छौँ । सरकारसँग वार्ता र आन्दोलनलाई सँगसँगै लैजान्छौँ । माग पूरा नभएसम्म फर्कन्नौँ ।’
उहाँले आन्दोलनका कारण विद्यालयमा हुने पढाइको क्षति बिदाका दिनमा समेत पढाएर पूर्ती गर्ने जानकारी दिनुभयो ।
देशभरका सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द
सरकारले संसदमा दर्ता गराएको शिक्षा विधेयकविरुद्ध आजदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । नेपाल शिक्षक महासंघले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरी राजधानी केन्द्रित आन्दोलनमा उत्रेका हुन् ।

सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक(२०८०’ विरुद्ध देशभरका शिक्षक कर्मचारी आन्दोलनमा उत्रिएपछि सामुदायिक विद्यालयको पठनपाठन रोकिने अवस्था सिर्जना भएको छ। विद्यालय बन्द हुँदा देशभरका ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने अवस्था सिर्जना भएको छ।
महासंघको आह्वानमा देशभरबाट हजारौँ शिक्षक र कर्मचारी काठमाडौँ आएका छन्। उनीहरुले आफ्ना माग पूरा गर्न माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शनसमेत गरेका थिए। महासंघले काठमाडौं केन्द्रित प्रदर्शनलाई निरन्तरता दिने जनाएको छ।
देशभरका ३४ हजार विद्यालयका दुई लाखभन्दा बढी शिक्षक आन्दोलनमा उत्रिएपछि करिब ७० लाख विद्यार्थीको पढाइ नराम्ररी प्रभावित हुने अवस्था सिर्जना भएको छ।
शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलनको घोषणा गरेका हुन्। संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ। जसप्रति शिक्षक र तिनका संस्थाले विरोध गरेका हुन्।
आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहने महासचिव पौडेलले बताउनुभयो । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदाका दिनमा पढाएर भएपनि परिपूर्ति गर्ने उहाँको भनाई छ ।

सरकारसँग वार्ता सुरु
यसैबीच काठमाडौंमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु भएको छ। आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका प्रतिनिधि र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच बिहीबार बिहान गृहमन्त्रीकै कार्यकक्ष (सिंहदरबार) मा वार्ता भएको हो।
गृहमन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीले वार्ता सकारात्मक रूपले अघि बढेको बताए । उनका अनुसार वार्ता बिहान ८ बजेदेखि ९ बजेसम्म चलेको थियो।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री श्रेष्ठ, शिक्षामन्त्री अशोक राई र शिक्षा सचिव सुरेश अधिकारी सहभागी भएका थिए भने आन्दोलनरत पक्षबाट नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघका प्रतिनिधिहरु सहभागी थिए।
विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक काठमाडौंमा