कोयम्बतुर (भारत) । भारत तमिलनाडुको कोयम्बतुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा तिजी र बिदाई कार्यक्रम सँगसँगै सम्पन्न भएको छ ।
केन्द्रीय कोषाध्यक्ष मदन शर्माको प्रमुख आतिथ्यमा “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता र एमसिसी खारेज गरौँ” नाराका साथ सेप्टेम्बर १६, २०२३ शुक्रबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा राजमो बागलुङको जैमुनी–४ का सदस्य रविशङ्कर शर्मा, दक्षिण भारत क्षेत्रीय समितिका सदस्यहरू रेशम थापा, बिरे थापा, भीमलाल शर्मा, गोपाल शर्मा, रक्तिम क्षेत्रीय विभागका सदस्य बलबहादुर विक, महिला क्षेत्रीय विभागकी सदस्य मीना हमाल, क्षेत्रीय विद्यार्थी विभागको कस्तुरी थापा, क्षेत्रीय प्रतिनिधि जगत् हमालको उपस्थिति रहेको थियो ।
ज्ञातअज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारणपश्चात प्रमुख अथिति शर्माले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रमबाटै कोयम्बतुर दक्षिण भारत क्षेत्रीय समितिका सदस्य तथा नगर समितिका कोषाध्यक्ष गोपाल शर्मालाई बिदाइ गरिएको थियो । गोपाल शर्मा सन् १९८९ देखि २०२३ सम्म सङ्गठनका विभिन्न तहमा रहेर काम गर्नुभएको थियो ।

शर्मालाई अबिर, माल्यार्पण र दोसल्ला ओढाएर नगर समितिको तर्फदेखि नगर अध्यक्ष रेशम थापा र सचिव चन्द्रप्रसाद पौडेलले सम्मान गर्नुभएकोे थियो ।
नगर समितिअन्तर्गत टाउन हल एरिया समितिको तर्फदेखि जमुना पौडेल, कनुबाई एरिया समितिको तर्फदेखि चन्द्रदत्त शर्मा, चिरञ्जीवी शर्मा र रामु थापालगायतले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा रेशम थापा, बिरे थापा, भीमलाल शर्मा, रविशङ्कर शर्मा, बलबहादुर विक, कस्तुरी थापाले शुभकामना दिनुभएको थियो । कार्यक्रमको बिच बिचमा तिजी र रक्तिम गीतहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रम नगर सचिव चन्द्रप्रसाद पौडेलको स्वागत, जमुना पौडेलको अध्यक्षता र खिमानन्द शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
उपस्थित जनसमुदायलाई रक्तिमका कलाकारहरूले गीतसङ्गीतबाट स्वागत गर्नुभएकोे थियो ।
