गौरीश्वर पाण्डे ##
२०७४ साल वैशाखमा नेपालभरि स्थानीय तहको चुनाव भएको थियो । यसै क्रममा विभिन्न वामपन्थी एवम् लोकतन्त्रिक शक्तिसँग आवश्यकताअनुसार चुनावी तालमेल गर्ने काम देशैभरि भएको थियो । यही सिलसिलामा राष्ट्रिय जनमोर्चाले बागलुङ जिल्लामा वामपन्थी तालमेल गर्ने र जिल्लामा रहेका वामपन्थी शक्तिसँग चुनावी तालमेल गरेर जिल्लाभरि स्थानीय चुनावमा जाने निर्णय गरेको थियो ।
पार्टीको निर्णयअनुसार करिब एक महिनासम्म विशेष गरेर नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाबिच वार्ताछलफल भए तर तीनै दल मिलेर निर्वाचनमा जाने अवस्था निर्माण भएन र नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाको बिचमा जिल्लाभरि चुनावी एकता गरेर जाने भन्ने सहमति भयो । त्यही सहमतिअनुसार ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चालाई प्रमुख र नेकपा (एमाले) लाई उपप्रमुख अनि सोहीअनुसार वडा विभाजन गरेर जाने भन्ने सहमति दुवै सङ्गठनको जिल्ला स्तरमा भयो । सोही सहमतिअनुसार राष्ट्रिय जनमोर्चाले जिल्लाभरि सहमति कार्यान्वयन गरेर जाने कुरामा मुख्य जोड दियो तर नेकपा (एमाले) ले आफ्नै उपस्थितिमा भएको सहमति कार्यान्वयन गराउनभन्दा पनि आफ्ना अवसरवादी र महŒवाकाङ्क्षी गतिविधि अगाडि बढाउन थाल्यो ।
सहमतिलाई बेवास्ता गरी जहाँ आफूलाई जे गर्दा फाइदा वा चुनाव जित्न सकिन्छ, त्यहाँ त्यस प्रकारका धोकेबाज काम गर्दै गयो ।
यही क्रममा ढोरपाटन नगरपालिकामा पनि अन्तिम समयमा आएर राष्ट्रिय जनमोर्चासँग भएको चुनावी तालमेल वा सहमति तोड्न पुग्यो र देवकुमार नेपालीलाई नेकपा (माओवादी केन्द्र) बाट नेकपा (एमाले) मा भित्राई उनैलाई ढोरपाटन नगरपालिकाको प्रमुखमा उम्मेदवारी मनोनयन गरायो ।
यो नेकपा (एमाले) को चरम अवसरवादी, महŒवाकाङ्क्षा र बेइमानी र ढोरपाटन नगरपालिकामा यसको पतनको एउटा महत्त्वपूर्ण प्रदर्शन थियो किनभने देवकुमार एक जना नैतिक पतन भएको भ्रष्ट, ठग र गैरसामाजिक, व्यक्तित्व, पदप्रतिष्ठा र पैसाका लागि जस्तोसुकै गलत र नैतिक पतन हुने काम गर्न पनि लाज नमान्ने व्यक्ति थिए ।
देवकुमार बागलुङ जिल्लाको साविकको बुर्तिबाङ गाविस वडा नं. ३ मा जन्मिएका व्यक्ति हुन् । बहुदल आएपछि सुरुमा उनी राष्ट्रिय जनमोर्चामा रहेर अनुशासन पालन गर्न नसकेपछि पार्टीबाट बाहिरिए । माओवादीको द्वन्द्वकालको अन्त्यतिर उनी नेकपा (माओवादी) मा प्रवेश गरेर केही सम्पत्तिलाभ गर्न सफल पनि भए । उनले सुरुमा बुर्तिबाङबजारमा एउटा सामान्य कपडाको फेन्सी पसल गर्दथे । मुस्किलले गुजारा चलाएका थिए । कहिलेकाहि प्रहरी र आर्मीको रासन ठेक्कापट्टा गर्दथे ।
यसै क्रममा उनले बुर्तिबाङमा रहेको ढारबराह सहकारी संस्थामा रहेको आर्थिक हिनामिना गरी संस्था अस्तव्यस्त पारेपछि सो संस्था चल्न नसकेर विघटन हुने स्थितिमा पुर्याएर विघटन नै गराएका थिए भने नेपाल बैङ्क लिमिटेडको बुर्तिबाङ शाखाका व्यवस्थापक र उनीबिच अवैध र आर्थिक लेनदेनमा उनको आफ्नो पुँजीभन्दा बढी रकम ऋणस्वरूप लिई नियतवश नतिरी बैङ्क ठगी लिलाम भएका थिए भने अर्कोतिर, गाउँका गरिब किसानलाई गलत भ्रममा पारी उनीहरूको जग्गाधनी लालपुर्जा लिई कृषि विकास बैङ्कमा धरौटी राखी रकम निकासा गरी आफ्नो व्यक्तिगत प्रयोजनमा खर्चिएर पछि बैङ्कको ऋण नतिरी गाउँका गरिब किसानको नाममा बैङ्कले लिलाम भएको सूचना प्रकाशन गरी ती जनताको उठिबास लगाउने कार्य गराएका थिए । यसका साथै हरेक व्यक्ति जो सोझो र इमान्दार छ, उसबाट पछि फिर्ता गर्छ भनी रकम लिने तर फिर्ता नगर्ने कार्य व्यापक भएको थियो ।
यस्ता गलत सोच भएका भ्रष्ट र ठगिधन्दामा लागेका व्यक्तिलाई आर्थिक चलखेलको आधारमा नेकपा (एमाले) ले पार्र्टीप्रवेश गराई उम्मेदवार बनाउनमा तत्कालीन नेकपा (एमाले) को जिल्ला समिति, ढोरपाटन नगर समिति, गण्डकी प्रदेशको नेकपा (एमाले) को सिङ्गो कमिटी विशेष गरेर पृथ्वीसुब्वा गुरुङ र सोही लबीको केन्द्रका एमाले नेतृत्व सहभागी थिए । जनताको पिछडिएको चेतना, आर्थिक अपचलन र गलत भ्रम फिजाएर देवकुमार नेपालीले नेकपा (एमाले) को तर्फबाट निर्वाचन जित्न पनि सफल भए । नेकपा (एमाले) लगायत केही अवसरवादीहरू उनका पछाडि निकै लावालस्कर लागेर हिँडे । देवकुमार कुनै विधिविधानभन्दा पनि आफ्नो स्वविवेकअनुसार अगाडि बढ्थे तर ढोरपाटनका एमालेलगायत केही अवसरवादीहरू देवकुमारको देवत्व गहण गर्न थाले । पार्टीभन्दा व्यक्तिपूजा गरेर नगरपालिकामा हुने सम्पूर्ण आर्थिक अपचलन गरी व्यक्तिगत फाइदाका लागि लावालस्कर लाग्न थाले । उनले नेपाल सरकारको नियम विपरीत आर्थिक गतिविधि गर्न थाले । आफूलाई समर्थन र देवत्व ग्रहण गर्ने व्यक्तिलाई बिनाहिसाबकिताब नगरपालिकाको रकम वितरण गर्ने कार्य तीव्र भयो ।
यसको राष्ट्रिय जनमोर्चाले निरन्तर र अग्रस्थानमा रहेर व्यापक, विरोध र भण्डाफोर गर्ने कार्य गर्नुका साथै देवकुमार र एमालेको गलत भ्रममा नलाग्न र गलत क्रियाकलापको भण्डाफोर र विरोध गर्ने यस क्षेत्रका जनतालाई आह्वान गर्यो तर गधालाई जति धोए पनि गोरु बन्दैन भने झैँ नेकपा (एमाले) एउटा अत्यन्तै अवसरवादी, भ्रष्ट र बेथितिमा रमाएर जनतालाई ठग्ने पार्टीको रूपमा परिणत भएका कारण देवकुमार जस्तो हजारौँ आफ्ना कार्यकर्तालाई कारबाही गर्नुको सट्टा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रबल जनसेवाश्री नेपाल पदकबाट सम्मानित गर्ने काम भएको थियो भने नेकपा एमालेको केन्द्रीय नेतृत्व, मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीको समेत देवकुमारसँग बाक्लो हिमचिम हुन्थ्यो । यसले के देखाउँछ भने नेकपा (एमाले) एउटा भ्रष्ट र अवसरवादी पार्टी हो ।
यस्ता अनेकौँ प्रकारका भ्रष्ट गतिविधि गरी देवकुमारको पाँच वर्ष बित्यो । फेरि २०७९ सालको स्थानीय चुनावमा पनि नेकपा (एमाले) ले उनै देवकुमारलाई उम्मेदवार बनाई आर्थिक चलखेलको आधारमा ढोरपाटन नगरपालिकाको प्रमुखमा जिताउन सफल भयो ।
यसपटक भने राष्ट्रिय जनमोर्चाले उठाउँदै आएको नेकपा (एमाले) र देवकुमारको गलत र भ्रष्ट गतिविधिका विरुद्धको कार्यमा अरू केही दल पनि सहमत थिए । यसको विरुद्ध जनताबाट पनि विरोध आउन थालेको थियो ।
देवकुमारको सम्बन्ध तिब्बती शरणार्थीसँग अलि नजिक थियो किनभने उनले दुईओटा विवाह गरेका थिए । पहिलो पत्नीबाट दुईओटा छोरा जन्मेपछि उनलाई छोडी तिब्बती शरणार्थीकी छोरी छेला गुरुङसँग देवकुमारले विवाह गरेका थिए । यिनैको कारण उनी तिब्बती शरणार्थीसँग नजिकिएका थिए । त्यस क्रममा यिनीसँग मिली एउटा इमेज सहकारी संस्था सञ्चालन गरेका थिए ।
यो संस्था गण्डकी प्रदेश, कास्की जिल्लाको पोखरामा, बागलुङ, जिल्लाको बागलुङ बजारमा, गल्कोट नगरपालिकाको हटिया बजारमा, बागलुङ जिल्लाकै ढोरपाटन पालिकाको बुर्तिवाङ बजारमा कार्यालय खोली सञ्चालनमा थियो । यो इमेज सहकारी संस्था सञ्चालन गर्नुको उनको (देवकुमार) र नेकपा (एमाले) को जनतालाई ठगी गर्ने नियतवश सञ्चालन गरेका थिए । उनीहरूले आफ्नो संस्थामा रकम बचत गर्ने वचतकर्तालाई सयकडा अठार प्रतिशत ब्याज दिने ठाउँमा प्रचार प्रसार गर्न लगाएका थिए ।
यसले के बताउँछ भने जुन व्यक्ति वा संस्थाले अरूबाट विभिन्न बहाना बनाएर फिर्ता नगर्ने गरी रकम जम्मा गर्दै उसले पहिले एउटा प्रपन्च रचेर भ्रम फैलाउँछ भने जस्तै देवकुमार र उनको पार्टीले पनि निम्न चेतना भएका जनतालाई आफ्नो संस्थामा जति धेरै बचत गर्दछन्, उति धेरै ब्याज दिने भ्रम फैलाए किनभने सावा नतिर्ने नियत भएकाले ब्याजको मात्र कुरा गरेर जनतालाई गलत लोभ र आशामा फसाउन सफल भएका थिए । कमजोर चेतनास्तर र निम्न पुँजीवादी सोचाइ भएका सामान्य व्यक्ति, बिदेसिएका व्यक्ति, व्यापारी र अन्य मान्छेले नेकपा (एमाले) र देवकुमारको मिलेमतोमा जनतामाथि रचिएको षड्यन्त्रकारी जालोमा बागलुङ र कास्कीका करिब तीन हजारभन्दा बढी व्यक्ति फस्सिए ।
अहिले कास्की र बागलुङबाट देखिएको मात्र करिब तीन अर्बभन्दा बढी रकम अपचलन गरी २०८० जेठ ३ गतेदेखि देवकुमार र उनको परिवार, व्यवस्थापक र अन्य सञ्चालकसमेत फरार भएको कुरा जतासुकै छ्याप्छ्याप्ती भएको छ र अहिलेसम्म पनि वचतकर्ताले आफ्नो रकम पाउने/नपाउने कुनै ठेगान छैन ।
आज आफ्नो दलबाट दुई दुईपटक नगरप्रमुखमा जिताएर राज्यप्रमुखको जिम्मेवारीमा पुर्याउने सिङ्गो एमालेले देवकुमारले गरेको ठगिधन्दाको बारेमा र नगरपालिकालाई अस्तव्यस्त बनाएकोबारेमा मुख नखोली मौन समर्थन गरिरहेको छ । यो कुराको जिम्मेवारी एमालेले लिनुपर्ने कि नपर्ने ? खाने र अपचलन गर्ने बेलामा जनताले विरोध गर्दा भुतिस्ध्रेसहित चोकमा आएर रेस्लिङ खेल्न आह्वान गर्ने दोर्जेहरू कहाँ लुके ? आज त्यसको उत्तर वचतकर्ता र ढोरपाटन नगरपालिकाका जनतालाई दिनुपर्दैन ? ढोरपाटन नगरपालिका र सिङ्गो देशभरिका एमालेको कर्तव्य यस्तै ठगी र अपराधीको संरक्षण गर्नुबाहेक अरू केही नीति, थिति, विधिविधान छैन र ?
अझ अचम्मको कुरा, देवकुमारको कर्तुतलाई ढाकछोप पारी सोझा वचतकर्तालाई ठग्नका लागि वचतपीडितका लागि आन्दोलन गर्न भनी सङ्घर्ष समिति गठन गरी त्यसको संयोजकसमेत एमालेनिकट जिम्मेवार व्यक्ति बनेका छन् । जसको इमेज वचत तथा सहकारी संस्थामा कुनै पनि प्रकारको रकम छैन, उसैले नाटक गरी आन्दोलनको अगुवाइ गरेको देखिन्छ । यसले “जो अगुवा उही भगुवा” भन्ने उखानको उजागर गर्दैन र ? यो एउटा नाटकबाहेक केही हैन । जसले आज सङ्घर्ष समितिको नेतृत्व गरेको छ, ती प्राय: एमालेनिकट र एमालेकै सेटिङमा खर्चपर्चसहित देवकुमार बचाउने खेलमा नलागेको भन्ने आधार के छ ?
तसर्थ अहिले इमेज सहकारीको रकम अपचलन गर्ने देवकुमार मात्र नभएर नेकपा (एमाले) ढोरपाटन नगर कमिटी, जिल्ला कमिटी र सिङ्गो केन्द्रीय समिति पनि यसमा सहभागी भएको देखिन्छ । यदि यसो होइन भने यस्तो प्रकारको ठगिधन्दामा लागेको व्यक्तिलाई आर्थिक चलखेलको आधारमा पार्टीप्रवेश गराई दुई दुईपटक एमालेबाट नगरप्रमुख बनाउनुको कारण एमालेले सम्पूर्ण वचतपीडित र ढोरपाटन नगरपालिकाका जनतालाई दिनपर्दैन ?