ग्वाटेमाला सिटी । ग्वाटेमालाका एक जना प्रभावशाली नेताको दिनदहाडै पत्नीसहित हत्या भएको छ ।
राष्ट्रपति निर्वाचित पार्टीका राजनीतिज्ञ अनिबल रामिरेजलाई बिहीबार मेक्सिकोको सीमानजिकै गोली हानेर हत्या गरिएको उनको पार्टी र स्थानीय सञ्चार माध्यमले जनाएका हो ।
राष्ट्रपति निर्वाचित बर्नार्डो अरेभालोको सेमिल्ला (सिड) पार्टीका लागि पश्चिमी सहर सान पेड्रो नेक्टाका पूर्व उम्मेदवार रामिरेज र उनकी पत्नी मर्सी मोरालेसलाई कामको सिलसिलामा पिकअप भ्यानमा गइरहेका बोल गोली हानेर मारिएको सीडले जनाएको छ ।
नेता रामिरेज आफ्नो समुदायलाई रूपान्तरण गर्न प्रतिबद्ध रहेका तथा सधैँ भ्रष्टाचारको निन्दामा उत्रिएकाले उनीसहित उनकी पत्नी मर्सीको हत्या भएको सिडले बताएको छ । उक्त पार्टीले हत्याका दोषीलाई कारबाही गर्न माग गरेको छ ।
सिडका नेता अरेभालोले गत महिना अप्रत्याशित रूपमा राष्ट्रपति पदको चुनाव जितेपछि ग्वाटेमालाका अधिकारीहरूले बारम्बार उनी र उनको पार्टी विरुद्ध कारबाही गर्न कानुनी माध्यम प्रयोग गर्दै आएका छन् भने विपक्षी तथा माफियाले हिंसाको बाटोसमेत अँगालेका छन् । (रासस/एएफपी)