काठमाडौँ । केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा बैदेसिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए । गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न आइएलटिएस सर्टिफिकेट र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनू भनी पटक पटक ह्वाट्सएपबाट माग गरे । पीडितले कागजात पठाए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उरीक्षक रवीन्द्र रेग्मीले भन्नुभयो– “उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरूका नाममा रहेको बैङ्क खातामा पैसा मागेको पनि भेटियो ।”
उहाँका अनुसार त्यस घटनामा कास्कीका लक्ष्मण नेपाली र सप्तरीका महावीरप्रसाद साह संलग्न भएको पाइयो । उनीहरू अहिले कानुनी कारबाहीको दायरामा छन् ।
दुई दिनअघि मात्रै क्यानडा जाने लोभमा पर्दा भूमिराज राईले रु ११ लाख गुमाउनुभयो । आफू ठगिएको थाहा पाएपछि परेको उजुरीका आधारमा क्यानडा पठाइदिन्छु भनी झन्डै रु ११ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार सेक्युरिटी गार्डमा काम लगाइदिने र त्यसबापत मासिक रु दुई लाख तलब हुने लोभ देखाएर ठगी गरिएको थियो ।
त्यस्तै, घटना पीडित आशामाया लामालाई बैदेसिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिन्छु भनी ठगी गरेकी काठमाडौँको सामाखुसी बस्ने ५० वर्षीय केशरी श्रेष्ठ पक्राउ परेकी छन् ।
यी घटना पछिल्ला एक साताका हुन् । यस्ता घटना दिनप्रतिदिन बढिरहेको प्रहरीको अभिलेखले देखाएको छ । सर्बिया, मलेसिया, क्यानडा, टर्की, अमेरिका, बेलायतलगायत देशमा पठाइदिने भनी यसरी रकम ठगी गर्ने गिरो सक्रिय भइरहेका छन् । बैदेसिक रोजगारीका नाममा सर्वसाधारण नागरिक ठगी हुने क्रम बढेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मानिसहरू छिटो पैसा कमाउने लोभमा फस्दा लाखौँ रकम डुब्ने गरेको पाइएको हो ।
प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायत पछिल्ला समयमा वैैदेशिक रोजगारीका नाममा दैनिकजसो नै मानिस ठगिएका घटना देखिएको बताउनुहुन्छ । उहाँले यो क्रम विगतका वर्षभन्दा बढ्दो क्रममा रहेको देखिएको बताउनुभयो ।
अनलाइन तथा बैदेसिक रोजगारीका नाममा हुने ठगी अत्यधिक रूपमा बढिरहहँदा त्यतिकै सुरक्षा चुनौती पनि थपिएको प्रहरीको निष्कर्ष छ । यसतर्फ प्रथमत: नागरिक आफैँ सचेत हुनुपर्नेमा जोड दिइएको छ । (रासस)