काठमाडौं । बाँकेको राप्ति सोनारी गाउँपालिका ८ शमशेरगन्जस्थित जंगलमा बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका छन् ।
गएराति करिब साढे ९ बजे रोकिराखेको ना ८ ख ६४०५ ट्रकसँग तीव्र गतिमा रहेको ना ७ ख २३२१ नम्बरको भ्रमणको बस ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बाँके प्रहरीका अअनुसार बर्दियाको ठाकुरबाबा नगरपालिका ९ को बेतनी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता सवार बस दुर्घटनामा परेको हो । बसमा ४१ जना सवार थिए।
दुर्घटनामा ठाकुरबाबा नगरपालि ८ घर भएका बस चालक ४५ वर्षीय जोग बहादुर चन्द, बर्दियाको ठाकुरबाबा नगरपालिका ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु र ७० वर्षीय चानुराम थारुको मृत्यु भएको छ।
यस्तै, नाम नखुलेका अन्दाजी ३५ वर्षीय सहचालकको पनि दुर्घटनामा मृत्यु भएको छ।
घाइते चारजनाको नर्सिहोम नेपालगञ्ज र बाँकी सबै घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।