काठमाडौं । ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालिन कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठग बहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्खास्त डीएसपी केसीविरुद्ध १८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।
केसीले बुटवल उपमहानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिई गई सुन फिर्ता गर्नको लागि रकम माग गरेका थिए। सो सूचनाका आधारमा केसीको निवास खानतलासी गर्दा नगदसहित सुन बरामद भएको थियो।
केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाईन्ट सुन लिई गई १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई आफैंले सुन जिम्मा लगाएको कागज गर्न लगाई सुन फिर्ता नदिई सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत मोलमोलाई गरी नगद रु ८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजार रुपैयाँको चेकसमेत गरी जम्मा १८ लाख रुपैयाँ घुस रिसवत लिन लगाई सुन फिर्ता दिन जिम्मा लगाएको पुष्टि भएको अख्तियारले जनाएको छ।
निज ठग बहादुर केसीले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१० को कसुरमा बिगो १८ लाख रुपैयाँ कायम गरी बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप) पत्र दायर गरिएको हो।