भैरवराज रेग्मी ##
सर्वप्रथम सैँतिसौँ स्मृतिदिवसको अवसरमा क. सरोज शर्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एक मिनट मौनधारण गर्दछु । उहाँलाई सम्झिँदा कम्युनिस्ट पार्टी र आन्दोलनप्रति बढी दृढ विश्वास र अझ अगाडि बढ्ने प्रेरणा मिल्दछ ।
उहाँमा नाटकीय स्वभाव थिएन । उहाँ अत्यन्त सरल, मृदुभाषी, सर्वहारा चरित्र अँगालेको व्यक्तित्व हुनुहुन्थ्यो । पुँजीवादी समाजले उहाँलाई लुरे, व्यक्तित्वहीन र उहाँको सादगी जीवनप्रति घृणा गर्दथ्यो । त्यो घृणाभन्दा धेरै पर उहाँमा कम्युनिस्ट पार्टीप्रति दृढ विश्वास थियो । नेपालमा नयाँ जनवाद/समाजवाद ल्याउन निजी जीवन र निजी जीवनशैली त्यागेर उहाँ क्रान्तिको बाटोमा हिँडिरहनुभएको थियो । त्यो बाटोमा हिँड्दाहिँड्दै दिल्लीमा दुर्घटनामा पर्नुभयो । त्यो दुर्घटना थियो वा हत्या ? तर नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले सहिद घोषणा गर्यो ।
उहाँ नेपालको राजतन्त्र फाल्न रामराजा प्रसाद सिंहको पार्टीमा हुनुहुन्थ्यो । त्यसैले त्यस बेलाको राजतन्त्रले उहाँलाई मार्ने योजना बनाएको थियो । त्यसैले उहाँको त्यो दुर्घटना मात्रै होइन भन्ने नेपाली कम्युनिस्ट आन्दोलनमा बहस चलिरहने छ ।
रामराजा प्रसाद सिंहको प्रकट रूपमा राजतन्त्र फ्याक्ने उद्देश्य भएता पनि भारतीय साम्राज्यवादको इसारामा चलिरहेको महसुस गरेपछि उहाँ कम्युनिस्ट आन्दोलनमा लाग्नुभयो र सर्वहारा विश्वदृष्टिकोण अपनाएर दृढविश्वासका साथ अघि बढ्नुभयो ।
अहिले प्रकट रूपमा कम्युनिस्ट पार्टीमा लागेका मानिसहरू आफूलाई ‘कम्युनिस्ट’ भन्दछन् । कम्युनिस्ट पार्टीमा लाग्नु भनेको सर्वहारा विश्वदृष्टिकोण अँगाल्नु हो । अहिलेको यो समाज पुँजीवादी समाज हो । पुँजीवादी समाजले पुँजी जम्मा गर्ने, त्यो पुँजीले आफ्नो जीवन निर्वाह गर्ने, भावी सन्ततिलाई पनि जीवननिर्वाहका लागि यही प्रकारको जीवनवृत्ति अँगाल्ने, दैनिक जीवनलाई पुँजीवादी जीवनवृत्तका रूपमा अँगाल्ने निर्देशन दिन्छ । सर्वहारा विश्वदृष्टिकोण भनेको सामूहिक जीवन प्रणाली र सर्वहारा जीवनशैली हो । आफ्ना सन्ततिको जीवनको ग्यारेन्टी गर्ने भनेको नयाँ जनवादी/समाजवादी व्यवस्थाको स्थापनाका लागि सम्पूर्ण जीवनवृत्ति त्यसैमा होमिदिने, सर्वहारा संस्कृति, सर्वहारा जीवनशैली, सर्वहारा व्यवहार, पुँजीवादी जीवनशैलीप्रति घृणा, सर्वहारा जीवनशैलीप्रति सम्मान र प्रतिष्ठाको जीवनशैली अपनाउने हो । त्यसरी सर्वहारा विश्वदृष्टिकोण अपनाएको छु भन्नेहरूले पूरै पुँजीवादी शैलीमा आफूलाई ढालिरहेका हुन्छन् ।
जीवन र प्रेम, परिवार र समाजको सन्दर्भमा पुँजीवादलाई उत्कृष्ट ठान्दै आफूलाई कम्युनिस्ट हुँ भन्दै हिँड्ने चरित्र सर्वहारा विश्वदृष्टिकोणभित्र पर्दैन । क. सरोज शर्मले घरपरिवार, मायाप्रेम, निजी सम्पत्ति सबै विषयमा विश्व सर्वहारा दृष्टिकोण अपनाएर हिँडेका थिए । सम्पूर्ण जीवन लुरे, झुत्रे, सर्वहाराको रूपमा आफ्नो जीवनलाई अँगालेका थिए ।
अर्को जीवनको महत्त्वपूर्ण पक्ष भनेको पुँजीवादी नैतिकता विपरीत क. सरोज शर्माले सर्वहारा नैतिकता अँगालेका थिए । राजनैतिक जीवनमा पत्रिका प्रकाशित गर्दै हिँडेका क. सरोज शर्मा आफ्नो पत्रिकाको निजी स्वामित्व पार्टीलाई हस्तान्तरण गरे । त्यस प्रकारको नैतिकताको ख्यालसम्म नराख्ने तत्त्वहरूले त्यसमाथि हमला बोल्दै व्यक्तिगत स्वामित्व कायम गरी पार्टीलाई टुटफुट गराए । यस्ता तत्त्वले उक्त पत्रिकालाई क्रान्तिकारी लाइनबाट विसर्जन गराउन पुगे ।
क. सरोज शर्मासँग आफूले लेखेका ठुला ठुला किताबका ठेली छैनन् । दार्शनिक विश्लेषण गरेका आफ्ना पुस्तकहरू छैनन् । काङ्ग्रेसमा लाग्दा होस् वा कम्युनिस्ट पार्टीमा आउँदा होस्, उनी सर्वहारा नैतिकवान् व्यक्तित्व थिए ।
विचारले जीवनशैली निर्माण गर्दछ । त्यो विचारअनुसार जीवनशैलीलाई व्यवहारमा उतार्ने व्यक्तिलाई समाजले उच्च सम्मान गर्दछ र गर्नुपर्दछ । क. सरोज शर्माबाट प्राप्त हुने ऊर्जा हाम्रा लागि यही नै हो ।
आजकल सहिदप्रति ‘ठुलो राजनीति’ हुने गरेको छ । सहिदलाई एक मिनट मौनधारण गरिँदैमा, सहिदको सालिक बनाउँदैमा वा सहिदको नाममा प्रतिष्ठान बनाएर व्यापार गर्दैमा सहिदप्रति वास्तविक सम्मान हुँदैन । यो राजनीतिले हामीलाई पनि कता कता छोइरहेछ ।
ती सहिद, जसले आफ्नो अमूल्य जीवन आहुति दिए, तिनले लिएको विचारअनुसार समाज निर्माण गर्न अग्रसर हुने कि ती सहिदको खेती गरेर व्यापार गर्ने ? सर्वप्रथमत ती सहिदलाई सम्झना गर्ने हो भने सामन्ती, पुँजीवादी समाजका विरुद्ध घृणा जागृत गराउनुपर्दछ । पुँजीवादी जीवनशैली नै अँगाल्ने होइन, त्यो घृणाले सर्वहारा वर्गको मुक्तिको बाटोको जीवनशैली अपनाउनुपर्दछ । निजी विचार, निजी सम्पत्ति, सन्ततिको जीवनवृत्तिको ग्यारेन्टीको विपरीत नयाँ जनवादी/समाजवादी व्यवस्था स्थापना गर्ने बाटोमा अघि बढ्नुपर्छ, ताकि आफ्ना सन्तति मात्र होइन, सम्पूर्ण सर्वहारा वर्गको मुक्तिको बाटोप्रति विश्वास बढाउन सकोस् ।
पुँजीवाद–साम्राज्यवादले मानव समाजलाई ध्वस्त र संहार गरिरहेको छ । जसले मानव समाजलाई संहार र ध्वस्त बनाइरहेको छ, त्यही पुँजीवादी जीवनशैली अपनाएर हाम्रा सन्ततिको जीवन कसरी ग्यारेन्टी हुन सक्छ ?

विचारमा एक्लो भइएला तर सर्वहारा दृष्टिकोणको बिजारोपणले करोडौँ बिरुवाहरू जन्मन्छन् भन्ने सत्यतालाई हामी आफैले अबुझ बनाइरहेका छौँ । माक्र्स, एङ्गेल्सले पुँजीवादी जीवनशैलीलाई त्यागेर सर्वहारा जीवनशैली अपनाए । माक्र्सले आफ्नो छोराको उपचार नपाएर मर्नुपर्यो । आफ्नो जन्मभूमिबाट निर्वासित हुनुपर्यो तर आफूले त्यागेको पुँजीवादी जीवनशैलीलाई घृणा नै गरिरहे । आफ्नो सर्वहारा जीवनलाई सम्मानपूर्वक अँगालिरहे । सर्वहारा विश्वदृष्टिकोणका कारणले उनको विचार, सिद्धान्तले मानव समाजलाई ध्वस्त होइन, संरक्षण र विकासको बाटो देखाइरहेको छ ।
आफ्नो घरपरिवारभित्र पुँजीवाद छ । टोलछिमेकमा पुँजीवाद छ । हरेक क्षेत्रमा पैसाको बोलवाला छ । नाफाको बोलवाला छ । साम्राज्यवाद आफै उदारवादतर्फ फड्को मारिरहेको छ । त्यो पनि असफलताको दिशातिर अग्रसर भइसकेपछि नवउदारवादबाट फड्केर मानव समाजको सामूहिकतातिर होइन, आफ्ना मन र दिमागलाई केन्द्रविन्दु बनाएर सम्पूर्ण मानव चिन्तनलाई अराजकतातिर धकेल्दै मानव समाज ध्वस्त बनाउँदै छ ।
पुँजीवादले आफ्नो जीवनसँगी, पतिपत्नी भन्दैन; छोराछोरी भन्दैन; बाउ भन्दैन; आमा भन्दैन; छिमेकी भन्दैन; टोलसमाज भन्दैन; आफ्नोअर्का भन्दैन । त्यति मात्र कहाँ हो र ? मानिसको शरीरमा चिप्स टसाएर प्रत्येक व्यक्ति गुगलको नियन्त्रणमा राख्ने प्रपञ्च थालिसकेको छ अनि हामी त्यसैमा रमाउँदै वाह ! भन्दै हिँडिरहन्छौँ । विज्ञानको चमत्कार भन्दै छौँ । अनि हामी बिर्सदै गएका छौँ, सामूहिक परिवार, सामूहिक समाज । त्यसपछि हामी नयाँ जनवाद/समाजवादमा संशोधन हाल्छौँ । पुँजीवाद मिसाउँछौँ । जनवादी केन्द्रीयतामा तानाशाही देख्छौँ । जनवादी केन्द्रीयताभित्र व्यक्तिको भूमिका र स्वतन्त्रता खोज्छौँ अनि पार्टी फोर्छौं; समाजवादप्रति घृणा फैलाउँछौँ । पार्टी फोरेर सत्तामा जाने व्यापार गर्न थाल्छौँ । त्यसपछि पनि नारा लाउन छा्ड्दैनौँ : कम्युनिस्ट जिन्दावाद ! समाजवाद जिन्दावाद !
क. सरोज शर्मालाई धेरैले एक मिनट मौनधारण गर्लान्; श्रद्धाञ्जली देलान्† गुगलको नेटवर्कमा श्रद्धाञ्जलीको व्यापार गर्लान् तर पुँजीवादी जीवनशैलीलाई घृणा गर्दै सर्वहारा जीवनलाई आत्मसात गरेर हिँड्ने बाटोलाई अहिलेदेखि नै किन आत्मसात नगर्ने ? तपाईंहामी हाम्रा सन्ततिलाई जीवनवृत्तको थोरै ग्यारेन्टी गरेता पनि त्यो सन्ततिलाई त्यसले पुग्ने छैन किनकि त्यो सन्तति पनि पुँजीवादले हामीलाई जस्तै ध्वस्त बनाउँछ ? त्यसो हो भने किन हाम्रो अमूल्य जीवनलाई सर्वहाराकरण गरेर जनवाद/समाजवाद ल्याउन अघि नसर्ने ? जनवाद र समाजवादको माला जप्दैमा सर्वहारा विश्वदृष्टिकोण अँगालेको भइँदैन, आफूलाई सर्वहारा विश्वदृष्टिकोणमै ढाल्नुपर्दछ ।
क. सरोज शर्मापूति भावपूर्ण श्रद्धाञ्जली ।