काठमाडौं । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि नेतृत्व पाउँदैछन् । संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि गठन भएको प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिको चयन हुन लागेको हो ।
विषयगत समितिका रुपमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति छ ।
त्यस्तै महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति प्रतिनिधिसभा मातहतका संसदीय समिति हुन् । आज दिउँसो ३ बजे बस्ने बैठकले ती समितिको सभापति चयन गर्नेछ ।
ती समितिका सभापति पदका लागि आइतबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । दस संसदीय समिति सभापतिका लागि ११ जनाको उम्मेदवारी परेको छ ।
दसमध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेका छन् भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेका छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी छ।
अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादवको उम्मेदवारी परेको छ। कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी परेको छ।
त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेलको उम्मेदवारी दर्ता भएको सचिवालयले जनाएको छ। रासस