ढाका । सुरक्षित रूपमा स्वदेश फिर्तीको माग गर्दै बङ्गलादेशमा शरणार्थी जीवन बिताइरहेका रोहिङ्ग्या शरणार्थीले जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन् ।
हजारौँ रोहिङ्ग्या शरणार्थीले आफूहरूमाथि भएको अमानवीय हिंसाको छैटौँ वार्षिकीमा अगस्त २५, २०२३ का दिन बङ्गलादेशका विभिन्न शिविरमा विरोध प्रदर्शन गरेका हुन् ।
बङ्गलादेशले राज्यविहीन अल्पसङ्ख्यकका १० लाख रोहिङ्ग्यालाई शरण दिएको छ । सन् २०१७ मा म्यान्मारमा भएको सैनिक कारबाहीबाट भागेका शरणार्थीले अन्तर्राष्ट्रिय फौजदारी अदालतले नरसंहारका दोषीलाई कारबाही गर्नुपर्ने माग पनि गरेका छन् । उक्त अदालतले म्यान्मारले गरेका अपराधको अनुसन्धानको अध्ययन गरिरहेको छ ।
यति बेला रोहिङ्ग्या शरणार्थी बस्तीमा व्यापक अराजकता छाएको छ भने अन्तरराष्ट्रिय मानवीय सहायता पनि कटौति भएको छ ।
शरणार्थीलाई स्वदेश फर्काउने सहमति नहुँदा उनीहरूमा चरम निराशा छाएको छ । बजेट कटौतीले राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम पर्याप्त खाद्यान्न उपलब्ध गराउन सकेको छैन । प्रतिमहिना एक जना शरणार्थीलाई रु एक हजार बराबरको खाद्य सहयोग उपलब्ध भएको छ ।
‘हामी म्यान्मार फिर्तीको माग गर्छौँ । हाम्रो यो माग नयाँ होइन । हामी म्यान्मारका नागरिक थियौँ र हौँ । उनीहरू विस्तारै म्यान्मारको इतिहासबाट हाम्रो नाम मेटाउन खोजिरहेका छन्’ रोहिङ्ग्या समुदायका नेता कमल हुसेनले भनेका छन् ।
शरणार्थी शिविरको सुरक्षामा खटिएका एक जना सुरक्षा अधिकारीका अनुसार वर्षाका बाबजुद करिब दस हजार शरणार्थी विरोध प्रदर्शनमा सहभागी भएका थिए ।
विश्वको सबैभन्दा ठुलो शरणार्थी समस्या बनेको रोहिङ्ग्या शिविरमा मानवीय अवस्था बिग्रँदै गएको छ । बेला बेलामा शिविरमा हुने झडपमा महिला र बालबालिकासहित दर्जनौँ मारिएका छन् ।
बङ्गलादेश र म्यान्माले रोहिङ्ग्यालाई घर फर्काउने योजनामा काम गरिरहेका बताइए पनि मावनअधिकारवादी समूहले उनीहरूको स्वदेश फिर्ती सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शरणार्थीसम्बन्धी आयुक्तको कार्यालयले म्यान्मारका अधिकारीसँग छलफल जारी रहेको बताएको छ । (रासस एएफपी)