प्रा.डा. श्रीधर गौतम ##
सोभियत सङ्घका नेता जोसेफ स्टालिनको अन्तर्राष्ट्रिय राजनेताको व्यक्तित्वको सम्बन्धमा थुप्रै विवादास्पद भनाइ पाइन्छन् । कतिपय इतिहासकारको भनाइमा स्टालिन सोभियत सङ्घको आर्थिक विकास र राजनैतिक सुदृढीकरणमा यति व्यस्त थिए कि उनलाई अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा सोच्ने फुर्सद नै थिएन । कतिपयले त उनलाई अन्तर्राष्ट्रिय सम्बन्धबारे खासै जानकारी नभएको व्यक्ति पनि भनेका छन् । एउटा सिङ्गो देशमा समाजवाद निर्माणमा लागेका उनलाई संसारका अन्य देशमा भएका घटनाप्रति उति चासो नभएको पनि भन्छन् । एउटा धारणा के पाइन्छ भने उनी र सोभियत कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यलाई संसारभरि समाजवादी क्रान्ति ल्याउनेभन्दा पनि आफ्नै देशमा समाजवादलाई सुदृढीकरणतर्फ लैजानेमा बढी चिन्ता भएकाले अन्तर्राष्ट्रिय विषयलाई उनीहरूले पर्याप्त ध्यान दिएनन् । यही आरोप स्टालिनका विरोधी कम्युनिस्ट नेताहरू अर्थात् ट्रोटस्की र बुखारिनले पनि लगाएका थिए ।
यो कुरा सत्य हो कि स्टालिनको मुख्य जोड सोभियत समाजवादलई बलियो बनाउनमा थियो तर उनले अन्तर्राष्ट्रिय विषयलाई पूर्ण रूपमा उपेक्षा गरेका थिए भन्ने कुरा सत्य होइन भन्ने सम्बन्धमा पर्याप्त प्रमाण पाइन्छन् ।
उनले लेनिनको पालादेखि नै अर्थात् सन् १९२० को दसकदेखि अन्तर्राष्ट्रिय विषयलाई राम्ररी बुझ्ने र हेर्ने गरेका थिए र सोभियत सङ्घको बाहिरी सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धको बिचको महत्त्वलाई उनले बुझेका थिए । अक्टोबर क्रान्तिपछिको गृहयुद्धमा उनले काकस क्षेत्र र बाल्टिक क्षेत्रको नीति सम्बन्धमा आफै उत्तरदायित्व लिएका थिए । सोभियत क्रान्तिलाई असफल बनाउन बाहिरी अर्थात् अमेरिकालगायत पश्चिमी देशहरूले हस्तक्षेप सुरु गरेपछि स्टालिनले लेनिनसँग समाजवादी संरचनाअन्तर्गत युरोपको भविष्यको सम्बन्धमा छलफल गरेका थिए । लालसेनाको पोल्यान्डमा भएको कारबाही सोभियत सङ्घका सीमावर्ती देश अर्थात् तुर्की र अफगानिस्तान जस्ता देशमा उनले सोभियत सङ्घको प्रभाव बढाउने सम्बन्धमा लेनिनकै पालामा छलफल गरेका थिए । लेनिनको मृत्युपछि नयाँ आर्थिक नीति लागु गर्ने सम्बन्धमा केवल प्रशासनिक कार्यमा नलागी उनले पोलिटब्युरोको बैठकमा ब्रिटेन, जर्मनी र चीनको सम्बन्धमा लिइने निर्णयमा आफै सक्रिय हुने गर्थे ।
यद्यपि विदेशनीतिसम्बन्धी प्रमुख कार्य विदेश मामिला हेर्ने कमिसारको जिम्मामा हुन्थ्यो । उनले त्यति बेला विश्वव्यापी रूपमा चिनिएका बुल्गारियन कम्युनिस्ट जी. डिभिररोभलाई कमिन्टर्नसम्बन्धी विषय हेर्ने जिम्मा दिएका थिए । पोलिटब्युरोले विदेशनीति सम्बन्धमा लिने निर्णय उनको जानकारीबिना हुँदैनथ्यो । क्रमश: सोभियत सैनिक शक्ति बढ्दै थियो र प्रत्येक वर्ष मेदिवसमा हुने परेडमा त्यो शक्ति झल्किन्थ्यो र अब सोभियत सङ्घ युरोप र एसियाको महत्त्वपूर्ण शक्तिको रूपमा माथि आइसकेको भन्ने बुझिन्थ्यो ।
उनी विदेशनीतिलाई माक्र्सवाद र लेनिनवादको परिप्रेक्ष्यबाट हेर्थे र सोभियत सङ्घको विदेशनीति स्वार्थमा आधारित थियो भन्ने आरोपको खण्डन गर्थे । उनी लेनिनले भनेका कुरामाथि पूर्ण विश्वास राख्थे र लेनिनले भने झैँ पुँजीवाद रहेसम्म साम्राज्यवादी युद्ध पटक पटक हुने गर्छन् भन्ने कुरामा सचेत थिए । लेनिनले भने झैँ आर्थिक प्रतिस्पर्धाका कारणले गर्दा विकसित औद्योगिक राज्यहरू नयाँ नयाँ बजारको खोजीमा जाँदा उनीहरू आपसमा युद्धमा जान बाध्य हुन्छन् भन्ने कुरा स्टालिनले पनि बुझेका थिए । उनी पुँजीवाद संसारमा शान्ति स्थापना गर्न सक्दैन भन्ने कुरामा पनि विश्वस्त थिए र साम्यवाद नै मानवजातिको मुक्तिको एक मात्र उपाय हो भन्ने कुरामा दृढ थिए ।
प्रथम विश्वयुद्धको अन्त्यमा भएका सन्धिहरूले भविष्यमा ठुलै विस्फोट ल्याउने डर थियो । खासगरी १९१९ मा भर्सेल्समा भएको सन्धिमा जर्मनीलाई अपमानित हुनुपरेको घटनाले भविष्यमा ठुलो सङ्कट ल्याउने छ भन्ने आशङ्का थियो ।
उता, अमेरिका प्रथम विश्वयुद्धमा विजयी भएपछि ब्रिट्रिस साम्राज्यलाई खतम गर्न र प्रसान्त क्षेत्रमा जापानको प्रभाव कम पार्न लागेको थियो । १९२० को दसकमा नै सोभियत सङ्घलाई पश्चिमी देशहरूले एउटा अछुत र एकलकाटे राष्ट्रको रूपमा लिन्थे । १९२० को जनवरीमा भएको “लिग अफ नेसन्स” को बैठकमा सोभियत सङ्घलाई जान दिइएन । प्रथम विश्वयुद्धपछि भएका सन्धिले गर्दा पूर्वी युरोपका देशहरू सोभियत सङ्घको विरोधमा जाँदा स्टालिन र पोलिटब्युरोका सदस्यहरूले सोभियत समाजवादमाथि ठुलै हमला हुने खतरा देखेका थिए ।
लेनिनले जस्तै स्टालिन पनि साम्राज्यवादी र पुँजीवादी राष्ट्रबिचको युद्धमा सामेल हुनुहुन्न भन्ने कुरा मान्थे र आफ्नै देशमा समाजवादलाई बलियो बनाउनुपर्छ भन्नेमा उनको ध्यान थियो यद्यपि स्टालिन साम्राज्यवादी युद्धमा सामेल हुनुहुन्न भन्ने कुरामा दृढ थिए तर साम्राज्यवादी देशको बिचको युद्धबाट फाइदा उठाएर बढीभन्दा बढी देशमा समाजवादी क्रान्ति सम्पन्न गरी सोभियत सङ्घमा समाजवादलाई बलियो बनाउनुपर्छ भन्ने कुरामा उनी सहमत थिए तर यसो गर्दा उनले सिद्धान्तलाई व्यवहारवादको अगाडि समर्पित गर्नुपर्छ भन्ने मान्यताका विरोधी थिए तैपनि लेनिन र स्टालिनमाथि यस्ता आरोप लाग्ने गर्थे । खासगरी लेनिनको समयमा भएको ब्रेस्ट लिटोभ्सक सन्धि र सोभियत गृहयुद्धकै दौरानमा सोभियत सेनाको पोल्यान्डमाथिको कारबाहीको कारणले गर्दा ती घटनामा लेनिन र स्टालिनले सिद्धान्तलाई त्यागेको अर्थमा उनका विरोधीले आरोप लगाए पनि ।
त्यति बेला रुसमा भित्री र बाहिरी शक्तिले अक्टोबर क्रान्तिलाई समाप्त पार्न खोजेको अवस्थामा समाजवादलाई बचाउन ती कदम चालिएका थिए । वास्तवमा पश्चिमी देशहरूको शत्रुतापूर्ण व्यवहारको कारणले गर्दा गृहयुद्धको समयमा सैनिक कारबाही पनि भएका थिए । स्टालिन सोभियत सङ्घको एकलकाटे अवस्था समाप्त गर्न चाहन्थे तर भित्री र बाहिरी शत्रुका गतिविधिले गर्दा उनलाई सधैँभरि चनाखो भइरहनुपर्ने अवस्था थियो । उनको मुख्य चिन्ता देशभित्र र बाहिरका शक्तिको शत्रुतापूर्ण षड्यन्त्रलाई चकनाचुर पार्नमा थियो ।
यस सम्बन्धमा उनी युरोपका कम्युनिस्ट पार्टीलाई सल्लाह दिँदै प्रजातान्त्रिक समाजवादी पार्टी र श्रमिक पार्टी समाजवाद र साम्यवादका कट्टर दुस्मन भएकाले तिनीहरूबाट सावधान हुनुपर्छ भन्थे तर आम जनताको तर्फबाट उठ्ने आन्दोलनमा सहभागी हुनुपर्छ भन्ने गर्थे ।
स्टालिन आफ्नो देशको वरिपरि विस्तारवादी शक्तिहरूले चलाएका गतिविधिबाट चिन्तित थिए । १९३१ को डिसेम्बरमा जापानले मन्चुरियामाथि हमला गरेर त्यहाँ कठपुतली सरकार कायम गरेको घटनाबाट बढी आक्रोशित थिए किनकि उनलाई लाग्यो कि त्यो घटना जापानले साइबेरिया हुँदै सोभियत सङ्घमा आक्रमण गर्ने सङ्केत हुन सक्छ । पहिलो पञ्चवर्षीय योजनाको दौरानमा स्टालिनले घरेलुनीति र विदेशनीतिको बिचमा धेरै सन्तुलन बनाएका थिए । १९२९ मा अमेरिकामा आएको आर्थिक मन्दीको कारणले गर्दा पुँजीवादी देशमा आर्थिक सङ्कट उत्पन्न भएको थियो भने सोभियत सङ्घको औद्योगिक उत्पादनमा वृद्धि भइरहेको थियो । यस अवसरलाई साम्यवादीहरूले उपयोेग गरेर समाजवादी क्रान्तिलाई अन्य देशमा पनि फैलाउनुपर्छ भन्ने उनको धारणा थियो र उनले युरोपियन मुलुकका कम्युनिस्ट पार्टीलाई आआफ्नो सरकारको विरोधमा आन्दोलन गर्न प्रेरित गरिरहेका थिए ।
जर्मनीमा उनले त्यहाँको प्रजातान्त्रिक समाजवादी पार्टीलाई सोभियत सङ्घको मुख्य दुस्मनको रूपमा हेर्थे र यसो गर्दा उनका विरोधीले हिटलरको नाजिवादलाइर्ए कम खतरनाक ठानेको भन्ने आरोप पनि लगाए । नभन्दै हिटलर जर्मनीको चान्सलर भएपछि उनले बोल्सेभिक क्रान्तिको विरोधमा आफ्ना नीति अगाडि सारे । अब स्टालिनका लागि जर्मनी र जापान दुवै तर्फबाट खतरा भएको अनुभूत भयो ।
स्टालिनको मुख्य जोड ती दुई देशबाट हुने शत्रुतापूर्ण व्यवहारबाट सोभियत सङ्घलाई बचाउनु थियो र उनलाई अमेरिकालगायत एसिया र अफ्रिकी मुलुकको बारेमा थप केही नीतिगत कार्यक्रम बनाउने समय निकै कम थियो । हिटलरले जर्मनीमा पाएको सफलताले गर्दा सोभियत सङ्घको सुरक्षा अझ कडा पारियो भने यसैको अर्काे कडीको रूपमा अमेरिकाले सोभियत सङ्घलाई कूटनैतिक मान्यता पनि दियो । यसै क्रममा स्टालिनले हिटलरको खतरालाई कम पार्न युरोपभरिका फासीवाद विरोधी पार्टीसँग सम्बन्ध सुधार्ने नीति पनि अघि सारे । स्टालिन खास गरी फ्रान्ससँग सम्बन्ध सुदृढ पार्न चाहन्थे किनकि फ्रान्स पनि हिटलरको उदयपछि खतरामा परेको थियो । त्यसैले उनले युरोपियन मुलुकसँग सामूहिक सुरक्षाको अवधारणा पनि अघि सारे ।
यसै क्रममा स्टालिनले १९३४ मा सोभियत सङ्घलाई लिग अफ नेसन्सको सदस्यता लिनको लागि आवेदन दिन लगाए । आन्तरिक र भूराजनैतिक कारणले गर्दा स्टालिनले एकातिर युरोपियन राष्ट्रसँग समझदारी र सामूहिक सुरक्षा नीतिलाई अघि बढाए भने जर्मनीलाई पनि नचिढाउने नीति लिए । सोभियत सङ्घको विदेशीनीतिमा आएको लचकताले गर्दा ब्रिटेन र फ्रान्स केही सशङ्कित पनि भएका थिए किनकि ती दुई देश सोभियत सङ्घ र जर्मनीको बिचमा सम्बन्ध सुधारिएको खण्डमा उनीहरूको सुरक्षामा असर पर्छ भन्ने ठान्थे । यसै क्रममा स्टालिनले अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी इतिहासको अध्ययन गर्न थाले र १९३० का वर्षमा यस सम्बन्धमा अनुसन्धानात्मक लेख पनि छपाए ।
यसैबिचमा फासीवादी जनरल फेन्क्रोले स्पेनको गण्तन्त्रवादी सरकारको विरोधमा विद्रोह गरेपछि त्यहाँ गृहयुद्ध सुरु भयो । जनरल फ्रेन्कोलाई जर्मनी र इटालीको साथ थियो भने फ्रान्स र ब्रिटेन तटस्त बसेका थिए । यदि स्पेनमा फासीवादी सरकार कायम भए त्यसको असर सम्पूर्ण युरोपभरि पर्ने भएकाले स्टालिनले स्पेनको कम्युनिस्ट पार्टीको अनुरोधमा हातहतियार र पैसा पठाई सहयोग गरे तर लाल सेना पठाउने अवस्था नभएकाले त्यसो गरेनन् । उनले इटाली र जर्मनीले आफ्ना सेना स्पेनबाट फिर्ता गरेको खण्डमा गणतन्त्रवादी सरकारलाई सहयोग गरेको सोभियत सङ्घसहितको अन्तर्राष्ट्रिय बिग्रेडलाई पनि फिर्ता गर्ने प्रस्ताव राखे किनकि उनी आफ्नो नियन्त्रणमा नभएको युद्धमा सोभियत सङ्घलाई सामेल गराउन चाहँदैनथे । १९३९ को मार्चसम्म स्पेनको गृहयुद्धमा जर्मनी र इटालीको साथले गर्दा गणतन्त्रवादी शक्तिहरू जनरल फ्रेन्कोसँग पछि परेका थिए र त्यस्तो बेलामा स्टालिनले लालसेना पठाएर पनि स्पेनमा हस्तक्षेप गर्नुपर्दथ्यो र कम्युनिस्ट शासन स्थापिन गर्नुपथ्र्याे भन्ने आलोचकहरू थिए । स्टालिनका विरोधी ट्रोटस्की लगायतले सोभियत सङ्घले अत्यन्तै व्यवहारवादी नीति अपनाएर स्पेनिस कम्युनिस्टलाई आवश्यक सहयोग नगरेको भन्ने आरोप लगाए तर स्टालिनले लालसेनालाई पठाउन मानेनन् किनकि यसो गर्दा फ्रान्स र ब्रिटेन पनि फ्रेन्कोको पक्षमा हुने छन् भन्ने उनलाई डर थियो । त्यतिबेला सोभियत सङ्घको आफ्नै आन्तरिक कारण खास गरी सैनिक र आर्थिक शक्तिको अवस्थाले गर्दा पनि स्टालिन त्यसो गर्न सक्दैनथे । अर्काेतिर, भौगोलिक हिसाबले पनि सोभियत सङ्घ र स्पेनको बिचको दुरी लामो थियो ।
स्टालिनको मुख्य चिन्ता सोभियत सङ्घमा स्थायित्व ल्याउनु थियो । उनी आफ्नो देशको आन्तरिक स्वास्थ्य ठिक नभएसम्म विदेशसँगको सम्बन्धमा निर्णायक भूमिका खेल्न सकिन्न भन्ने कुरामा विश्वस्त थिए । अर्काेतिर, उनका विरोधी ट्रोटस्कीलगायतले सोभियत कम्युनिस्ट पार्टीको विरोधमा चलाएका गतिविधि निस्तेज पार्न उनी बढी केन्द्रित थिए । अन्तर्राष्ट्रिय सम्बन्धको महत्त्व बुझ्दाबुझ्दै पनि स्टालिन यो कुरामा विस्वस्त थिए कि सोभियत सङ्घमा सामाजिक आर्थिक रूपान्तरण नल्याएसम्म विदेशसँगको सम्बन्धमा धेरै समय लगाउनुहुँदैन ।
स्टालिनले चीनको सम्बन्धमा पनि माओत्सेतुङलाई च्याङकाई सेकसँग संयुक्तमोर्चा बनाउने सल्लाह दिएका थिए । यसरी स्टालिनले च्याङकाई सेकले नेतृत्व गरेको क्वमिङताङ पार्टीलाई अलि बढी महत्त्व दिएकोमा माओलाई त्यो सहज भएको थिएन तर त्यस बेला जापानबाट हुने खतरालाई कम पार्न कम्युनिस्ट र राष्ट्रवादी मिल्नुपर्छ भन्ने स्टालिनको सोचाइ थियो । १९३१ मा जापानले मन्चुरियामाथि कब्जा गरेकाले अझ बढी चिनियाँ क्षेत्रमा जापानी आक्रमण नहोस् भन्नका लागि उनले माओलाई च्याङकाई सेकसँग मिलेर जान भनेका थिए तर पछि च्याङकाई सेकको पार्टीबाट धोका पाएपछि माओले आफ्नो पार्टीलाई फेरि गोलबन्द गरी “लङ मार्च” सुरु गर्नुपरेको थियो ।
वास्तवमा माओ च्याङकाई सेकसँगको संयुक्तमोर्चा सम्बन्धमा सशङ्कित थिए । यस सम्बन्धमा कमिन्टर्नको नीतिको पनि उनले विरोध गरेका थिए तर सोभियत कम्युनिस्ट पार्टीको आर्थिक र सैनिक सहयोग गुम्ने डरले गर्दा माओले त्यति बेला संयुक्तमोर्चाको नीतिलाई मान्नुपरेको थियो । यी सबै घटनाबाट स्टालिन आन्तरिक र विदेशनीति सम्बन्धमा सन्तुलन बनाउन इच्छुक थिए र उनी विदेशनीतिका ज्ञाता पनि थिए भन्ने बुझिन्छ ।
पछि जर्मनीले १९४१ मा सोभियत सङ्घमाथि अचानक आक्रमण गरेपछिका दिनमा स्टालिनले आफ्नै नेतृत्वमा युद्धको प्रतिकार गरे र जर्मनीलाई हार स्वीकार गर्न बाध्य बनाए । उनको अन्तर्राष्ट्रिय व्यक्तित्वलाई तत्कालीन ब्रिटिस प्रधानमन्त्री चर्चिल र अमेरिकन राष्ट्रपति रुजबेल्टले समेत स्वीकार गरेका थिए ।