काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनालले फरक मत जाहेर गरेका छन् ।
अध्यक्ष माधव नेपालले पेस गरेको ३९ पृष्ठ लामो प्रतिवेदनमा फरक राख्दै खनालले एमालेबाट विद्रोह गर्ने बेलाको भन्दा अहिले पार्टी धेरै कुरामा खुम्चिएको बताएका छन्।
आज मंगलबार (भदौ ५) गतेदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ‘डिस्कसन नोट’ प्रस्तुत गर्दै खनालले गतवर्ष भएको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले देशभर आफ्नो पार्टीलाई धोका दिएको उल्लेख गरेका छन्।
त्यस्तै, पार्टीमा ‘बरु एमालेतिरै जाने’ भन्ने चिन्तनको विकास हुँदै गएको र पलयान बढ्दै गएको पनि आफ्नो नोटमा लेखेका छन्।
‘आखिर हाम्रो पार्टी दक्षिणपंथी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बड्यो। नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरि धोखा दिए,’ उनले भनेका छन्, ‘हाम्रो पार्टीलाई मतदाता मात्र बनाए। त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवी र साख नराम्ररी गिराई दियो।’
पार्टीमा विद्रोह भएको बेलामा भएको उत्साह, उमंग अहिले नभएको खनालले बताएका छन्। अहिले पनि पार्टीले सही नीति ल्याउँछ कि भनेर पर्खिरहेकाहरु भएको भन्दै विद्रोह गर्दाको जस्तो संसदीय दल शक्ति अहिले नभएको पनि उल्लेख गरेका छन्।
नयाँ स्वतन्त्र र क्रान्तिकारी ढङ्गले जानुपर्छ भन्ने कुरा चुनावअघि नै आफूले राखेको बताउँदै उनले त्यसलाई नसुनिएको आरोप लगाएका छन्।
सोमबारदेखि सुरु भएको बैठकमा अध्यक्ष नेपालले पेस गरेको आफ्नो राजनीतिक प्रतिवेदनमा एमालेसँग गरेको विद्रोह पुष्टि भएको बताएका छन् । अध्यक्ष नेपालले तत्कालिन नेकपा(एमाले)बाट बिद्रोह गर्नु उचित र जायज भएको बताएका छन् । उनले आजसम्मका घटनाक्रमहरुले आफूहरुले विगतमा गरेको बिद्रोह जायज थियो भन्ने कुरालाई बारम्बार पुष्टि हुँदै आएको बताएका छन् । जुनसुकै कोणबाट हेर्दा पनि बिद्रोह जायज भएको उनले जिकिर गरेका छन् ।
उनले राष्ट्रिय राजनीतिका अलावा अन्तर्राष्ट्रिय राजनीति र भूराजनीतिका विषयमा पनि समेत पर्याप्त चर्चा गरेका छन्।
अध्यक्ष नेपालले पेस गरेको प्रतिवेदनमा मानव जातिले बेहोर्नु परेका संकटहरुको दोषी साम्राज्यवाद र पुँजीवाद रहेको उल्लेख गरिएको छ।