जोमसोम । बाढी तथा पहिरोबाट प्रभावित इलाकामा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ ।
यसै क्रममा देशका विभिन्न स्थानमा परिचालित फौजले विभिन्न कार्य गरेको नेपाली सेनाले जनाएको हो ।
जङ्गी अड्डाका अनुसार मुस्ताङ जिल्लाको कागखोला नदीमा लेदोसहित आएको बाढीका कारण बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनीबजार इलाका जलमग्न र लेदोयुक्त भएको हुँदा स्थानीयवासी तथा उनीहरूका सामग्रीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
पुल बगाएका स्थानमा काठको अस्थायी पुल निर्माण गरी स्थानीयलाई सहजीकरण गरिनुका साथै पीडित स्थानीयवासीलाई खाद्यान्न तथा बन्दोबस्तीका लागि आवश्यक समन्वय तथा व्यवस्थापन गरिएको छ ।
२०८० साउन २८ गते गएको पहिरोमा परी बेपत्ता भएका दोलखा जिल्ला बिगु गाउँपालिका–७ तीनपानेका एक जनाको शव दुईओटा ढुङ्गाको बिचमा चेपिएर रहेको अवस्थामा फेला पारी नेपाली सेनाले प्रहरीलाई बुझाएको छ ।

यता, म्याग्दी जिल्ला बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने बेनी–दरबाङ सडकखण्डमा पहिरो गई सडक अवरुद्ध भएको हुँदा अन्य निकायसँग समन्वय गरी पहिरो गएको स्थानमा ग्याबिन जालीमा ढुङ्गा भरी तटबन्ध निर्माण गरिएको छ ।
त्यसैगरी, सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा पानीको सतह बढ्न गई स्थानीय थामेगाउँमा क्षति पुग्न सक्ने भएको हुँदा स्थानीयवासीको सहयोगमा बाँध निर्माण गरिएको छ ।
सेनाका अनुसार सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–६ स्थित नयाँबस्ती टोलमा मेलम्ची खोलामा आएको बाढीका कारण जोखिममा रहेका छओटा घरबाट स्थानीयवासीलगायत सरसामान सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
यता, बाँके जिल्लाको बैजनाथ गाउँपालिका–१ नाङढुङ्गामा कोहलपुरबाट सुर्खेत जाँदै गरेको भे१ज १०५० नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका यात्रुलाई उद्धार गरी उपचारको लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।
बाढीपहिरो प्रभावित देशका विभिन्न स्थानमा उद्धारकार्य जारी रहेको छ भने आकस्मिक बिपत्को सामना गर्न फौजलाई तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।
