काठमाडौँ । पठन संस्कृतिको प्रवर्द्धनका लागि आगामी मङ्सिर ५ देखि १० गतेसम्म काठमाडौँमा “दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३” हुने भएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको सहकार्यमा हुने प्रदर्शनीमा चीन, अमेरिका, इजिप्टलगायत मुलुकका प्रकाशक, उत्पादक तथा वितरक गरी एक सय ८० स्टल रहने छन् ।
२०८० साउन २९ गते सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रदर्शनीमा चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेसनका प्रतिनिधि पनि सहभागी हुने छन् ।
महासङ्घका अध्यक्ष सञ्जयकुमार चौधरीले विदेशी लेखकबाट लेखिएका र विदेशमै प्रकाशित पाठ्यसामग्रीमा मात्र निर्भर रहनुपर्ने अवस्था पार गरी हाल आफूहरू आत्मनिर्भर पुस्तक व्यवसायी हुन सफल रहेको जनाउँदै महोत्सवबाट स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीको आयात, निर्यात र वितरणमा सहकार्य एवम् सहजीकरणको वातावारण बन्ने बताउनुभयो ।
महासङ्घका महासचिव शिवसागर शर्माले दक्षिण एसियाली राष्ट्रबिच शिक्षा, साहित्य, संस्कृति, सञ्चार आदानप्रदानको माध्यमबाट आपसी सम्बन्ध प्रगाढ बनाउन प्रदर्शनीले भूमिका खेल्ने जनाउनुभयो ।
हाल सो महासङ्घमा १५ हजारभन्दा बढी व्यवसायी आबद्ध छन् । करेन्ट मिडियाका प्रबन्ध निर्देशक किरण गौतमले शिक्षा क्षेत्रका सरोकारवाला, सामुदायिक र निजी विद्यालय, विद्यार्थी, अभिभावक एवम् आम पाठकका लागि तथा शिक्षा, संस्कृति र सञ्चारको एक साझा सङ्गमस्थल हुने भएकाले प्रदर्शनीमा सहकार्य गरिएको जनाउनुभयो ।
महासङ्घले २०६४ देखि “सामाजिक रूपान्तरणका लागि शिक्षामा नयाँ अभियान : हात हातमा पुस्तक, घर घरमा पुस्तकालय” आदि नाराका साथ बृहत् पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव गर्दै आएको छ ।