याङ्गुन । म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड (बहुमूल्य पत्थर) खानीमा गएको पहिरोमा परी कम्तीमा २५ जना बेपत्ता भएको उद्धारकर्मीले सोमबार बताएका छन् ।
सन् २०२० मा सयौँ खनिकहरू पहिरोमा फसेका उत्तरी काचिनको हापाकान्त नगर नजिकै आइतबार भएको यो घटना मुसलधारे वर्षा र बाढीले देशको अधिकांश भाग जलमग्न भएको केही दिनपछि भएको हो ।
अत्यधिक आकर्षक जेड खनन उद्योग प्राय: अनियमित छ, जसका लागि आप्रवासी कामदारले खतरनाक अवस्था र अक्सर घातक दुर्घटना सहन्छन् ।
नाम नबताउने शर्तमा एक उद्धारकर्मीले एएफपीसँग भने– ‘करिब २५ व्यक्ति बेपत्ता भएको पुष्टि भएको छ । यहाँ पुग्न निकै कठिन छ । त्यसैले हामीलाई विस्तृत सूची प्राप्त भएको छैन ।’
उनले १५०–१८० मिटर (५००–६०० फिट) अग्लो माटोको विशाल थुप्रो तीव्र वर्षाले गलेको र भत्किएको बताए ।
खोजी र उद्धार कार्य जारी रहेको तर जेड भेट्याउने आशामा केही कामदार आफ्नो शरीरको जोखिम मोलेर पनि घटनास्थलमा फर्किसकेका उनले बताए ।
उनले भने– ‘अहिलेसम्म कुनै पनि शव फेला परेको छैन ।’
अर्का एक उद्धारकर्मीले दोस्रोपटक पहिरो खस्ने डरका बाबजुद पनि उद्धारको प्रयास जारी रहेको पुष्टि गरेका छन् ।
आपतकालीन समूह ‘म्यान्मार रेस्क्यु’ मा रहेका ती व्यक्तिले नाम नबताउने शर्तमा भने– ‘उद्धारकर्मीका लागि बेपत्ताको खोजी गर्नु सुरक्षित छैन ।’
वर्षायाममा खानी सञ्चालन बन्द गरिएको भए पनि पहिरोमा फसेका स्थानीयले सहजै धनी बन्ने लालसामा खानीभित्र गएको बेला दुर्घटना भएको हुन सक्ने उनले बताए ।
छिमेकी मुलुक चीनमा अत्यधिक लोभलाग्दो रत्न कोर्न कम तलब पाउने आप्रवासी कामदारको प्रयोग गर्ने कमजोर नियमन गरिएको तर आकर्षक जेड उद्योगमा काम गर्दा बर्सेनि दर्जनौँको मृत्यु हुने गरेको छ । (रासस/सिन्ह्वा)