काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रियसभा बैठक अवरोध गरेको छ ।
२०८० साउन २६ गते शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध कायम राखेको हो ।
बैठकको प्रारम्भमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरूलाई दलीय आधारमा समसामयिक विषयमा बोल्नका लागि समय दिएका थिए । सो क्रममा सांसदहरूले आआफ्नो धारणा राखे ।
धारणा राख्ने क्रम सकिएपछि अध्यक्षले बैठकको कार्यसूची अगाडि बढाउन खोज्दा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदहरू उभिएर विरोध जनाएका थिए ।
अध्यक्षले विरोध जनाउनुको कारणबारे बोल्नका लागि एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई समय दिएलगत्तै सत्तापक्षका सांसदहरू पनि उभिएर बैठक अवरोध गरेका थिए ।
दुवै पक्षका सांसदहरू उभिएर विरोध जनाएपछि राष्ट्रियसभा बैठक अगाडि बढाउन नसकिएको भन्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचीलाई अगाडि बढाउन नसकिएको जानकारी दिए ।
आगामी बैठक साउन ३१ गते बुधबार दिउँसो १:०१ मा बस्ने गरी बोलाइएको छ ।