जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले वर्गीय मुक्तिबिना जातीय मुक्ति असम्भव बताउनु भएको छ ।
उनन्तिसौँ विश्व आदिवासी दिवसको अवसरमा अगस्त ९, २०२३ का दिन पश्चिमोत्तर क्षेत्रीय जनजाति विभागको आयोजनामा जयपुरमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
“आदिवासी दिवस र वर्गसङ्घर्षको प्रश्न” विषयक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै अध्यक्ष खनालले विशुद्ध जातीय आन्दोलनमा जाति/जनजातिको मुक्ति हुन नसक्ने दाबी गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता पश्चिमोत्तर क्षेत्रीय सदस्य पिनु थापामगरले विभिन्न जातजातिहरूको बिचमा सद्भाव पैदा गरी वर्गीय मुक्ति आन्दोलन अगाडि बढाउनुपर्ने धारणा राख्नु भयो ।
अवधारणापत्र ओम थापाले वाचन गर्नुभएको थियो ।
सो अवसरमा मूल प्रवाहका केन्द्रीय प्रतिनिधि रिम राना, आगरा नगर समितिका मिठु केसी र रोहतक नगर समितिका खेमबहादुर कुमालले पनि धारणा राख्नुभएको थियोे ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि हुमा रजाली, महिला केन्द्रीय विभागकी सदस्य दीपा थापा, मूल प्रवाह जयपुरका संस्थापक बमबहादुरको पनि आतिथ्य रहेको थियो ।
बेलबहादुर रजालीको सञ्चालन, दिनानाथ थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टङ्क थापाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा रक्तिमका कलाकारहरूले पनि स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।
