काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लगाएको छ।
मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई प्लस टुको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सीआईबीले बिहीबार पक्राउ गरेको हो।
सीआईबीको टोलीले उनलाई बिहीबार उनकै निवास गल्फुटारबाट पक्राउ गरेको हो।
सांसद शर्माले गत साउन ३ गते त्रिभुवन विमानस्थलबाहिरबाट बरामद भएको १०० केजी सुन प्रकरणमा अर्थमन्त्री डा। प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गर्दै आएका थिए।
उनले सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेकाले उनीहरुले राजीनामा दिनुपर्ने अभिव्यक्ति सार्वजनिक रुपमै दिने गरेका थिए। सांसद शर्मा नेपाली कांग्रेसमा नेता डा. शेखर कोइरालानिकट मानिन्छन्।
उनले गत साउन १० गते संसद् बैठकमै सुन तस्करीका मुख्य अभियुक्त नसमातिए आमरण अनशन बस्ने चेतावनी दिएका थिए।
सभामुखलाई जानकारी
सांसद सुनिल शर्माको पक्राउबारे प्रतिनिधिसभाका सभामुखलाई जानकारी गराइएको छ।
सांसद शर्माको पक्राउबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद् सचिवालयलाई जानकारी गराउँदै सभामुखलाई पत्र लेखेको हो।
