काठमाडौँ । महिलासँगको अश्लील भिडिओ बनाएर सार्वजनिक गरिदिने भन्दै चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको महाबु गाउँपालिका–२ का वर्ष ३९ को तुलाराम सारू रहेका छन् ।
पीडित महिलाका अनुसार उनको पसलमा सामान खरिद गर्न आउने ती व्यक्तिसँग परिचय भएपछि निजले ‘मसँग सिमकार्ड छैन† निकाल्नका लागि नागरिकता पनि छैन† फोन चलाउन तिम्रो सिमकार्ड दिनुपर्यो’ भनी फोन मागेका थिए । त्यसपछि महिलाले निज व्यक्तिलाई विश्वास गरी आफैले प्रयोग गर्दै आइरहेको मोबाइलको सिमकार्ड प्रयोग गर्न दिइन् ।
निज पीडकले फेसबुकबाट समेत साथी बनी ‘तिमीलाई विवाह गर्छु’ भनी प्रलोभन देखाई मायाजालमा फसाएर विभिन्न दबाब र धम्की दिई म्यासेन्जरको भिडियो कलमा अश्लील हर्कत गर्न बाध्य पारी सो क्रियाकलापको आफ्नो जानकारीबिना स्क्रिन रेकर्ड गर्ने गरेको महिलाको भनाइ छ ।
पटक पटक अश्लील कल गर भनी जहिले पनि जुनसुकै समयमा दबाब र धम्की दिई दु:खहैरानी दिन थालेपछि महिलाले निजको सो प्रोफाइल ब्लक गरी बसेकी थिइन् ।
प्रोफाइल ब्लकपश्चात् नक्कली फेसबुक प्रोफाइलबाट महिलाको अश्लील तस्बिर उनका आफन्त तथा साथीभाइले प्रयोग गर्ने फेसबुकको म्यासेन्जरमा पठाई चरित्रहत्या गर्ने गरेको महिलाले बताएकी छिन् । त्यसपछि उनले ती व्यक्तिलाई कानुनबमोजिम कारबाहीका लागि पीडित महिलाले प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन् ।
ब्युरोले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा पक्राउ गरी काठमाडौँ जिल्ला अदालतको आदेशले पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान गरिरहेको छ ।
साथै, आफ्नो नाममा जारी सिमकार्ड, नागरिकता, पासपोर्ट र बैङ्किङ सामग्रीलगायतका व्यक्तिगत सामाग्री तथा विवरण अरूलाई अनावश्यक उपलब्ध नगराउनु हुन एवम् विद्युतीय माध्यमको सुरक्षित प्रयोग गर्नसमेत नेपाल प्रहरी साइबर ब्युरोले सबैसँग आग्रह गरेको छ ।