शशिधर सापकोटा, तौलिहवा ।
कपिलवस्तुको बाणगङ्गामा राष्ट्रिय जनमोर्चाको वडाभेला ९७ वर्षीय ज्येष्ठ सदस्य एमादेवी पाण्डेलाई सम्मान गर्दै सम्पन्न भएको छ ।
राजमो कपिलवस्तुको पाँचौँ जिल्ला सम्मेलनको तयारीको सन्दर्भमा २०८० साउन २३ गते मङ्गलबार सो भेला भएको हो ।
भेलाको उद्घाटन राजमोका जिल्ला अध्यक्ष दधिराम आचार्यले गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले अहिले देशमा भ्रष्टाचार मौलाएको, महङ्गी तथा कालाबजारीले सीमा नाघेको बताउनुभयो ।
‘राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि पनि खतरा पैदा भएको छ’ उहाँले अगाडि भन्नुभयो– ‘एमसिसी तथा राष्ट्रघाती नागरिकता विधेयकले राष्ट्रियता गम्भीर खतरामा परेको स्थितिमा देशमा शक्तिशाली आन्दोलनको खाँचो छ ।’

भेलालाई राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष रामप्रसाद बेलबासे र अखिल नेपाल बुद्धिजीवी सङ्घ कपिलवस्तुका संयोजक शशि सापकोटाले पनि सम्बोधन गर्नुभएको थियो ।
भेलाले चेतनारायण पाण्डे अध्यक्ष रहनुभएको राजमोको वडासमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा धनबहादुर चुँदाली, सचिवमा युवराज आचार्य, सहसचिवमा शोभा आचार्य र कोषाध्यक्ष देवा आचार्य रहनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा भीमलाल पौडेल, वसन्त गैरे, सावित्रा अधिकारी र जीवराम पोखरेल रहनुभएको छ भने सल्लाहकारमा कमलपति खनाल, खिमादेवी आचार्य, लोकप्रसाद बेल्वासे र कालु नेपाली रहनुभएको छ ।
चेतनारायण पाण्डेको अध्यक्षतामा तथा युवराज आचार्यको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा देवा आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कपिलवस्तुमा आगामी भदौ २२ र २३ गते राजमोको पाँचौँ जिल्ला सम्मेलन हुन गइरहेको थियो ।