काठमाडौँ । चामलको कृत्रिम अभावको अनावश्यक हल्ला सृजना गरी भएको मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै अखिल नेपाल किसान महासङ्घ (अप्फा) काठमाडौँले जिल्ला प्रशासन कार्यालय काठमाडौंँलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ ।
२०८० साउन २३ गते मङ्गलबार अप्फाका सदस्यहरूले काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई भेट्दै चामलको कृत्रिम अभावको हल्ला सृजना गरी भएको मूल्यवृद्धि नियन्त्रण गर्न र आपूर्तिलाई सहज बनाउनुपर्नेमा भन्दै ज्ञापनपत्र बुझाएको हो ।
जिल्ला अध्यक्ष केबी घलेको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको प्रतिनिधिमण्डलमा नेकपा (मसाल) का काठमाडौँ जिल्ला प्रवक्ता जगत्प्रसाद रेग्मी, अप्फाका काठमाडौँ जिल्ला सचिव मोहन जिसी, जिल्ला सदस्य अनिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चा बागमती प्रदेश सदस्य रोशन दानी र अप्फाका केन्द्री सदस्य बी.बी. विष्टसमेत हुनुहुन्थ्यो ।

त्यस्तै, अप्फा काठमाडौँले किसानहरूले उत्पादन गरेको कृषिजन्य वस्तुमा बिचौलियाको कारण उपभोक्ता र उत्पादन गर्ने किसान मारमा परेकाले बिचौलियाको पहिचान गरी नियन्त्रण गरी किसानलाई उत्पादनको सही मूल्य उपलब्ध हुने वातावरण सिर्जना गर्नुपर्ने माग राखेको छ ।
एवम् प्रकारले, देशभर फैलिएको लम्पिस्किन रोग नियन्त्रणका लागि पहल गरि आवश्यक क्षतिपूर्ति दिनुपर्ने माग राखेको अप्फा काठमाडौँका अध्यक्ष केबी घलेले जानकारी दिनुभयो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ज्ञापनपत्र बुझ्दै लम्पिस्किन रोग नियन्त्रण गर्न र आम किसानको समस्या हल गर्न सबै पक्ष लागि रहेको बताउनुभयो ।
बस्नेतले भन्नुभयो– ‘महङ्गी नियन्त्रण गर्न र चामलको कृत्रिम अभाव हुन नदिन एकीकृत अनुगमन टोली अनुगमन संयन्त्र तयार पारेका छौँ ।
उहाँले मूल्यवृद्धि र प्रतिबन्धबाट प्रभाव स्टक म्यापिङ गर्ने कार्यको थालनी गरिएको जानकारी दिनुभयो ।
त्यस्तै, अप्फाले किसानलाई खेती गर्दा आवश्यक पर्ने मल, बिउबिजन र प्राविधिक सहयोग उपलब्ध गराई माटोमा हुने खेतीप्रणालीको पहिचान गरी उचित व्यवस्था गर्नुपर्ने माग राखेको राष्ट्रिय जनमोर्चाका बागमती प्रदेश सदस्य रोशन दानीले बताउभयो ।
