दार्चुला । भारतीय पक्षले नेपाली आकाशमा अनधिकृत रुपमा हेलिकप्टर उडाएको छ । नेपाली पक्षले त्यसबारे जवाफ मागेपनि अटेरी गर्दै भारतले तारन्तार हेलिकप्टर उडाएको हो ।
केही दिनयता दार्चुला सदरमुकाम खलंगाको आकाशमा भारतीय हेलिकप्टरले फन्को लगाइरहेको स्थानीयले बताएका छन् ।
भारतीय पक्षले नेपाली आकाशमा हेलिकप्टर उडाउनका लागि नेपाली प्रशासनसँग कुनै समन्वय गरेको छैन।
भारतीय पक्षले नेपाली आकाश प्रयोगका लागि कुनै औपचारिक जानकारी नगराएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामी बताए।
बिना जानकारी नेपाली आकाशमा भारतीय पक्षले हेलिकप्टर उडाएपछि दार्चुला प्रशासनले लिखित आपत्ति जनाएको छ।
भारतीय प्रशासनलाई पत्राचार गर्दै अनुमतिबिना नेपाली आकाशमा हेलिकप्टर किन उडाएको भनेर जवाफ मागेपनि अहिलेसम्म त्यसको जवाफ नआएको प्रशासनले जनाएको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दुई वर्षअघि तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका व्यास गाउँपालिका–२ का जयसिंह धामीको खोजीका लागि नेपाली प्रशासनलाई नदीमा ड्रोन समेत चलाउन दिएको थिएन।