का. सफल ##
दास युगदेखि आजसम्मको मानवजातिको इतिहास वर्गसङ्घर्षको इतिहास हो । वर्गसङ्घर्ष माक्र्सवादको मूल गुदी हो । वर्गसमाजमा वर्गसङ्घर्षबिना समाज परिवर्तन वा वर्गविहीन समाजको परिकल्पनासमेत गर्न सकिँदैन । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सका अनुसार “अहिलेसम्म विद्यमान सबै समाजको लिखित इतिहास वर्गसङ्घर्षको इतिहास हो” ।
हरेक समाजको आर्थिक परिस्थिति वा त्यो समाजको उत्पादन र वितरण प्रणालीमा उत्पन्न समस्याको परिणाम वर्गको उदय हुन्छ अर्थात् वर्गहरूको सोझो सम्बन्ध समाजको आर्थिक आधारसँग हुन्छ । उत्पादन र वितरणको असमान परिस्थितिबाट वर्गसङ्घर्ष सुरु हुन्छ । समाजमा चल्ने जति पनि राजनीतिक सङ्घर्षहरू वास्तवमा सबै वर्गसङ्घर्ष हुन् । वर्गीय पक्षधरताको कारण लामो समयसम्म समाजमा चलेको भिषण वर्गसङ्घर्ष नै अन्तत: मानवजातिको विकासको महत्त्वपूर्ण चरित्र बन्न गयो ।
वर्गसङ्घर्षको राजनीतिक निचोड पुरानो सामाजिक व्यवस्थाको अन्त्य र नयाँ सामाजिक व्यवस्थाको निर्माण हो । वर्गसमाजमा उत्पीडक र उत्पीडक वर्ग क्रियाशील हुन्छन्† उत्पादनका साधनमाथि स्वामित्व भएको र श्रमिक वर्गको शोषण गरेर आफ्नो अस्तित्व रक्षा गर्ने वर्ग उत्पीडक वर्ग हो भने त्यसको विपक्षमा रहेको, उत्पादनका साधनसँग जोडिएको तर स्वामित्व र श्रमको मूल्यबाट वञ्चित वर्ग उत्पीडित वर्ग हो ।
दास युग, सामन्ती युग र पुँजीवादी युगका उत्पीडक र उत्पीडित वर्गको आआफ्नो वर्गचरित्र रूपमा (प्रमुख र उपवर्गहरू) बेग्लाबेग्लै भए पनि सारमा एउटै हो । भनाइको अर्थ उत्पीडक वर्गको वर्गचरित्र सबै युगमा शोषणमूलक सामाजिक व्यवस्थाको निरन्तरता दिनुपर्छ भन्ने हो भने उत्पीडित वर्गको वर्गचरित्र शोषणमूलक व्यवस्थालाई वर्गसङ्घर्षद्वारा विस्थापित गरेर न्याय र समानतामा आधारित तथा श्रमको सम्मान गर्ने प्रणालीको स्थापना गरिनुपर्छ भन्ने हो । दास युगमा दासव्यवस्थाका प्रमुख वर्ग भनेका दासमालिक र दास वा भूदास थिए भने सामन्ती व्यवस्थाका प्रमुख वर्गहरू सामन्त र खेत मजदुर थिए । पुँजीपति र कारखाना मजदुर पुँजीवादी समाजका प्रमुख वर्ग हुन् । वर्गसमाजका हरेक सामाजिक व्यवस्थामा प्रमुख वर्ग र त्यसको साथमा उपवर्ग पनि हुने गर्दछन् । समाज परिवर्तनको सङ्घर्षमा निर्णायक भूमिका भने प्रमुख वर्गले नै खेलेका हुन्छन् । अत: प्रमुख सामाजिक वर्गबिच चल्ने सङ्घर्ष नै वर्गसङ्घर्ष हो ।
शोषक वर्गको विरुद्धमा शोषित वर्गको सङ्घर्ष जति दृढ, सुसङ्गठित हुन्छ, समाजको प्रगतिशील रूपान्तरण पनि त्यतिकै छिटो छिटो हुने गर्दछ । समाजको क्रान्तिकारी रूपान्तरणका लागि सर्वहारा वर्गले मालिकका विरुद्ध सङ्घर्षका विभिन्न रूप सञ्चालन गर्ने गर्दछन् ।
विशेष गरी वैचारिक, आर्थिक तथा राजनीतिक सङ्घर्षका महत्त्वपूर्ण रूपलाई सङ्गठित गरेर क्रान्तिकारी आन्दोलनको विकास गरेपछि मात्र राजनीतिक आन्दोलनले सफलता प्राप्त गर्दछ । प्रमुख वर्गबिच चल्ने आर्थिक सङ्घर्षले उत्पीडित वर्गको प्रत्यक्ष हितको प्रतिनिधित्व गर्दछ भने वैचारिक सङ्घर्षले आर्थिक तथा राजनीतिक सङ्घर्षलाई सफल पार्न सहयोगी सङ्घर्षको भूमिका खेलेको हुन्छ । वैचारिक सङ्घर्षको सहयोग लिएर आर्थिक सङ्घर्षले उच्चतम विकास गर्दै राजनीतिक सङ्घर्षमा सङ्क्रमण भई राजनीतिक सङ्घर्ष सफल हुन्छ ।
अत: स्थानीय समस्यालाई लिएर सञ्चालन हुने ग्रामीण वर्गसङ्घर्ष तथा राष्ट्रिय समस्यालाई लिएर सुरु गरिने राजनीतिक सङ्घर्ष सबैको समाज परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका रहने भए पनि निर्णायक सङ्घर्ष भने राजनीतिक सङ्घर्ष नै हो ।
संसारभरि तथा नेपालमा समेत ठुला ठुला राजनीतिक सङ्घर्षबाट नै पुरानो निरङ्कुश सत्ताको अन्त्य र नयाँ वा प्रगतिशील सामाजिक सत्ताको निर्माण भएका ऐतिहासिक तथ्य भेटिन्छ† जस्तै : दासकालीन व्यवस्था र दासमालिकका विरुद्धमा दासको शक्तिशाली राजनीतिक सङ्घर्षबाट दस हजार वर्ष पुरानो दास व्यवस्थाको अन्त्य भयो । त्यो भन्दा केही प्रगतिशील सामन्ती व्यवस्थाले त्यसको स्थान लिन पुग्यो । एक हजार पाँच सय वर्ष सत्ताभोग गरेको सामन्ती व्यवस्था पनि राजनीतिक सङ्घर्षको बलमा विश्वबाट नै समाप्त भएर त्योभन्दा केही प्रगतिशील पुँजीवादी व्यवस्थाले सामन्ती व्यवस्थाको स्थान लिन पुग्यो ।
आज विश्वभरि नै पुँजीवादी शोषण कायम छ । त्यसले साम्राज्यवादी रूप ग्रहण गरिसकेको छ । आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । साम्राज्यवादी शोषण, दमन र उत्पीडनका विरुद्धमा विश्वका श्रमजीवी वर्गहरू एक भएर सङ्घर्ष गर्नुपर्ने र साम्राज्यवादलाई घुँडा टेकाउनुपर्ने जिम्मेवारी सर्वहारा वर्गको (कम्युनिस्ट पार्टी) को काँधमा आएको छ । साम्राज्यवादी शोषणबाट एकातर्फ तेस्रो मुलुकका (अविकसित, अल्पविकसित र विकासोन्मुख) देशले सास्ती भोगिरहेका छन् भने अर्कोतर्फ साम्राज्यवादी मुलुककै बिचमा पनि तेस्रो मुलुकका कमजोर देशमाथि पहिले कसले साम्राज्य कायम गर्ने भन्ने विषयलाई लिएर आपसी होड चल्ने गरेको छ । साम्राज्यवादीको आपसी द्वन्द्वका कारण पनि विश्व साम्राज्यवाद आफ्नै कारणले समाप्त हुने निश्चित छ । यो विश्व परिस्थितिमा कुनै पनि देशका श्रमजीवी वर्गले एकातर्फ आफ्नो देशभित्र विद्यमान आर्थिक, सामाजिक विभेदका विरुद्ध वर्गसङ्घर्षको विकास गर्दै वर्गसङ्घर्षलाई राजनीतिक सङ्घर्षमा सङ्क्रमण गर्नतर्फ जोड दिएर कामदार वर्गको राज्यसत्ता स्थापनाका लागि ध्यान दिनुपर्दछ भने अर्कोतर्फ तेस्रो मुलुकका उत्पीडित राष्ट्रले साम्राज्यवाद विरोधी सङ्घर्ष चलाउनुपर्दछ ।
कुनै पनि उत्पीडित राष्ट्रमा सुरु गरिने साम्राज्यवाद विरोधी आन्दोलनलाई समर्थन तथा सहयोग गर्ने नीति सबै उत्पीडित राष्ट्रले अङ्गीकार गर्नुपर्छ । पुँजीवादी शोषण उत्पीडनको विरुद्ध मोर्चा कसेर आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्दछ । त्यसपछि नै साम्राज्यवादी शोषण, दमन कमजोर हुने छ । माक्र्सवादको जन्म पुँजीवादको गर्भबाट भएको या पुँजीवादी शोषण, दमनको विरुद्धमा माक्र्सवादी दर्शनको विकास भएको हुँदा पुँजीवादको मृत्यु पनि माक्र्सवादकै हातबाट हुने कुरा निश्चित छ किनकि विश्वका तमाम श्रमजीवी सर्वहारा वर्गको श्रमशक्तिमा टेकेर फस्टाएको पुँजीवादी शोषणमा आधारित शोषणप्रधान व्यवस्थाका विरुद्ध विश्वका सचेत सर्वहारा वर्ग एकै ठाउँमा उभिनुपर्ने भौतिक परिस्थिति विश्व साम्राज्यवादले निम्त्याउँदै छ । विश्वका सचेत सर्वहारा वर्ग सङ्गठित हुने विश्व परिस्थिति निर्माण हुँदै जाने छ ।
वर्गसङ्घर्षको आलोकमा सर्वहारा वर्गको मुक्तिको व्यवस्था जनवाद, समाजवाद हुँदै साम्यवादको लक्ष्यमा पुग्ने छ । यो कुनै काल्पनिक विषय नभएर मानव समाज विकासको ऐतिहासिक भौतिकवादी नियम हो । यो नियम समाज विज्ञानमा आधारित छ । ऐतिहासिक भौतिकवादले द्वन्द्वात्मक भौतिकवादका नियमलाई मानव समाजको विकासमा लागु गर्ने काम गर्दछ । त्यही भएर दास युगदेखि आजसम्मको मानवजातिको इतिहासलाई माक्र्स र एङ्गेल्सले वर्गसङ्घर्षको भौतिकवादी नियमअन्तर्गत विकास हुने व्याख्या गरेका हुन्, जुन कुरा व्यवहारमा सावित हुँदै आएको छ ।
अत: वर्गसमाजमा वर्गसङ्घर्ष अनिवार्य शर्त हो । वर्गसङ्घर्ष राजनीतिक सङ्घर्षको भ्रुण हो । समाजमा विद्यमान वर्गीय विभेद तथा असमानताको अन्त्यका लागि वर्गसङ्घर्षको उठान गरौँ । सर्वहारा वर्गको मुक्तिको व्यवस्था समतामूलक समाजको निर्माण गरौँ ।