नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा राष्ट्रिय जनमोर्चाको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ ।
राजमोका पूर्वकेन्द्रीय सदस्य तथा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसिराम सापकोटाको प्रमुख आतिथ्यमा २०८० साउन २१ गते आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।
सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि सापकोटाले बैदेसिक हस्तक्षेपका कारण देशमा गृहयुद्धको सम्भावना देखा परेको तथा राष्ट्रियतामाथि समेत खतरा उत्पन्न भइरहेको बताउनुभयो ।
उपर्युक्त खतराका विरुद्ध नेपाली जनतासित सङ्घर्षमा उत्रनु आह्वान पनि उहाँले गर्नुभयो ।
सम्बोधनको क्रममा उहाँले सङ्घीयताका कारण देशको अर्थतन्त्र टाट पल्टने अवस्थामा पुगेको बताउँदै उहाँले राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि यथाशीघ्र सङ्घीयता खारेज गर्नुपर्ने धारणा राख्नुभएको थियोे ।

सम्मेलनलाई अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य पूर्णकला भण्डारी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) बाँकेका संयोजक तिलकराज पौडेल, अखिल नेपाल युवक सङ्घ बाँकेका अध्यक्ष भरत खड्का, सहिद परिवार तथा महिला सङ्घ बाँकेकी उपाध्यक्ष पार्वती कार्कीलगायत हुनुहुन्थ्यो ।
राजमो बाँकेका अध्यक्ष तथा कोहलपुर नगर अध्यक्ष भीमप्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा स्वागत मन्तव्य राजमो कोहलपुर ४ नंं वडाध्यक्ष रुद्र आचार्यले तथा सञ्चालन सावित्रा कार्कीले गर्नुभएको थियोे ।
बन्दशत्र सम्पन्न भएसँगै सम्मेलनले तिलकराज पौडेल अध्यक्ष रहनुभएको राजमोको ११ सदस्यीय कोहलपुर नगर समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा बालाराम न्यौपाने, सचिवमा बालकृष्ण लम्साल, सहसचिवमा लीला भट्टराई र कोषाध्यक्षमा द्रौपता पाण्डे रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा जोकप्रसाद भण्डारी, पूर्णकला भण्डारी, भरतकुमार खड्का, रुद्र आचार्य, पार्वती कार्की र सावित्रा कार्की रहनुभएको छ ।
सम्मेलन समापनको क्रममा अखिल (छैटौं) का पूर्वविद्यार्थी नेता भद्र घर्तीले नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यलाई बधाई दिनुभएको थियोे ।
आगामी भदौ २३ र २४ गते नेपालगञ्जमा सम्पन्न हुन गइरहेको राजमो बाँकेको चौथो जिल्ला सम्मेलनको सिलसिलामा बाँकेका स्थानीय तहमा सङ्गठनात्मक अभियान सञ्चालन भइरहेको जनाइएको छ ।
