काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दुई प्रधानमन्त्रीबीच शनिबार साँझ महत्त्वपूर्ण विषयमा टेलिफोन कुराकानी भएको हो।
भारतले नेपालका लागि चामल र विस्फोट पदार्थ निर्यात खुला गर्ने भएको छ। दाहालसँगको टेलिफोन वार्तामा चामल र विस्फोट पदार्थ नेपाल निर्यात गर्न भारतीय प्रधानमन्त्री मोदी सहमत भएका हुन्।
आचार्यका अनुसार शनिबार रातिबाटै भारतले नेपालमा चामल निर्यात खुला गरिसकेको छ। चामल आयातमा प्रतिबन्ध लाग्दा नेपालमा व्यापारीले चामलको भाउ ह्वात्तै बढाएका थिए।
यस्तै विस्फोटक पदार्थ नेपाल लान पनि नरोकिने भारतीय मोदीले बताएको प्रेस सल्लाहकार आचार्यले जानकारी दिए।
यसअघि भारतले विस्फोटक पदार्थ निर्यातमा बन्देज लगाएको थियो। जसका कारण नेपालमा निर्माणाधीन सडक, जलविद्युत् तथा तथा सुरुङमार्ग परियोजना प्रभावित भएका थिए। विस्फोटक पदार्थ विकास निर्माणका लागि अति आवश्यक पदार्थ हो।
यसैगरी प्रधानमन्त्री प्रचण्डसँगको टेलिफोन वार्तामा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई बंगलादेश रुट प्रयोग गर्न दिने तथा नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने प्रक्रिया पनि छिट्टै अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेको आचार्यले बताए।