का. गम्भीर ##
२०३६ सालमा विद्यार्थी सङ्गठनले सुरु गरेको पञ्चायत विरोधी आन्दोलनलाई सङ्घ, सङ्गठन, पार्टीले पनि समर्थन गर्दै सक्रियतापूर्वक सङ्घर्ष उठान गर्दा देशव्यापी रूपमा पञ्चायत विरोधी आन्दोलन चल्न थाल्यो । दिनहुँ आन्दोलनको विकास हुँदै जनस्तरसम्म पुग्यो । पञ्चायती व्यवस्था मुर्दावादका नाराजुलुस गाउँघरमा समेतमा लाग्न थाले ।
पञ्चायती व्यवस्था भनेको राजशाही व्यवस्था हो अर्थात् हुकुमी शासन व्यवस्था । यसको विरोधमा देशका प्राय:जसो विरोधी राजनीतिक पार्टी, सङ्घसंस्था एवम् व्यक्ति सामेल थिए । यसको दिनहुँ बढ्दो शक्ति देखेर राजासमेत धरमराए र २०३६ जेठ ९ गते राजा वीरेन्द्र स्वयम्ले ‘जनमत सङ्ग्रह’ को घोषण गरे । जनमत सङ्ग्रहको अर्थ भनेको निर्दलीय तथा सुधारिएको पञ्चायती शासनव्यवस्थालाई नै मान्ने कि पार्टीहरूको शासनव्यवस्था अथवा बहुदलीय व्यवस्था मान्ने दुईओटामध्ये एउटा व्यवस्था छान्न पाउने गरी जनताले आफ्नो मतमार्फत छान्ने थियो ।
राजाबाट घोषणा भएको जनमत सङ्ग्रह धोका हुने छ; जनमत सङ्ग्रहबाट बहुदलीय व्यवस्था प्राप्त हुने छैन; त्यो आन्दोलनबाटै सत्ता प्राप्त हुन्छ; आन्दोलनलाई शक्तिशाली बनाउँदै अगाडि बढ्दै जाऔँ; राजाबाटै बहुदलको घोषणा हुन्छ र जनमत सङ्ग्रह धोका हो । यी कुरा नेकपाको चौथो महाधिवेशन पक्षले भनिसकेको थियो । सोहीअनुसार जिल्लामा खबर गरिसकेको थियो ।
चौथो महाधिवेशन पक्षले भनेका कुरा सही थिए तर अन्य राजनीतिक पार्टीहरू काङ्ग्रेस र विभिन्न वामपन्थी समूहले मानेनन् । सबै राजनीतिक पार्टी सङ्गठनले जनमत सङ्ग्रहलाई स्वीकार गरे । चौथो महाधिवेशन पक्ष एक्लैको शक्ति कमजोर थियो । अन्तमा त्यसले ले पनि निर्दलभन्दा बहुदल ठिक हो भन्दै आफ्ना सबै पार्टीसदस्य, समर्थकका साथै आम जनताले बहुदललाई आफ्नो मत दिने र दिलाउने भनी निर्णय गर्यो र त्यहीअनुसार सबै ठाउँमा बहुदलको ‘निलो बाकस’ (मतपेटिका) मा भोट खसाल्नका लागि सार्वजनिक अपिल गर्यो ।
निर्दल–बहुदलको छनौटपछि जनमत सङ्ग्रमा निर्दल (पञ्चायत) ले जितेको घोषणा भयो । पञ्चायतको पक्षमा २४ लाख मत खसेको र बहुदलको पक्षमा २० लाख मत मात्र तर धाँधली, बेइमानी हुने छ भन्ने पूर्वानुमान सही सावित भयो । सरकारको मातहतमा हुने कर्मचारी, सेना, प्रहरीलगायतको सारा शक्ति दरबार र पञ्चको हातमा रहेको र उनीहरूले नै चुनाव गराउँदा विरोधी शक्तिले कसरी जित्न सक्दथ्यो र ? पञ्चायतको जित वास्तविक थिएन । जनमत त पञ्चायतको विरुद्ध थियो तर सत्ता पञ्चायतको भएकाले जित पनि उनीहरूकै हुने कुरा स्वाभाविक थियो ।
एकदुई वर्षपछि अर्थात् २०३९ सालमा पञ्चायतले स्थानीय चुनाव र २०३८ मा राष्ट्रिय पञ्चायतको चुनावमा जोडतोडले लाग्यो । पञ्चको सरकार, पुन: पञ्चायती व्यवस्थाको सुदृढीकरण र सुदृढीकरण गर्ने भनेर पञ्चायतको माथिल्लो (राष्ट्रिय पञ्चायत) जिल्ला, गाउँ पञ्चायत र वडा चुनावमा सबै शक्ति लगाएर पुन: मण्डले शासनको सुरुवाततिर लाग्यो ।
धाँधली, बेइमानी, जबरजस्तीले उल्टोसुल्टो गरी जिताएको पञ्चायती व्यवस्थाको पक्षमा जनमत थिएन । जनमत त यसको विरुद्धमा थियो अथवा बहुदलको पक्षमा थियो । त्यसैले २०३८ सालको राष्ट्रिय पञ्चायतको चुनाव र २०३९ को पञ्चायतको स्थानीय चुनाव नेकपाको चौथो महाधिवेशन पक्षले बहिष्कार गर्ने नीति अपनाएको थियो । त्यसैअनुसार सक्रिय बहिष्कार गरेको थियो । पार्टीको घोषित नीतिअनुसार देशका विभिन्न जिल्लामा पञ्चायती चुनाव–२०३९ को बहिष्कार आन्दोलन चल्यो ।
यसै सिलसिलामा नेपालको सुदूरपश्चिम क्षेत्रका जिल्लामा चुनाव बहिष्कार आन्दोलन अगाडि बढाउनका लागि हामी खटियौँ । बहिष्कार आन्दोलन बढ्दै जाँदा कैलाली जिल्लाको सदरमुकाम धनगढी आसपासका गाउँ पञ्चायत वडाहरू, जहाँ पार्टीको प्रभाव थियो† सङ्गठन वा कम्युनिस्ट समर्थक थिए, चुनावमा गएनन् अर्थात् भोट हाल्न गएनन् । सदरमुकामनजिक पर्ने तारानगर गाउँ पञ्चायतअन्तर्गत वडा नं. २, ३ र ८ कैलाली गाउँमा पार्टीको राम्रो सङ्गठन थियो । त्यहाँ २०२८ सालदेखि नै “किसान सुधार समिति” गठन भई पञ्चको अन्याय, अत्याचारको विरोध भइरहेको थियो । त्यही क्रममा तारानगर गाउँ पञ्चायतमा सक्रिय रूपले बहिष्कार गर्ने भन्ने समितिको निर्णयअनुसार हामीले गाउँ भेला बोलायौँ र विभिन्न माग राखी चुनावमा नजाने अर्थात् बहिष्कार गर्ने प्रस्ताव गर्याँै । त्यसका निम्नलिखित मुख्य माग थिए :
१. दुई गाउँ (झलारी–गेटा र तारानगरको कैलाली) को बिचमा खेतमा पर्ने विमालस्थल निर्माण गर्ने कार्यक्रमलाई अन्त सार्ने ।
२. कैलाली गाउँको कैलाली नालानजिकैमा चालु दुईओटा दारुभट्टी (रक्सी भट्टी) बन्द गर्ने र हटाउने ।
३. वडा नं. २, ३ र ८ मा आउने बिजुलीबत्ती पञ्चायतका सदस्य र जमिनदारहभएको गाउँमा लगेकोमा ती बत्तीका लाइन हाम्रा गाउँ कोटामा आउनुपर्ने ।
उपर्युक्त तीनओटा मुख्य मागका साथै धर्मभकारीसम्बन्धी कुरा पनि उठाइएको थियो ।
चुनाव नजिकै आइरहेको थियो । एक दिन सबै गाउँलेलाई प्रधान (जमिन्दार) को घरआँगनमा भेला पार्ने काम गर्यौँ । चुनाव हुने ठाउँ नजिकैको जनता राष्ट्रिय प्राथमिक विद्यालय कैलालीमा थियो । बिहानदेखि साँझसम्म त्यहाँ कर्मचारी र जनताको चलखेल हुने गर्दथ्यो ।
उपर्युक्त मागलाई बजार (धनगढी) लगायत नजिकमा गाउँहरूले पनि समर्थन गरिरहेका थिए । हामी साँझसम्म त्यहाँ बस्यौँ । भोट हाल्न नजाने र जानेलाई पनि रोक्ने योजना हाम्रो थियो । हाम्रो त्यो योजनामा पूरै गाउँलेको समर्थन र सहभागिता थियो । आँगनभरि गाउँलेहरू भरिभराउ थिए ।
करिब ३ बजेतिर जिल्ला प्रशासन कार्यालय, अञ्चलाधीश कार्यालय र प्रहरी कार्यालयबाट एउटा प्रशासनिक टोली गाडी लिएर आयो र ठिक हामी भेला भएको घरआँगन अगाडि उभियो । सबै जना झरे । मसमेतका तीन जनालाई पक्रेर ल्याउनू भनी पुलिसलाई आदेश दिई अरू हाकिम फर्के । हाम्रा तीनओटा मागबारे कुनै कुरा भएन । हामीलाई धनगढी जिपिओमा राखियो । भोलिपल्ट एक जना साथीलाई त्यहाँबाट छाडे । दुई जनालाई (मसमेत) शान्ति सुरक्षा कानुनबमोजिम छ महिनाका लागि धनगढी कारागार चलान गरियो । करिब तीन महिना (असार) पछि एक जनालाई छोडे । अब म मात्रै जेलमा रहेँ ।
जेलका कोठा साना थिए । कैदी भरिभराउ थिए । मलाई कुष्ठरोगीहरू बस्ने कोठामा राखे । कोठा सानो तर कैदीहरू पेलापेल । सुत्न, बस्नको सारै समस्या । राति दिसापिसाब लागे दैलोमा गर्नुपर्ने र अर्को दिन बिहानै उठेर सफा गर्नुपर्ने ।
म बसेको कोठानजिकैको अर्को कोठामा उर्भा गाउँपञ्चायतका चार जना सुकुम्बासी थारूहरू पनि बनविनाशको मुद्दामा बन्दी थिए । बिहान दिसापिसाब गर्न बाहिर चर्पी खानामा लाइन लाग्नुपर्दथ्यो । उनीहरू हाम्रो गाउँको थारूका इष्टमित्र पर्ने भएकाले मेरो पनि चिनजान भएको थियो ।
एक दिन हामीबिच केही कुराकानी भए । नजिकै जेलको नाइके बस्ने कोठा थियो । त्यसले दैलोबाट यो सबै हेरेको रहेछ । सुनेको रहेछ । पछि साँझ ४ बजेतिर मलाई आफ्नो कोठामा बोलायो । उसका दुई जना चौकिदार पनि त्यहीँ थिए । मलाई चुट्ने आदेश गर्यो । चौकिदारहरूले ममाथि हात यठाए । मलाई एकदम रिस उठ्यो । मैले भनेँ– खबरदार ! म पनि तिमीहरूलाई छोड्ने छैन । म राजनीतिक कार्यकर्ता हुँ । म कुनै ज्यानमारा, डकैत, डाँकु हैन ।”
हामीमाझ घम्साघम्सी भयो । लुछाचुँडीपछि मलाई बाहिर ल्याए । चौकिदारलाई यातना दिने सामग्री स्टोरमा पठाएर एउटा ठुलो मोटो फलामे साङ्लो मगायो । उनीहरू मेरो खुट्टामा नेल हाल्ने, घाँटीमा साङ्लोको गलबन्दी हाल्ने प्रयास गर्दै थिए । त्यही बेला जेलघरको माथि उचो भित्तामा चारैतिर बन्दुक भिरेर घुमिराख्ने सन्तरी (प्रहरी) ले भित्ताबाट देख्यो र उसले भन्यो– “ए ! तिमीहरू के गरिराख्या छौँ ! खबरदार राजबन्दीलाई साङ्लोको माला र नेल लगाउन पाइँदैन । होस गर ।” उसले यति भनिसकेपछि तिनीहरू त्यहाँबाट भागे । ती प्रहरी अछाम जिल्लाका रहेछन् भन्ने कुरा पछि मैले थाहा पाएँ ।
त्यो जेलमा त्यो बेला कुनै मेरा साथी अथवा राजबन्दी थिएनन् । प्रहरीको समर्थन पाउँदा म उत्साहित भएँ । भोलिपल्ट मैले वरिपरि सबैले सुन्ने गरी तिनीहरूसँग झगडा गरँे : म त्यो कोठामा बस्दिनँ, मलाई अर्को ठाउँ देऊ । त्यहाँ कैदीहरूको पेलापेल थियो अनि कुष्ठरोगी पनि त्यहीँ हुन्थे । मैले धेरै कुरा गरेँ । यी सबै घटनाको जानकारी बाहिर गयो होला । भोलि पल्ट बिहान ११ बजेतिर सन्दुक हातमा बोकेर एउटा डाक्टर र जेलर म भएको कोठा अगाडिबाट नाइकेको कोठातिर गए । डाक्टर कुनै बिरामी कैदीसँग गए होलान् । जेलरले मलाई आफू बसेको नाइकेको कोठामा बोलाएर नाइकेको चोकरीदारलाई राखी मेरै अगाडि झपार्यो– “यहाँसँग कुनै यस्तो खराब व्यवहार नगर्नू । त्यस्तो नगर्ने काम गरे तिमीहरूको के दशा होला ? थाहा पाउने छौ । यहाँ सुत्ने कोठाबाट दुई जना कैदीलाई अर्को कोठामा सारी यहाँलाई सुबिस्ता गर्नू ।”
यति भनेपछि मलाई पठाइदिए र आफूहरू त्यहीँ बसी के के कुरा गरे । पछि म बस्ने कोठाबाट दुई जना कैदीहरूलाई सारिसकेपछि त्यहाँ मलाई अलि सुबिस्ता भयो ।
पञ्चायतले जनमतमा जितेपछि बहुदल पक्षधरसँग धेरै डाह र दुस्मनीको व्यवहार गर्न थालेको थियो । त्यो अवस्थामा चुनाव बहिष्कार गर्ने पार्टीका कार्यकर्तासँगको त झन् कुरै नगरौँ । दासप्रथाको अवशेष सामन्ती प्रथामा समाज परिवर्तन चाहने र त्यो उद्देश्यमा लागेकालाई यस्तै हुन्छ भनी मैले चित्त बुझाउँथे । पछि त कहिले कहिले जेलर पनि मकहाँ आएर भेट गर्ने, सोधपुछ गर्ने गर्दथे । जे होस्, तीन महिनासम्म विभिन्न यातना भोगियो र तीन महिनापछि भने त्यति साह्रो भएन । छ महिनाको सजायपछि असोज महिनामा रिहा भएँ ।
बहिष्कार आन्दोलनका मागमध्ये कैलाली गाउँछेउमा रहेका दुईओटा रक्सी भट्टी बन्द गर्ने पनि थिए । २०४० सालमा प्रायश: भट्टीविरोधी आन्दोलन उठाउने काम भएको थियो र त्यो आन्दोलनले बजार एरियाबाट समेत ठुलो समर्थन प्राप्त गरेको थियो किनकि भट्टीहरूको कालोपानी कैलाली नालाबजार एरिया भएर बग्ने गर्दथ्यो । आखिरमा भट्टी हटे । अर्को विमानस्थलको लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा रु. चार हजार प्रतिबिगाहबाट दस हजार प्रतिबिगाह दिने सरकारी निर्णय भयो ।
बिजुलीबत्ती बहुदल आएपछि २०४६ सालमा आयो । यसरी हाम्रो त्यो आन्दोलनको उपलब्धिमूलक रह्यो र रक्सी भट्टी मसाल पार्टीले हटायो भन्ने कुरा जिल्लाभरि प्रचार भयो । अहिलेसम्म पनि बेलाबखत् यी कुरा विभिन्न पार्टीका मान्छे र अन्यले उठाइराख्छन् ।
समाजमा सुधार, परिवर्तन र आमूल परिवर्तन गर्न खोज्नेलाई समय समयमा सामन्ती, पुँजीवादी, प्रतिक्रियावादी सत्ताधारीबाट यातना, हत्यासम्म हुने गर्दछ । यसबाट परिवर्तनकारी र क्रान्तिकारी आत्तिनु हुँदैन । ती सबैको साहसपूर्वक सामना गर्नुको विकल्प रहँदैन । सङ्घर्षको सन्दर्भमा यस्ता यातना त २०२९, २०३९, २०४६, २०४२, २०४८ र २०६२–६३ सामाल मैले भोग्दै आएको छु र भविष्यमा पनि भोग्नुपर्ने हुन्छ ।