काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताउनुभएको छ ।
२०८० साउन १९ गते शुक्रवार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति केसीले राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको बताउनुभएको हो ।
उहाँले कुनै पार्टी र व्यक्ति विशेष मात्र नभई सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको बताउनुभयो ।
‘अहिलेको नेपालको स्थिति धेरै गम्भीर छ । यो राज्यसत्ता नै लुटपाटमा, भ्रष्टाचारमा लागिसकेपछि गर्नुहुन्छ के ? कसलाई थाहा छैन ? यहाँ कुन चाहीँ पार्टी हो ? कुन चाहीँ व्यक्ति हो ? भन्नुभन्दा पनि राज्यसत्ता पूरै लुटपाटमा सामेल भइसकेपछि त गाह्रो छ हामीलाई’ केसीले भन्नुभयो– ‘तैपनि हामीले हरेश खानेकुरा भएन । यो लोकतन्त्र छ र हामीले कमसेकम जनताको बीचमा समसामयिक विषयमा कुरा गरिराखेका छौँ ।’
उहाँले राज्यव्यवस्था तथा सुशासन समितिमा सभापतिको निर्वाचन छिटोभन्दा छिटो हुनुपर्ने पक्षमा आफू रहेको बताउनुभयो ।
उहाँले समितिको बैठक बस्न नसक्नुमा आफ्नो मात्रै दोष नभएको भन्दै उहाँले यसको दोष सबैले लिनुपर्ने बताउनुभयो ।
बैठक बस्नका लागि आफूले समिति सदस्यहरूसँग छलफल गर्दा एजेन्डा छैन भनेर पन्छाइएका कारण बैठक बस्न नसकेको उहाँले जानकारी गराउनुभयो ।
‘सभापतिको चुनाव हुनुपर्छ भन्ने मेरो मान्यता हो । यहाँ भनाइ के आयो भने हामी सबैको बराबर जिम्मेवारी हो नि त त्यो । म यहाँ उमेरले जेठो भएकाले अहिले एकछिन सभापति भएको न हो । मैले बैठक बोलाएन भनेर त्यसरी मेरो थाप्लोमा हाल्नु त भएन नि । सल्लाहमा मैले भनिरहेको छु, किन बैठक बस्दैन ? साथीहरूले भन्नुहुन्छ, अहिले भर्खरै एजेन्डा छैन’ उहाँले भन्नुभयो– ‘यो बैठकलाई निरन्तरता दिनुपर्छ । म केही गरी अनुपस्थित भए पनि खुर्सानीबिना भान्सा अड्कन्न भन्छन् नि । त्यसकारण माननीयज्यूहरूले पहल गरेर यो बैठकलाई चलाउनुपर्छ ।’
उहाँले आजको बैठकमा गृहमन्त्रीलाई बोलाइएको भए पनि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकका कारण गृहमन्त्री आउन नसक्ने जानकारी आफूलाई गराउनुभएको बताउनुभयो ।
उहाँले मुलुकको तस्बिर डरलाग्दो देखिएको भन्दै सबैले जिम्मेवार भएर सडक, सदन र समितिमा गम्भीर रूपले अगाडि जानुपर्ने बताउनुभयो ।