भरतपुर । कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो (भाइरल फिभर) र छालाको समस्या देखिएको छ ।
केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा भाइरल फिभर र छालाको समस्या देखिएको हो ।
कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीसँगै भाइरल फिभर देखिएको हो । उहाँका अनुसार अहिले कारागारमा रहेका कैदीबन्दीमा १० जनामा भाइरल फिवरको समस्या देखिएको छ ।
क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण यो सङ्क्रमण बढ्ने उहाँको भनाइ छ । भाइरल फिभरसँगै गर्मी समयमा छालामा लाग्ने दाज र ढुसीका कारण हुने समस्या देखिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘छालाको समस्याका बिरामीको सङ्ख्या एक सय ५० जनाभन्दा बढिरहेका छन् ।’
कारागारमा सङ्क्रमण फैलन नदिनका लागि आफूहरूले उच्च सतर्कता अपनाएको उहाँले जानकारी दिनुभयो । रोगको सङ्क्रमण फैलन नदिनका लागि रोगको रोकथामका लागि स्वास्थ्य शिक्षा र व्यक्तिगत सरसफाइमा ध्यान दिन लगाइएको उहाँले बताउनुभयो ।
२५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा अहिले ५० र दुई सय ५५ जनाको क्षमता रहेको पुरुषबन्दी गृहमा सात सय २९ जना रहेका छन् । उनीहरूसँग आश्रित तीन जना बालबालिका रहेका छन् । (रासस)