बागलुङबजार । बसाइँसराइका कारण गाउँ रित्तिन थालेपछि बागलुङ गलकोटका सामुदायिक विद्यालयका विद्यार्थी लिन घरघरमै गाडी पुग्न थालेको छ ।
तहमिलान र विद्यालय समायोजनपछि नगरपालिकाले विद्यार्थीलाई यातायातको सुविधा दिएको हो ।
यातायातको सुविधा पाएपछि आजाभोलि विद्यार्थी लिन गाडी घरघरमा पुग्छन् । गाडी आफूलाई घरमै लिन आएपछि विद्यार्थी पनि उत्साहित छन् । दैनिक घण्टौँ लगाएर विद्यालय पुग्ने विद्यार्थी अहिले छोटो समयमा नै पुग्छन् भने समयमै घरमा फर्किने गरेका छन् ।
गलकोट नगरपालिकाको सबैभन्दा टाढाको बस्ती झिर्का र टोकरीगाउँ हुन् । यी गाउँबाट आधारभूत र माध्यमिक तह अध्ययन गर्न जनहित माध्यमिक विद्यालय मल्लमा झनुपथ्र्यो ।
विद्यालय झर्दा ओरालो पर्ने हुँदा एकै घण्टामा पुग्ने गरे पनि घर फर्किंदा दुई घण्टा बढी लाग्थ्यो । अहिले नगरपालिकाले पिकअप जीपमा विद्यार्थी ओसारपसार गर्न थालेपछि समयमै घरमा पुग्न थालेका छन् ।
हिउँदमा भन्दा बर्खाको समयमा बढी समस्या भोगेको जनहित माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी निकिता थापाले बताउनुभयो । थापाले ११ कक्षा पढ्नसम्म पढ्दासम्म निकै समस्या भोगेको सुनाउँदै केही दिनदेखि गाडी घरमै लिन आउने गरेको बताउनुभयो ।
‘बिहान ८ नबज्दै स्कुल हिँड्नुपथ्र्यो, ४ बजे बिदा भएर घरमा आउँदा झमक्कै रात परिसक्थ्यो, अझ बर्खाको समयमा रुझ्दै भिज्दै हिँड्नुपथ्र्यो, अहिले त जति पानी परे पनि समस्या हुँदैन‘ थापाले भन्नुभयो– ‘घरमा आएर समयमै गृहकार्य गर्न पाइन्छ । बिहान स्कुल जान हतार गर्नु पनि पर्दैन । सानासाना भाइबहिनी पनि गाडी आउन थालेपछि स्कुल जान खोज्छन् । रमाइलो पनि हुन्छ । सजिलो पनि भएको छ । अब घर पुग्दा रात पर्ने चिन्ता, स्कुल जाँदा ढिलो होला भन्ने पिर हरायो ।’
अभिभावक पनि खुसी
नगरपालिकाले टाढाका विद्यार्थीलाई यातायातको सुविधा दिएपछि बालबालिकामा विद्यालय जाने रुचि बढेको स्थानीय विष्णु थापाले बताउनुभयो ।
उहाँले गाडी सञ्चालनमा आउनुपूर्व बिहान विद्यालय पुर्याउन जाने र साँझ ल्याउन जाँदा आफ्नो काम धन्दा छुट्ने गरेको भन्दै अहिले गाडीले लैजाने र ल्याइदिने भएपछि धेरै सहज भएको बताउनुभयो । आफ्नो छोराछोरीले घर नजिकैको विद्यालयमा पढ्दै आएकोमा यस वर्षदेखि तह मिलानका कारण टाढाको विद्यालय जानुपर्नेस्थित आएको उहाँको भनाइ छ । टाढा जान परे पनि गाडी सुविधाले कुनै समस्या नहुने उहाँ बताउनुहुन्छ ।
‘पहिला छोराछोरीलाई एक्लै स्कुल पठाउन डर लाग्थ्यो । अप्ठेरो बाटो कतै लडेकी, चोटपटक लगाएकी भन्ने डर हुन्थ्यो । बिहान लैजान र साँझ ल्याउन जानुपर्ने बाध्यता थियो । अहिले बिहान सरसफाइ गरेर खाना दिएपछि गाडी ल्याउन आउँछ । साँझ आफैँले ल्याइदिने हुँदा ढुक्क भएका छौँ’ उहाँले भन्नुभयो– ‘नगरपालिकाले दुर्गम गाउँका बालबालिकाका लागि ठुलो काम गर्यो । यहाँका बालबालिकाको समस्या बुझेकोमा धन्यवाद दिनुपर्छ । केटाकेटीको पढाइ पनि राम्रो हुनेछ अब ।’
गलकोट नगरपालिकाले यस वर्ष पाँचओटा विद्यालय तह मिलान र छओटा विद्यालय समायोजन गरेको छ । तह मिलान तथा विद्यालय समायोजन कार्यविधि–२०७९ नगरसभाबाट पारित गरेर कार्यान्वयन गर्न थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी (हेमन्त) ले जानकारी दिनुभयो । गलकोट भौगोलिक हिसाबले छरिएको र बसाइँसराइ तथा विदेश जानेको सङ्ख्या बढेपछि विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदा तहमिलान तथा विद्यालय समायोजन गरेको उहाँको भनाइ छ ।
वडा नम्बर ७ स्थित मल्मको देउराली आधारभूत विद्यालय, नेटा आधारभूत विद्यालयलगायतका विद्यालयको तह मिलान गर्दा दूरीले टाढा पर्ने विद्यार्थीलाई यातायात सुविधा दिएको उहाँको भनाइ छ । विद्यार्थीलाई यातायातको सुविधा दिनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको प्रवक्ता भण्डारीले बताउनुभयो । (रासस)