खिमराज चालिसे चंडिगढ (भारत) ।
भारत हिमाचल राज्यको किन्नौरमा १ अगस्तका दिन निधन भएका मोतिलालका आफन्त नभेटिएपछि मूल प्रवाह अखिल भारत नेपाली एकताले दाहसंस्कार गरेको छ ।
मूल प्रवाहले स्थानीय जनता र नेपालीको सहयोगमा अगस्त ३, २०२३ का दिन दाहसंस्कार गरेको हो ।
त्यसँगै मूल प्रवाहले निज मृतक मोतिलालका आफन्तको खोजीकार्यलाई पनि तीव्रता दिएको जनाएको छ ।
किन्नौरको छोटाकम्बा गाउँमा १ अगस्तको बाटोमा अर्धमुर्छित अवस्थामा भेटिएका मोतिलालको स्थानीय गाउँलेले हस्पिटल लैजाने क्रममा मृत्यु भएको मूल प्रवाह किन्नौरले बताएको छ ।
किन्नौर पुलिसद्वारा जारी गरिएको उनको परिचयपत्रको आधारमा मृतक मोतिलाल किशन राना, सल्लीबजार सल्यानका छोररा रहेको देखिन्छ । त्यसपछि मूल प्रवाहले उक्त घटनाबारे परिवारसँग सम्पर्क गर्न धेरै प्रयास गरे पनि हालसम्म त्यस कार्यमा सफलता मिलेको छैन ।
मूल प्रवाहले हिजो अगस्त ३ का दिन जिल्ला प्रशासन कार्यालय सल्यानका जिल्ला प्रशासनलाई पनि यस विषयमा जानकारी दिएको छ ।
मूल प्रवाहले मोतिलालका आफन्तको बारेमा जानकारी पाइएमा नजिकको मूल प्रवाहमा सम्पर्क गर्न/गराउन अनुरोधसमेत गरेको छ ।