धनवीर पुन, नयाँदिल्ली (भारत) ।
पश्चिम भारतको दमन, सिलवासा, वापी पूर्व र वापी पश्चिममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसीको प्रमुख आतिथ्यमा अगस्त २, २०२३ बुधबारका दिन वामपीमा सो कार्यक्रम सम्पन्न भएको हो ।
चारैओटा महिला नगर विभाग आयोजक रहेको उक्त कार्यक्रममा प्रशिक्षण दिँदै जिसीले रोजीरोटीका लागि भारत प्रवासमा आउने लाखौँलाख नेपालीमध्ये महिलाको ठुलो सङ्ख्या रहेको बताउनुभयो ।
उहाँले भारतस्थित नेपाली महिला आफ्नो समस्या समाधानका लागि मूल प्रवाहबाट साङ्गठनिक गतिविधि सुरु गर्नु वस्तुगत आवश्यकता हुने बताउनुभयो ।
कार्यक्रममा विशेष उपस्थिति मूल प्रवाहका केन्द्रीय सदस्यहरू गोविन्दबहादुर थापाको थियो ।
सो अवसरमा मूल प्रवाहकै केन्द्रीय सदस्य रमकला काउछा, कृष्ण कुँवर र श्रीधर शर्मा, महिला विभाग केन्द्रीय सदस्य बिना काउछा, पश्चिम भारत महिला विभागकी संयोजक विष्णुमाया शर्मा, वापी पश्चिम नगर समितिका अध्यक्ष निखिल रावत, दमन नगर समितिका अध्यक्ष शेरबहादुर विक, क्षेत्रीय सदस्य देवेन्द्र रावलको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रमको अध्यक्षता वापी पश्चिम नगर महिला विभागकी संयोजक लक्ष्मीले, स्वागत क्षेत्रीय सदस्य शोभा धामीले र सञ्चालन पुतली कुँवरले गर्नुभएको थियो ।


