काठमाडौं । राष्ट्रिय जनमोर्चा कञ्चनपुर र कैलालीको जिल्ला सम्मेलनको तयारी तीब्र गतिमा अगाडि बढेको छ ।
राजमो कञ्चनपुरको सम्मेलनको उद्घाटन भदौ २५ गते बेलौरीमा हुँदैछ । सम्मेलनको उद्घाटन गर्न अध्यक्ष चित्रबहादुर केसी जाने कार्यक्रम छ ।
यस्तै, कैलालीको सम्मेलनको उद्घाटन पनि अध्यक्ष केसीले नै गर्नुहुने छ । भदौ २६ गते हुने सम्मेलनको आन्तरिक तयारी भइरहेपनि स्थान भने तय भइ नसकेको अध्यक्ष जगतप्रसाद जोशीले बताउनुभयो ।
‘सम्मेलन तयारीका क्रममा स्थानीय तहमा बैठक, भेला, सम्मेलन गरिरहेका छौँ । धनगढी उपमहानगरको बैठक भर्खरै सकिएको छ’ अध्यक्ष जोशीले भन्नुभयो, ‘जिल्ला सम्मेलन धनगढी वा अत्तरिया कहाँ गर्ने भन्ने ठेगान हुन बाँकी छ ।’
यता, राजमो कञ्चनपुरले पनि सम्मेलन तयारीलाई तीब्रता दिएको छ । अध्यक्ष रामबहादुर कार्कीका अनुसार बेलौरीमा जुलुश प्रदर्शनसहित सम्मेलनको उद्घाटन हुनेछ । बन्दसत्र उद्योग वाणिज्य संघको सभाहलमा गर्ने कार्यक्रम छ ।
कञ्चनपुरले पालिकास्तरमा बैठक तथा भेलाहरु गरिरहेको छ । बेलौरी नगरपालिका, भीमदत्त नगरपालिका र लालझाडी गाउँपालिकामा बैठक बसेको छ भने शुक्लाफाँटा नगरपालिकामा भेला सम्पन्न भएको छ ।
यस्तै, बेलौरी नगर समितिले यही साउन २७ गते सम्मेलनको मिति तय गरेको छ भने महेन्द्रागर नगर समितिको बैठकले साउन २५ गतेका लागि सम्मेलन तय गरेको छ । बाँकी पालिकाहरुमा पनि साउन महिनाभित्रमा बैठक तथा भेलाहरु हुनेछन् ।

कार्यकर्ता उत्साहित
सम्मेलनमा अध्यक्ष केसी आउने भएपछि आम कार्यकर्तामा उत्साह थपिएको राजमो कञ्चनपुरका अध्यक्ष कार्कीले बताउनुभयो ।
‘साथीहरु उत्साहित भएका छन् । कतिपय निस्क्रिय रहेका साथीहरुसमेत अध्यक्ष केसी आउने भएपछि बैठकमा आउने र सम्मेलन तयारीको जिम्मेवारी लिने काम गरिरहनुभएको छ’ कार्कीले भन्नुभयो ।
कञ्चनपुरमा नौ वटा पालिका छन् । जिल्ला सम्मेलनअघि सबै पालिकामा भेला वा सम्मेलन गरिसक्ने योजना रहेको अध्यक्ष कार्कीले बताउनुभयो ।
यता, कैलालीका कार्यकर्ताहरुमा पनि उत्साह थपिएको अध्यक्ष जोशीले बताउनुभयो । कैलालीका १३ वटै पालिकाबाट सम्मेलनमा प्रतिनिधित्व हुने गरी तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।