मिना पुन
सन् १९११ देखि संसारभरका श्रमिक महिलाले ८ मार्चलाई श्रमिक महिला दिवसको रूपमा मनाउँदै आएका छन् । पुँजीवादी व्यवस्थामा भएको मजदुर वर्गमाथिको शोषण विरुद्धको आन्दोलनको गर्भबाट ८ मार्चको जन्म भएको हो । ८ मार्चले महिला मजुदरमाथिको चरम शोषण, अन्याय, अत्याचार र भेदभावको विरुद्ध उनीहरूले गरेको ऐतिहासिक आन्दोलनको गौरवपूर्ण इतिहास बोकेको छ । अन्तर्राष्ट्रिय महिला मुक्ति आन्दोलनको सन्दर्भमा ८ मार्चलाई एउटा ऐतिहासिक दिनको रूपमा स्मरण गर्ने गरिन्छ । उक्त दिनलाई विश्वभरिका महिलाले विभिन्न कार्यक्रमको साथ मनाउने गर्दछन् ।
सामन्ती व्यवस्थाले महिलालाई घरको चारदिवारभित्र सीमित राख्ने र उनीहरूलाई उत्पादनको शक्ति नै नमान्ने चिन्तनबाट ग्रस्त थियो । त्यसकारण उक्त सामन्ती व्यवस्थाको सदियौँ वर्षसम्म महिलाले घरेलु अनुत्पादक काममा मात्र सीमित रहे । उनीहरूले घरेलु कामभन्दा बाहिर निस्केर उत्पादनमूलक काममा सहभागी हुनेबारेमा कुनै प्रकारको अवसर नै पाएनन् र त्यसमा नै कुण्ठित भए ।
पुँजीवादी व्यवस्थाले सामन्ती व्यवस्थाको महिलाप्रतिको गलत चिन्तनको अन्त गर्दै उनीहरूलाई घरको चारदिवारबाट बाहिर निकालेर उत्पादनको क्षेत्रमा सहभागी गरायो । यस प्रकारको कार्य महिलाका लागि निकै महङ्खवपूर्ण कदम थियो । जीवनका सम्पूर्ण समय घरको चुलाचौका, बालबच्चाको जन्म र स्याहारसुसार, वृद्धावृद्धको पालनपोषण, सरसफाइ आदि अनुत्पादक घरेलु काममा बिताउनुपर्ने अवस्थाबाट मुक्त भएर घरभन्दा बाहिर कलकारखानामा पुरुषसरह उत्पादनशील काममा सहभागी बन्न पाउनु महिलाका लागि सामान्य विषय थिएन । त्यो महिला मजदुरसमेतको लामो समयदेखिको आन्दोलनको महङ्खवपूर्ण उपलब्धी थियो । तर यो व्यवस्थाले पनि महिलामाथि विगतका व्यवस्थाले थोपरेका आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका विभेदबाट उनीहरूलाई मुक्त गर्नेभन्दा पनि झन् दोहोरो श्रमको शिकार बनायो ।
पुँजीवादी व्यवस्थाले महिलालाई पुरुषसरह आर्थिक क्षेत्रमा उत्पादनमूलक काममा सहभागी बन्ने अवसर त दियो । तर विगतदेखि गर्दै आएको घरेलु श्रमबाट भने उनीहरू मुक्त हुन सकेनन् । त्यसकारण महिलाहरू दोहोरो शोषणको मार खेप्न बाध्य भए । एकातिर, महिलाले मजदुर भएका कारण मतदानको अधिकारबाट वञ्चित, ज्यालामा असमानता, असीमित कामको समय, कारखानाको कैयौँ अव्यवस्थाको विरुद्ध सङ्घर्ष गर्नुपर्ने भयो भने अर्कोतर्फ, घरपरिवारका सम्पूर्ण कार्यका जिम्मेवारी पनि आफैले बहन गर्नुपर्ने भयो । त्यसो हुनाले पुरुष मजदुरको तुलनामा महिला मजदुरले अझ बढी श्रमको चाप परेकाले त्यसको विरुद्धमा सङ्घर्ष गर्नुपर्ने अवस्थाको सृजना भयो ।
महिला मजदुरले आफूमाथि भइरहेका सबैखाले भेदभावको अन्त र पुरुषसरह समान अधिकारका लागि आन्दोलनलाई निरन्तर अगाडि बढाए । अमेरिका, युरोपलगायतका महादेशका विभिन्न देशमा कलकारखानामा काम गर्ने महिला मजदुरले आफ्ना माग पूरा गराउन आन्दोलनलाई व्यापक बनाएर गरे । त्यस क्रममा कैयौँ मागहरू आन्दोलनकै माध्यमबाट प्राप्त गरेका पनि छन् ।
१८३२ मा हल्यान्डका महिलाले असमान ज्यालाको विरोधमा व्यापक आन्दोलन गरेका थिए । १८३५ मा बोस्टनका मजदुर महिलाले असीमित कामको समयलाई १० घण्टामा मात्र सीमित गर्नुपर्ने माग गर्दै ठुलो आन्दोलनको घोषणा गरे । १८४८ मा अमेरिकाका श्रमिक महिलाले समान ज्याला, मतदान अधिकारको माग गर्दै आन्दोलनको सुरुवात गरे । १८६४ मार्च ८ का दिन अमेरिकाको न्युयोर्कमा रहेका कारखानामा महिलाले व्यापक प्रदर्शन गरेका थिए ।
कामको समय ८ घण्टा गराउनुपर्ने, मतदानमा अधिकार पाउनुपर्ने मागसहित उक्त आन्दोलन भएको थियो । १८६७ मा अमेरिकाको म्यानचेस्टर शहरमा महिलाको मताधिकारको माग, समान ज्याला, ८ घण्टा कामको समयको माग गर्दै व्यापक आन्दोलन भए । यसरी विभिन्न समयमा विभिन्न देशका शहरमा भएका ठुला ठुला महिला आन्दोलनको बलबाट त्यहाँका महिलाले मतदानको अधिकार, ८ घण्टाको कामको समयलगायतका अधिकार कानुनी रूपमा नै प्राप्त गर्न सफल भएका थिए । १८६८ मा नै अमेरिकाले उक्त अधिकारलाई कानुनी रूपमा स्वीकार गरेको थियो । तर त्यसको कार्यान्वयन भएन ।
महिला आन्दोलनलाई समाजवादी दिशामा अगाडि बढाउने काममा क्लारा जेटकिनको महङ्खवपूर्ण भूमिका रहेको छ । क्लारा जेटकिन १८८९ मा भएको द्वितीय अन्तर्राष्ट्रियको स्थापना कांग्रेसकी एक कार्यकर्ता थिइन् । उक्त कांग्रेसमा उनैले महिलाका हक, अधिकारको पक्षमा व्यापक आवाज उठाइन् । १९०७ मा जर्मनको स्टुटगार्डमा प्रथम अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन सम्पन्न भयो ।
सम्मेलनले क्लारा जेटकिनलाई सेक्रेटरीमा निर्वाचित ग¥यो । उनी १९१७ सम्म उक्त पदमा रहेर महिला आन्दोलनलाई समाजवादी दिशामा अगाडि बढाउन भूमिका खेलिन् । १९०८ मार्च ८ का दिन न्युयोर्कमा महिलाले मतदानमा अधिकारको माग गर्दै पुनः ठुलो आन्दोलन गरे भने १९०९ मार्च ८ कै दिन अमेरिकाको सिकागो शहरमा मजदुर महिलाले आफ्नो अधिकारको माग गर्दै आम हडताल र जुलुश प्रदर्शन गरे । १९१० मा डेनमार्कको कोपनहेगनमा दोस्रो अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन सम्पन्न भयो ।
उक्त सम्मेलनमा क्लारा जेटकिनले विभिन्न देशमा चलेको श्रमिक महिलाको आन्दोलनको समर्थन गर्दै ८ मार्चलाई श्रमिक महिला दिवसको रूपमा मनाउने प्रसताव गरिन् । सम्मेलनले उनको प्रस्तावलाई पारित ग¥यो । सम्मेलनमा श्रमिक महिलाको हक, हितको बारेमा दैनिक ८ घण्टा कामलगायतका विषयमा व्यापक छलफल भएका थिए भने महिलाका लागि पूर्ण मतदानको प्रस्ताव पनि पारित भएको थियो । सम्मेलनले मजदुर महिलाको आन्दोलनलाई समाजवादी आन्दोलनको अङ्गको रूपमा अगाडि बढाउनेबारेमा पनि व्यापक छलफल गरेको थियो । १९११ देखि ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा विश्वभरि नै मनाउन थालियो ।
१९११ मा जर्मनी, फ्रान्स, अमेरिका, अस्ट्रेलिया, स्विटजरल्यान्ड, डेनमार्क, बेलायत, इटालीलगायत १८ देशमा भव्य रूपमा ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको थियो । १९१३ मा बर्नमा सम्पन्न समाजवादी महिलाको सम्मेलनले समाजवादी आन्दोलनलाई अगाडि बढाउन सङ्घर्ष गर्नुपर्ने विषयमा जोड दिएको थियो । १९१७ मार्च ८ का दिन रुसको श्रमिक महिलाले तानाशाही जार शासनको विरुद्ध पिटर्सबर्गमा व्यापक जुलुश प्रदर्शन गरेका थिए भने सम्पूर्ण मजदुरले आम हडताल गरेर समर्थन जनाएका थिए । उक्त दिनको मजदुरको आन्दोलनले रुसमा जारशाही शासन खतम गर्न र समाजवादी व्यवस्थाको स्थापना गर्ने ठुलो आधार बनेको थियो ।
१९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो । त्यसपछि भएका अन्तर्राष्ट्रिय सम्मेलन र त्यसको नेतृत्वले दक्षिणपन्थी संशोधनवादी दिशा लिँदै गयो । त्यसका साथै अन्तर्राष्ट्रिय महिला आन्दोलन कम्युनिस्ट विचार र सामाजिक प्रजातन्त्रवादी विचारको रूपमा विभाजित हुँदै गयो । खासगरी १९१९ मा वासिङटनमा, १९२५ मा भर्सिलिसमा, १९२६ र १९२८ मा ब्रसेल्समा भएका अन्तर्राष्ट्रिय सम्मेलनले समाजवादी क्रान्तिको विरुद्ध जाने तथा पुँजीवादी सत्तालाई समर्थन गर्ने नीति अपनाउँदै गए ।
उक्त सम्मेलनमा महिला मजदुरको हितको रक्षा, आमा र बच्चाको कल्याण, बेरोजगारी समस्याको समाधानलगायतका सुधारवादी कार्य गर्नेबारेमा सीमित रह्यो । त्यस प्रकारको सम्मेलन र त्यसको नेतृत्वले लिएको संशोधनवादी दक्षिणपन्थी नीतिका विरुद्ध क्लारा जेट्किनलगायतका समाजवादी नेतृले कडा शब्दमा असहमति राखे ।
यसरी पछिल्ला दिनमा महिला आन्दोलनका दुवै विचार सामाजिक प्रजातान्त्रिक विचार र कम्युनिस्ट विचारका बिचमा गम्भीर अन्तरविरोध बढ्दै गयो । यी दुईबिचको अन्तरविरोध के हो भन्नेबारेमा स्पष्ट पार्दै क्लारा जेट्किनले भनेका छन्– “महिलाको पूर्ण मुक्ति पुँजीवादी समाजमा सुधार गरेर सम्भव छ वा क्रान्तिद्वारा मात्र ? त्यो नै प्रमुख प्रश्न हो, जसले दुवै महिला आन्दोलनलाई एक–अर्काबाट आधारभूत रूपमा र कार्यनैतिक रूपले नै एक–अर्कालाई छुट्याउँछ ।” क्लारा जेटकिनको उक्त विचारले यो स्पष्ट हुन्छ कि महिलाको पूर्ण मुक्ति समाजवादी व्यवस्थामा मात्र सम्भव छ र ८ मार्चको मूल मर्म नै समाजवादी क्रान्ति हो । हामीले ८ मार्चको मूल मर्मलाई आत्मसात गर्दै महिला आन्दोलनलाई समाजवादी क्रान्तिको दिशामा अगाडि बढाउनुपर्दछ ।
संसारमा धेरै प्रकारका क्रान्ति र परिवर्तन भएका छन् । तर ती कुनै पनि प्रकारको बुर्जुवा क्रान्ति र परिवर्तनले महिलालाई मुक्ति दिन सकेको छैन । पुँजीवादी व्यवस्थाले महिलालाई उत्पादन प्रक्रियामा सहभागी बनाएता पनि उनीहरूमाथिको विभेदलाई भने कायम नै राखेको छ । अहिले पनि महिलाहरू पुँजीवादी उत्पीडनको शिकार बनिरहेका छन् । पुँजीवादले भोग्नुपरेको सामाजिक सङ्कटको पहिलो शिकार महिला नै भएका छन् ।
आर्थिक सङ्कटको कारण मजदुरमा कटौती गर्नुपरेमा सबैभन्दा पहिला महिला मजदुरलाई नै निकाल्ने गरिन्छ भने अहिलेसम्म पनि संसारभरका महिला मजदुरले पुरुषको तुलनामा कम ज्याला पाउँछन् । साम्राज्यवादी युद्धले सबभन्दा बढी महिला र बालबालिकालाई पीडा दिइरहेको छ । यही व्यवस्थाले नै महिलाको मानवताको पर्दा च्यातेर वस्तुसरह किनबेच गर्ने र खेलौनाको रूपमा लिने गर्दछ । पुँजीवादी व्यवस्थाले पैसाका लागि आफ्नो शरीर बेच्नुपर्ने बाध्यतामा महिलालाई पारेको छ ।
यो पुँजीवादी व्यवस्थाको उपज हो । त्यति मात्र होइन, महिलाहरू इज्जत र प्रतिष्ठाका लागि विदेश जाने विश्वभरिकै कैयौँ महिलाले अपमानित जीवन बिताइरहेका छन् । पुँजीवादी व्यवस्थाले महिलाको हक, हितको रक्षा गर्न र उनीहरूलाई पूर्ण मुक्ति दिन सक्दैन । त्यसकारण पुँजीवादी व्यवस्थाको अन्त र यसको ठाउँमा नयाँ जनवादी व्यवस्था हुँदै समाजवादी व्यवस्था स्थापनाका लागि हाम्रो आन्दोलन अगाडि बढाउनुपर्दछ ।
१९१७ मा रुसमा भएको समाजवादी क्रान्तिले मात्र महिलालाई वास्तविक मुक्तिको प्रत्याभूति दिन सफल भएको थियो । समाजवादले महिलाको मुक्तिका लागि उनीहरूलाई घरको निजी काममा सहभागी बनाएको थियो । उनीहरूलाई घरेलु अनुत्पादक कामबाट बाहिर निकाल्न र ठुलो मात्रामा सामाजिक उत्पादनको काममा लाग्ने वातावरण तयार गर्नका लागि कैयौँ प्रकारका आधारशिला खडा गरिएका थिए । जस्तै– सार्वजनिक भोजनालय, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, कपडा धुने सार्वजनिक पसल, सामूहिक फार्मलगायतका आधारशिला, जसले महिलालाई घरभित्रको निजी अनुत्पादक कामबाट छुट्कारा दिलाएर सार्वजनिक उत्पादनका काममा पुरुषसरह लाग्न र महिला र पुरुषका बिचको भेदभावलाई मेटाउन महङ्खवपूर्ण आधार तयार भयो ।
एक प्रसङ्गमा लेनिनले भनेका थिए– “हामीहरू सामूहिक भान्साघर, कपडा धुने एवम् मर्मत गर्ने पसल, शिशुगृह, किन्डरगार्टेन, बालबालिकाका लागि घर तथा सबै किसिमका शैक्षिक संस्था स्थापना गरिरहेका छौँ । सङ्क्षेपमा हामीहरू अलग अलग गृहस्थीको प्रबन्ध तथा शिक्षासम्बन्धी कार्यलाई समाजको जिम्मा लगाउने आफ्ना कार्यक्रमको मागलाई गम्भीरतापूर्वक पूरा गरिरहेका छौँ । यसरी महिलाहरू आफ्ना पुराना घरेलु दासता तथा पुरुषमा निर्भर रहने अवस्थाबाट मुक्त हुँदै छन् ।” लेनिनको उक्त भनाइले समाजवादीले नै महिलालाई सबैखाले दासताबाट मुक्त गर्न र उनीहरूलाई पूर्ण स्वतन्त्रता प्रदान गर्न पूरा ध्यान दिन्छन् भन्ने कुरा स्पष्ट हुन्छ ।
यस प्रकारका व्यवस्थाका साथै रुसमा सम्पूर्ण असमान कानुनको अन्त गरियो । महिला र पुरुषको बिचमा पूर्ण समानता कायम गर्ने कानुन निर्माण गरियो । यसरी रुसी समाजवादी व्यवस्थाले त्यहाँको महिलाको जीवनमा आमूल परिवर्तन ल्याइदियो । त्यसबेला रुसी महिलाले जुन खालको अधिकार प्राप्त गरे, त्यति अधिकार संसारभरिका कुनै पनि देशका महिलाले प्राप्त गर्न सकेका थिएनन् ।
अहिलेसम्म पनि कुनै देशका महिलाले त्यति अधिकार प्राप्त गर्न सकेका छैनन् । रुसको समाजवादी क्रान्तिको विश्वभरिका शोषित, उत्पीडित जनताका लागि ठुलो महङ्खव छ । अहिले रुसलगायत विश्वका कुनै पनि देशमा समाजवादी व्यवस्था छैन । तर विश्वभरि विद्यमान पुँजीवादी व्यवस्थालाई समाप्त गरेर समाजवादी व्यवस्थाको स्थापनाका लागि ८ मार्चले प्रेरणा प्रदान गर्दछ नै ।
८ मार्चको सन्दर्भमा हामीले महिलालाई समाजवादी व्यवस्थाको स्थापना नभइकन उनीहरूको समस्याको ठोस समाधान हुँदैन भन्नेबारेमा चेतना जगाउने प्रयत्न गर्नुपर्दछ । विभिन्न प्रतिक्रियावादी व्यवस्थाअन्तर्गत पनि हामीले महिलाका बढीभन्दा बढी अधिकार र सुविधा प्राप्त गर्न सक्दछौँ । त्यसका लागि सङ्घर्ष गर्न जरुरी छ । तर महिलाका समस्याको अन्तिम समाधान समाजवादी व्यवस्थाको स्थापनापछि मात्रै सम्भव हुन्छ । ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले महिला आन्दोलनलाई त्यो दिशामा अघि बढाउन प्रेरणा प्रदान गर्ने छ ।