चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा
युगदर्शन मिडियाले सत्रौँ वर्ष पूरा गरेर अठारौँ वर्षमा प्रवेश गरेको तथा युगदर्शन साप्ताहिकले सातौँ वर्षमा पूरा गरेर आठौँ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गर्दछौँ ।
२०६६ वैशाखदेखि सुरु भएको युगदर्शन मिडिया र सोहीअन्तर्गत २०७६ भदौ १८ गतेदेखि प्रारम्भ भएको युगदर्शन साप्ताहिकले अहिले लामो समय व्यतित गरिसकेको छ । कुनै पनि सत्ता वा शक्तिकेन्द्रको पछि नलागेर सामन्तवाद र साम्राज्यवादको विरोध गर्दै जनपक्षीय मिडिया सञ्चालन गर्नु अप्ठेरो कार्य हो । फेरि राज्यको चौथो अङ्गको रूपमा सबै प्रकारका बेथिति, विसङ्गतिको विरोधमा समाचार प्रकाशन गर्दै युगदर्शन मिडियाले लगातार आफूलाई अगाडि बढाइरहेको छ । सर्वप्रथम त हामी यस मिडियाको निरन्तरताका साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।
सञ्चारमाध्यम नागरिक स्वतन्त्रताको एउटा माध्यम हो । नागरिकको स्वतन्त्रता सञ्चारमाध्यममार्फत अभिव्यक्त हुन्छ भन्ने सबैलाई थाहा छ । त्यसैले स्वतन्त्र प्रेसलाई बलियो बनाउनु लोकतन्त्रलाई पनि बलियो बनाउनु हो । पछिल्लो समयमा सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गरेको हामी सबैलाई थाहा छ । यी सबै कठिनाइका बाबजुद युगदर्शन साप्ताहिक निरन्तर प्रकाशन भइरहनु खुसीको कुरा हो ।
हामी पुन: मिसन पत्रकारिताको रूपमा युगदर्शन मिडियासँगै त्यसको एउटा अङ्ग युगदर्शन साप्ताहिकको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।
