काठमाडौं । विज्ञहरुले सरकारले मुलुकको पछिल्लो राष्ट्रिय सुरक्षा नीति तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सुरक्षाविद्त्रय विष्णुराज उप्रेती, गेजा शर्मा वाग्ले, देवीराम शर्माले राष्ट्रिय सुरक्षा नीति बनाउनुअघि संसदमा व्यापक छलफल गराउने परिपाटीको विकास गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।
सुरक्षाविद् वाग्लेले संसदले मुलुकको सुरक्षा नीति बनाए त्यो संविधानसम्मत र जनमुखि हुने तर्क समेत गरे। उनले कर्मचारीले ड्राफ्ट गर्ने राष्ट्रिय सुरक्षा नीति उपयोगी नहुनेतर्फ पनि सरकारलाई सचेत गराए । राजनीतिक दल, सांसद र जनस्तरमा पुगेर राष्ट्रिय सुरक्षा नीति बनाउने काममा सरकार लाग्नुपर्ने सुरक्षाविद् वाग्लेको भनाई थियो ।
उनले भने, ‘नेपाल सरकारबाट जति पनि पोलिसी ड्राफ्ट हुन्छन । त्यसमा जनतासँग छलफल गर्ने हामीसँग अभ्यासनै छैन । त्यसकारण कुनै पनि नीति बनाउनु अघि प्रमुख राजनीतिक पार्टीहरुसँग, त्यसैगरी माननीय सांसदज्यूहरुसँग, सम्बन्धित विषयका विज्ञहरुसँग र स्टेक होल्डरहरुसँग परामर्श गरेर मात्रै ड्राफ्ट गर्नु पर्छ ।’
मुलुकको पछिल्लो राष्ट्रिय सुरक्षा नीति तत्काल सार्वजनिक गर्न अर्का सुरक्षाविद् विष्णुराज उप्रेतीले सरकारलाई आग्रह गरे। उनले अहिलेको राष्ट्रिय सुरक्षा नीति पर्याप्त नभएको उल्लेख गर्दै त्यसलाई संसदमा व्यापक रुपमा छलफलको विषय बनाउनुपर्ने बताए । उप्रेतीले राष्ट्रिय सुरक्षा नीति विश्वमै सार्वजनिक गर्ने चलन भएकाले नेपालले पनि त्यसलाई सार्वजनिक गर्ने कुरामा ढिलाई गर्न नहुने तर्क समेत गरे।
सरकारले राष्ट्रिय सुरक्षा नीति अनुसार काम नगरेको निष्कर्ष पनि सुरक्षाविद्हरुको छ । सुरक्षाविद् देवीराम शर्माले भय र अभावबाट राष्ट्रलाई मुक्त गराउने गरी सरकारले राष्ट्रिय सुरक्षा नीतिलाई कार्यान्ववयनमा ल्याउनुपर्ने आवश्यक्ता औंल्याए।
सुरक्षाविद् शर्माले सरकारले राष्ट्रिय सुुरक्षा नीतिको परिमार्जन गर्दा व्यापक छलफलको विषय बनाउन नसकेको गुनासो समेत गरे।