काठमाडौँ । नेपाल पत्रकार महासङ्घले बझाङ शाखाका सदस्य एवम् रेडियो खप्तड आवाज र नेपाल एङ्गल अनलाइनमा कार्यरत पत्रकार सुनिल मन्डेललाई अपहरण गरेर बन्दी बनाएर आक्रमण गरिएको घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ ।
साउन ८ गते सोमबार होटल होलिडे इनका सञ्चालक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काको निर्देशनमा पत्रकार मन्डेललाई निवासबाटै अपहरण गरेर बन्दी बनाई आक्रमण गरिएको महासङ्घ बझाङ शाखाले जनाएको छ हो
महासङ्घले २०८० साउन ९ गते मङ्गलबार प्रेसविज्ञप्ति जारी गरी घटनामा संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गरेको छ ।
‘अमानवीय र आपराधिक शैलीमा पत्रकारमाथि गरिएको आक्रमणको यो घटना प्रेस स्वतन्त्रता विरोधी हुनुका साथै अत्यन्त निन्दनीय हर्कत हो’ महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यो घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गर्दै महासङ्घ संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउँछ ।’
खड्का पार्टीबाट निलम्बित
यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ खड्कालाई पार्टीबाट निलम्बन गरेको छ ।
बझाङमा होटल व्यवसाय सञ्चालन गरिरहेका खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेको आरोपमा उनलाई पार्टीले निलम्बन गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
