काठमाडौँ । सरकारले नेपाली नागरिकका लागि अनिवार्य रूपमा अगाडि बढाएको राष्ट्रिय परिचयपत्रलाई अब ग्राहक पहिचान प्रणालीमा रूपान्तरण गर्ने भएको छ ।
परिचयपत्रमा समावेश भएको विवरणलाई अन्य सरकारी कामकारबाहीका लागि सहज बनाउने ध्येयका साथ केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आबद्ध गरिने भएको हो ।
नेपाल राष्ट्र बैङ्कले २०८० साउन ७ गते आइतबार सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्रलाई व्यावहारिकता प्रदान गर्ने व्यवस्था गरेको छ ।
मौद्रिक नीतिले बैङ्क तथा वित्तीय संस्था तथा अन्य भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाबिच ग्राहकको सूचना आदानप्रदान गर्न र राष्ट्रिय परिचयपत्र समेतलाई केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आबद्ध हुने गरी त्यस्तो प्रणालीको निर्माण तथा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने व्यवस्था गरेको हो ।