काठमाडौँ । नेकपा ९एमाले० निकट अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ ।
अनेरास्ववियुको आयोजनामा २०८० साउन ७ गते आइतबार पत्रकार भेटघाट गर्दै सो जानकारी दिएको हो ।
कार्यक्रममा अबदेखि कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा तालाबन्दीका कुनै पनि कार्यक्रम नगर्ने सङ्गठनका अध्यक्ष समिक बडालले जानकारी दिनुभयो ।
‘अहिले तालाबन्दीका कारणले विश्वविद्यालय र क्याम्पस अस्तव्यस्त भएका छन्’ उहाँले भन्नुभयो– ‘अबदेखि अखिलले कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी गर्दैन । तल्लो कमिटीलाई तालाबन्दी नगर्न हामीले निर्देशन दिइसक्यौँ ।’
अहिले नेपाल संस्कृति विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन् ।
अध्यक्ष बडालले तालाबन्दीका कारण विद्यार्थीको पठनपाठनसहित विश्वविद्यालय र क्याम्पस अस्तव्यस्त बन्ने भएकाले तालाबन्दीको विकल्पका रूपमा अन्य आन्दोलन गर्ने बताउनुभयो ।
पत्रकार भेटघाटमा उहाँले सामुदायिक विद्यालय सुधार गर्न स्थानीय तहले गरेको कार्यलाई सहयोग गर्ने भनाइ राख्नुभयो ।
उहाँले विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक नभई बोर्ड अफ ट्रस्टको आधारमा गर्न सरकारलाई दबाब दिने बताउनुभयो ।